कोशी अस्पतालको बहिरङ्ग विभागको सेवा प्रभावित

‘उपचार पनि गर्न नपाउने हो भने हामी गरिब कता जाने ?’

मोरङ-चिकित्सकहरुको आन्दोलनका कारण गएको तीन दिनदेखि विराटनगरस्थित कोशी अस्पतालको बहिरङ्ग विभागको सेवा प्रभावित भएको छ। जसका कारण टाढा तथा ग्रामीण भेगबाट उपचारका लागि अस्पताल पुग्ने बिरामी मर्कामा परेका छन्।

अस्पताललाई संघीय सरकार मातहतमा गाभिएको र विशेषज्ञ चिकित्सकलाई प्रदेशमा समायोजन गरिएको विरोधमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्। सोही क्रममा गत सोमबारदेखि अस्पतालको ओपीडी सेवा बन्द छ। यसको प्रत्यक्ष असर बिरामीहरुलाई परेकाे छ।

मोरङको रतुवामाई नगरपालिकाबाट तीन दिन देखि डेढ महिनाको बिरामी शिशुको उपाचारका लागि अस्पताल धाइरहेका सूर्यलाल ताजपुरिया ओपीडी बन्द हुँदा गाह्रो भएको गुनासो गर्छन्। बिरामी शिशुको उपचारका लागि अस्पताल धाइरहेको ताजपुरिया परिवारसँग महँगो रकम तिरेर निजि अस्पतालमा उपचार गराउन सक्ने आर्थिक अवस्था छैन। शिशुकी आमा सुनिता ताजपुरिया भन्छिन्, ‘उपचार पनि गर्न नपाउने हो भने, हामी गरिब कता जाने? चाँडै समस्याको समाधान भए सहज हुने थियो।’

सरकारले गत फागुन ३ गते अस्पताललाई संघीय सरकार मातहतमा लैजाने निर्णय गरेको थियो। यसक्रममा प्रदेश नम्बर एकको ठूलो सरकारी अस्पतालका रुपमा सेवा दिइरहेको कोशी अस्पताल समायोजनका कारण विशेषज्ञ चिकित्सकविहीन हुने अवस्थामा पुगेको छ। केही सिमित बाहेक अन्य सरकारी विशेषज्ञ चिकित्सकको समायोजन भने प्रदेशमा भएको छ।

जसअनुसार, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल, वरिष्ठ कन्सलटेन्ट सर्जन सुनिलचन्द्र अधिकारी, नाक कान एवं घाँटी रोग विशेषज्ञ अनिता जिसी, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मुकुन्द दाहाल, यज्ञराज खरेल, फिजिसियन दिनेश न्यौपाने, मनोज ठाकुर, वरिष्ठ बाल रोग विशेषज्ञ रामनारायण चौधरी, प्रकाश राना, महिला रोग विशेषज्ञ अन्जु देव, लगायतका चिकित्सक समायोजनका क्रममा प्रदेशमा परेका छन्।

त्यसैगरि, फिजिसियन डा. दिपक सिग्देल, लक्ष्मीनारायण यादव, कन्सलटेन्ट सर्जन रविनराज सिंह, रवि बस्ताकोटी, वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. संगीता मिश्र लगायत चिकित्सक भने समायोजनका क्रममा संघमै परेका छन्। अस्पतालमा ८५ जना सरकारी चिकित्सकको दरवन्दी छ। जसमा करारका मेडिकल अफिसरसहित ६० जना कार्यरत छन्। ती मध्ये नवौं तह माथिका ३० जना विशेषज्ञ चिकित्सक छन्। अस्पताल विकास समितिबाट २५ जना चिकित्सकलाई नियुक्ति दिएर काममा लगाइएको छ।

यस विषयमा प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्रालयका उपसचिव गोपी घिमिरेले समायोजनका क्रममा विशेषज्ञ चिकित्सक जति प्रदेशमा पठाएर अस्पताललाई चै संघमा लैजाँदा भोलीका दिनमा अस्पतालबाट प्रवाह हुने सेवा सञ्चालनमा अप्ठेरो पर्ने बताउँछन्।

उपसचिव घिमिरले लामो समयदेखि अस्पतालमा सेवा दिइरहेका चिकित्सकलाई प्रदेशमा र अस्पताललाई संघमा लैजाने सन्दर्भ गलत भएको बताए। साथै उनले अस्पताल संघमा लगिए पनि चिकित्सक समायोजनमा भने ध्यान नपुर्‍याएको बताँउछन्। उनी भन्छन्, ‘यस निर्णयमा पुनर्विचार गरिनुपर्ने अवस्था देखिन्छ।’

चैत २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्