ललित अन्तिराष्ट्रिय व्यापार मेला सुरु

देश विकासमा भष्टचार शत्रु, सबै मिलेर अन्त्य गरौँ-उपराष्ट्रपति पुन

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले मौलाउँदै गरेको भष्टचारलाई जरैदेखि फ्‍याके मात्र देशको विकास हुने बताएका छन्।

बुधबार ललितपुरमा ललित अन्तिराष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै भने, ‘ देशको विकासमा भष्टचार शत्रु भएको छ। यसलाई हामी सबै मिलेर अन्त्य गर्न सके मात्र देशको विकास हुन्छ। कला र संस्कृतिको संरक्षण सरकार तथा नीजि क्षेत्र मिलेर गर्नुपर्छ।’

कला र संस्कृति देशको पहिचान भएकाले यसलाई जोगाउनु पर्नेमा उनको जोड थियो। त्यस्तै ललितपुर उद्योग संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुर जिल्लाको कुनै पनि परियोजना लगानी सम्मेलनमा नपरेको र ललितपुरलाई सरकारले उपेक्षा गरेको बताए।

जिल्लामा पाँचतारे होटल नभएकाले पर्यटकहरुलाई स्वागत गर्न नपाएको संघका अध्यक्षले जानकारी दिए। उनले भने ‘ललितपुरमा लगानी भित्र्याउने र लगानीका सम्भावना पहिल्याउने दिशामा मेला केन्द्रित रहेको छ।’

सो मेलामा १ सय स्टलहरु रहेका छन्। भारत, पाकिस्तान, बंगलादेश, चीन लगायतका ३० ओटा देशहरुको सहभागिता रहेको छ।

नेपालमा उत्पादन हुने हस्तकलाका विभिन्न सामाग्रीका स्टलहरु पनि रहेका छन्। त्यस्तै मेलामा ५ करोडको आम्दानी हुने अनुमान गरिएको छ भने करिब ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान समेत गरिएको आयोजकले जानकारी दिएको छ।

चैत २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्