च्याम्पियन्स लिग फुटबल क्वाटरफाइनल

रोकियो युभेन्टस, रोनाल्डोको १२५ औँ गोल

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टस र डच क्लब अजाक्सले बराबरी खेलेका छन् ।

अजाक्सको मैदानमा भएको खेलमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसहितको इटालियन क्लब युभेन्टस १–१ को बराबरीमा रोकिएकोा हो । पहिलो हाफमा रोनाल्डोको गोलबाट अग्रता लिए पनि युभेन्टसले त्यसलाई जोगाउन सकेन ।

४५ औँ मिनेटमा रोनाल्डोले भ्रमण टोली युभेन्टसका लागि गोल गरेका हुन् । दोस्रो हाफको पहिलो मिनेटमा नै डेविड नेरिसले अजाक्सका लागि बराबरी गोल फर्काए । अघिल्लो चरण प्रवेशका लागि दुवै टिमको सम्भावना बराबरीले बराबर बनाएको छ । दोस्रो लेग अप्रिल १६ मा युभेन्टसको मैदानमा हुनेछ ।

पहिलो हाफको अन्तिममा गोल गरेर टिमलाई अग्रता दिलाएका रोनाल्डोले च्याम्पियन्स लिगमा १२५ औँ गोल गरेका छन् । रोनाल्डो लगातार चौथो सिजन च्याम्पिमयन्स लिग फुटबलको उपाधि जित्ने होडमा छन् । उनले रियल मड्रिडबाट लगातार तीन सिजन उपाधि जितेका छन् ।

यहि सिजन युभेन्टस आएका रोनाल्डोले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा ह्याट्रिक गर्दै एथ्लेटिको मड्रिडसँगको खेलमा युभेन्टसलाई ३–२ को जित दिलाएका थिए । त्यसपछि उनी पहिलोपटक बुधबार रातिको खेलमा मैदानमा आएका हुन् ।

रोनाल्डो अन्तर्राष्ट्रिय ड्युटिको क्रममा चोटग्रस्त भएका थिए । रोनाल्डोको गोलले अब युभेन्टसलाई घरेलु मैदानमा हुने दोस्रो लेगमा गोलरहित बराबरी मात्रै गरे पनि अन्तिम चारमा पुग्ने सम्भावना बनाएको छ ।

च्याम्पियन्स लिगका सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डो दोस्रो स्थानमा रहेका बार्सिलोनाका लियोनाल मेस्सी भन्दा १७ गोलले अघि छन् ।

चैत २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्