उपहार गोलले बार्सिलोनाको भाग्य चम्कियो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा १–० ले हराएका हो ।

जितमा बार्सिलोनाले गोल भने गर्नु परेन । १२ औँ मिनेटमा पाएको उपहार गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । १२ औँ मिनेटमा युनाइटेडका ल्युक शवले आत्मघाती गोल गरेका हुन् । लुइस स्वारेजको हेड बललाई जोगाउने क्रममा शवले आफ्नै पोस्टमा गोल गरेका हुन् ।

युनाइटेडका गोलरक्षक डेविड डी हेयाले बार्सिलोनाका फिलिप कोन्टिन्हो र लियोनल मेस्सीको प्रहारको सुन्दर बचाउ गरे । युनाइटेडले गोल गर्न नसक्दा घरेलु मैदानको खेल गुमायो । दोस्रो लेग अप्रिल १६ मा बार्सिलोनाको मैदानमा हुनेछ।

 

 

चैत्र २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू