च्याम्पियन्स लिगमा रोनाल्डोको कीर्तिमान

मेस्सीले रोनाल्डोलाई भेट्टाउन सक्लान् ?

इटालियन क्लब युभेन्टस यो सिजन च्याम्पियन्स लिग फुटबलमा उसको उत्कृष्ट लयमा देखिएको छैन । तर यहि सिजन क्लबमा आएका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टस क्वाटरफाइनलसम्म आएको छ ।

क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत बुधबार राति भएको खेलमा रोनाल्डो फेरि एकपटक युभेन्टसको उद्धारकर्ता बनेका छन् ।

यसअघि उनले अन्तिम १६ को दोस्रो लेगमा ह्याट्रिक गर्दै एथ्लेटिको मड्रिडलाई समग्रमा ३–२ ले हराएर अन्तिम ८ को यात्रा तय गराएका थिए युभेन्टसलाई ।

रोनाल्डोले अजाक्सको मैदानमा बुधबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा ४५ औँ मिनेटमा गोल गरेका हुन् । म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका पूर्व खेलाडी रोनाल्डोले हेड मार्फत गरेको गोल उनले प्रतिस्पर्धामा गरेको १२५ औँ गोल बन्यो ।

रोनाल्डोले च्याम्पियन्स लिगमा १६१ खेलमा १२५ गोलको आँकडा पूरा गरेका हुन् । प्रतिस्पर्धाका सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डो दोस्रो स्थानमा रहेका बार्सिलोनाका लियोनल मेस्सी भन्दा १७ गोलले अघि छन् । झण्डै तीन वर्षले कान्छा मेस्सीले रोनाल्डोको आँकडा छोलान् त ?

३४ वर्षका रोनाल्डोले सन् २००३ मा म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए । तर उनले गोल गर्न भने चार वर्ष पर्खिनु परेको थियो ।

उनले सन् २००७ को अप्रिल १० मा च्याम्पियन्स लिगमा पहिलो गोल गरे । रोमालाई म्यानचेस्टर युनाइटेडले ७–१ ले हराउने क्रममा रोनाल्डोले पनि गोल गरेका थिए ।

उनले त्यसपछिका १२ वर्षको अवधिमा १२५ गोल गरेका छन् । पहिलो गोल गरेको १२ वर्षपछि रोनाल्डो प्रतिस्पर्धामा १२५ गोलको आँकडा छुने पहिलो खेलाडी बनेका छन् ।

रोनाल्डोले यो सिजन ८ खेलमा पाँच गोल गरेका छन् । प्रतिस्पर्धामा उनको एकै सिजन सर्वाधिक गोल संख्या १७ हो, उनले सन् २०१३–१४ को सिजनमा रियल मड्रिडलाई उपाधि दिलाउने क्रममा १७ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा प्रति खेलमा औषतमा ०.७७ गोल गरेका छन् ।

३१ वर्षका मेस्सीले सन् २००४ को डिसेम्बरमा च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए । सन् २०११–१२ को सिजनमा आइपुग्दा मेस्सी रोनाल्डो भन्दा १३ गोलले अघि थिए । तर रोनाल्डोले त्यसपछि सन् २०१७–१८ को सिजनसम्म कम्तिमा १० गोल गरे र अघि लागे ।

मेस्सीले च्याम्पियन्स लिगमा १३२ खेलमा १०८ गोल गरेका छन् र यो औषतमा एक खेलमा ०.८१ गोल हो।

मेस्सीको अहिलेको औषत गोल दर कायम रहने र रोनाल्डोले अब गोल नगर्ने हो भने मेस्सीलाई रोनाल्डोको आँकडा छुन च्याम्पियन्स लिगका २१ खेल आवश्यक पर्छ ।

यो सिजन बार्सिलोना फाइनलमा पुग्यो भने मेस्सी सन् २०२०–२०२१ को सिजनको समूह चरणमा १२५ गोलको आँकडा छुन सफल हुनेछन्, जुन बेला मेस्सी ३३ वर्षका हुनेछन् ।

तर रोनाल्डो रोकिने सम्भावना भने देखिँदैन । रोनाल्डोलाई मेस्सी बाहेक अरु कसैले भेट्टाउन सक्ने सम्भावना छैन, कम्तिमा अहिलेका सक्रिय खेलाडीमा । भविष्यको कुरा भविष्यले नै देखाउने छ ।

चैत्र २८, २०७५ मा प्रकाशित