बिस्केट जात्राको रौनक । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार
८ रात ९ दिनको जात्रा

भक्तपुरको पहिचान–बिस्केटका आख्यान र बुझाईहरु, कुन सत्य कुन कथा ?

भक्तपुरको सुडालकी अस्मिता दुलालले बिस्केट जात्राको बारेमा बताइन्, ‘एउटा रथलाई दुई तीरबाट मरीमरी तान्छन्। अग्लो लिंगो उठाउँछन्। मान्छेको भिड छिचोली नसक्नुको हुन्छ। नेवारहरुको घरमा भोज हुन्छ।’

दुलालले बुझेजस्तै क्रियाकलापहरु हुन्छन् बिस्केटमा ।

विज्ञापन

किन मनाइन्छ भन्ने प्रश्नको उत्तर दिन उनलाई एकैछिन् गम खानुप¥यो। केहीसमय घोत्लिएपछि उनले उत्तर दिइन्, ‘नयाँ वर्ष मनाएको होला।’
विक्रम संवत अनुसार पुरानो वर्ष सकिएपछि नयाँ वर्ष सुरु हुने वैशाख १ गते बिस्केट जात्रा मनाइन्छ। उनको अनुमान यही समयसँग प्रभावित लाग्छ।

तर के हो त बिस्केट ?


चैत २७ गते सुरु भएको ८ रात ९ दिनको जात्रा बिस्केट जात्रा हो। नेवारहरु यसलाई ‘च्याचा गुनिया जात्रा’ नेवार बाहेकका अरु सम्प्रदायमा ‘बिस्केट’ नामले परिचित जात्राको धेरैवटा नामहरु छन्, नेवारहरुले यसलाई बिस्का जात्रा भन्छन्।

बिस्केट जात्रा विश्वकेतुको जात्रा भएकोले यसलाई विश्वजात्रा पनि भन्ने गरिन्छ। विश्वकेतुबाट अप्रभंश भएर विश्क्यात हुँदै विस्का भनेर नामाकरण गरिएको सँस्कृतिविद् ओम धौभडेल बताउँछन्।

अर्का सँस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ भाषा विज्ञान अनुसार बिस्केटको नाम प्रस्ट्याउँछन्।

बिस्का – नेवार नाम

बिस्केट – नेपाली नाम

पूर्वरुप हेर्ने हो भने प्राचिनकालको ध्वजाअभिलेख हेर्नुपर्ने हुन्छ।

लिंगोमा फहराईने एक जोडी ध्वजालाई विश्वकेतु भनिन्छ, यसको नेवारी नाम ‘हलिपत’ हो। यो ध्वजाहरु विभिन्न कालखण्डमा विभिन्न शासकहरुले चढाएको पाइएको छ।

–त्यो ध्वजामा नाम पनि फरक छन्। नेपाल संवत ५०० को अमरपोष्टमा विश्वकेतुको समान अर्थ राख्ने शब्द ‘विसिक’ दिइएको छ।

– टौमढी टोलको नेपाल संवत ५६१ को यक्षमल्लको शिलालेखमा ‘विश्वजात्रा’ भनिएको छ।

– नेपाल संवत ६४१ को भूमि सम्बन्धी तमसुक ताडपत्रमा विश्वकेतुलाई ‘विसिक’ भनिएको छ।

– यस्तै भक्तपुर दरबार क्षेत्रको मालती चोकको, जितामित्र मल्लको नेपाल संवत ८०८ र भूपतिन्द्र मल्लको नेपाल संवत ८१८ को शिलालेखहरुमा क्रमैले ‘विस्क्यात’ शब्द दिइएको छ।

‘विस्क्यात संक्रान्ति कुन्यू’ अर्थात् विस्क्यात संक्रान्तिको दिनमा मनाइने बताइएको छ।

यी प्रमाणहरुको आधारमा विश्वयात्रा, विश्वजात्राको रुपमा बिस्केट जात्रा परिचित थियो।

विश्वकेतुकै परिवर्तित रुप नेवारमा बिस्का र नेपाली समाजमा बिस्केट चलेर आयो।

यसलाई शाब्दिक अर्थले पनि बुझ्न खोजिएको छ। नेवारीमा ‘बि’ को अर्थ सर्प हुन्छ यस्तै ‘बि’ भन्नाले ‘बितेको, पुरानो’ कुरा पनि हो।

बिस्केट जात्रासँग विभिन्न आख्यानहरु छन्। कथा अनि तथ्यहरु छन्।

यहाँका मानिसहरुले यो जात्रा किन मनाउँछन् भन्ने खोज्यो भने ‘नाग नागिनी’ सँग यो कथा जोडिएको सँस्कृतिविद् ओम धौभडेल बताउँछन्।
नाग नागिनी किरात सम्प्रदायको एक आदिवासी मानिन्छ।

उनीहरुलाई पनि आदिवासीको व्यवहार गर्नुपर्छ भनेर जानकारी दिन यो पर्व मानिएको हो। किराँतहरु मातृसत्तात्मक थिए। लिच्छविकालमा भक्तपुरमा युद्ध भयो र मानदेव राजखलकले युद्ध जिते। पितृसत्तात्मक शासन सुरु भयो र युद्ध जितेको विजय उत्सव मनाउँदा बिस्केट जात्रा सुरु भएको मानिन्छ।

बिस्केट जात्रालाई गौतमी पुराणमा ‘शत्रु परान्त जात्रा’ भनिएको छ। ‘शत्रुहन्ता जात्रा’ शत्रुको नाश होस् भनेर लिंगो ढाल्ने परम्परा छ। देश सुरक्षित भइरहोस् भन्ने अभिप्रायले मनाइने जात्रा मनाइएको किंवदन्तीमा उल्लेख छ।

यसलाई मेष संक्रान्ति जात्रा, वैशाख संक्रान्ति जात्रा पनि भनिन्छ। यो जात्रामा तितो खाने चलन छ। ‘खायु सल्हु’

ऐतिहासिक कालमा लिच्छवीपछि मल्लकालीन समय आयो। लच्छिवी राजा जयशक्तिदेवले आमा पद्मलदेव ४१४ मा इन्द्रध्वज उत्सव उठाएर ध्वजारोहण गरिएको गोपाल राजवंशावलीमा उल्लेख भएको धौभडेलले बताए। यसलाई बिस्केट जात्राको पूर्वरुप भनिन्छ।

शिवदेव र अंशुवर्माको संयुक्त शासन थियो त्यो बेलामा हुने गोष्ठीमा ध्वजा गोष्ठीको कुरा पनि आएको सँस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन्। इन्द्रजात्रा पनि ध्वजा फहराउने चलन पनि यसैसँग सम्बन्धित हो। यसको प्रचलन लिच्छविकालमा सुरु भएर मल्लकाल, मध्यकालमा अन्य उपजात्रा थपिएर धुमधामसँग मनाउन थालिएको हो। दुई दिनबाट बढेर ८ रात ९ दिनको भएको हो। भैरवको रथ तान्ने, भैरव र कालिको रथ जुधाउने जात्रा पनि पछि थपिएको हो।

त्यसैले बिस्केट धार्मिक र साँस्कृतिक दुवै महत्वसँग राजनीतिक महत्व पनि बोकेको जात्रा हो।
तर जनमानसमा विभिन्न कथाको रुपमा यो जात्रा परिचित छ।

१) नाकबाट सर्प निस्कने राजकुमारीको कथा– जसमा राजकुमारीले विवाह गरेका रहेक युवाको राति नै मृत्यु हुने गरेको थियो। तर एक राजकुमारले त्यो सर्पलाई मारेपछि उत्सवको रुपमा विस्केट मनाईएको हो।

२) हरिदत्तापता मैजु, शेखर आचाजो सँग जोडिएको तथ्य

३) नेपाल धर्म भूमि। स्वर्गको राजा इन्द्र आएर झण्डा गाडेको ‘योसिङ’ अर्थात् लिंगो ठडाएका थिए।

यो जात्राको एउटा विचित्रको चरित्र छ, यो मसानघाटमा मनाइन्छ।

सँस्कृति जहिले हामी भनेर अगाडि बढेको छ। घाटमा पवित्र कार्य गर्नाले बितेका मानिसको सद्गत होस् भन्ने कामनाको लागि लिंगो उठाउने जात्रा मसानघाटमा गरिएको हो।

सँस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ यो जात्रालाई नागनागिनसँग भन्दा पनि भैरवनाथसँग जोडेर हेरिनुपर्छ। भैरवका शक्ति भद्रकाली हुन्। जात्राका मुख्य देवताको प्रतिक स्वरुप भैरवनाथ र भद्रकालिलाई यो जात्राको प्रतिक मानिएको हुनसक्ने उनी बताउँछन्।
यसमा अष्टमण्गल, गणेश, सिंहको आकृति छन्।

किन मनाइन्छन् यो समयमा जात्रा ?


नेपाल मण्डलमा भएका जति पनि ठाउँ छन्, त्यहाँ एउटा न एउटा देवदेवीको मन्दिरहरु छन्। त्यो देव देवीलाई आधार बनाएर पूजा गर्ने, जात्रा मनाउने चलन छ। अहिले काठमाडौँ, टोखामा जात्रा सुरु भइसकेको छ। केही समयपछि ललितपुरमा मछिन्द्रनाथको जात्रा सुरु हुन्छ।

भक्तपुरमा बिस्केट जात्रा अहिले सुरु भइसकेको छ। त्यसपछि साँखु, बनेपाको जात्रा क्रमश हुने सँस्कृतिविद् ओम धौभडेल बताउँछन्।
यो स्थानीय जात्राको मुख्य उद्देश्य भनेको ‘धान रोप्ने बेला आयो, रोपाईँलाई पानी चाँडै परोस् भनेर भगवानको आराधना गर्ने हो।’ सँस्कृतिविद् धौमडेलका अनुसार, चाँडै रोपाई होस् अनि बैलैमा धान पाकोस् भन्नको लागि नेपाल मण्डलका आदिवासीले जात्रा गर्ने र भगवानलाई खुशी गराउने गर्छन्।

भक्तपुर बहुसंख्यक किसान छन्।

धौभडेल भन्छन्, ‘हुन त जात्रा एक बहाना हो। हरेक १५ दिनमा भक्तपुरमा एउटा एउटा जात्रा छ।

के के गरिन्छ ?


बिस्केट एक किसिमको मनोरञ्जन हो। विकास गर्नलाई प्रतिस्पर्धा गर्नु आवश्यक छ। बिस्केट दुई बस्तीबिचको प्रतिस्पर्धा हो। शक्ति प्रदर्शन गर्ने यो जात्रामा एकै ठाउँका बासिन्दालाई ‘ठने’ र ‘क्वने’ माथिल्लो गाउँ र तल्लो गाउँ भनि छुट्याएर प्रतिस्पर्धात्मक वातावरणको सिर्जना गरिएको थियो।

त्यसैको संकेत स्वरुप भैरवको रथ बनाएर कसले पहिला भगवान लैजाने भनेर ‘को बलियो भनेर देखाउने गरिन्छ। टौमढी भन्दा तल र माथिको नेवार बस्तीमा यो प्रतिस्पर्धा हुन्छ। लिच्छवीकालमा दुई दिनमात्र भएको यो जात्रा मल्लकालमा समय थप भएको हो। राजा जगतज्योति मल्लको पालामा एकतले भैरव रथलाई तीन तले बनाउने काम भयो भने, भूपतिन्द्र मल्लको पालामा आइपुग्दा दुईतीर रथ तान्ने परम्परा आयो।

संक्षेपमा,

२७ गते टौमढी टोलमा भएको भैरवनाथको रथलाई माथिल्लो र तल्लो भेगमा रथ तानातान गरिन्छ। रथ माथिल्लो भेगमा दत्रात्रय र तल्लो भेगमा वंशगोपालसम्म पुर्‍याउने गरिन्छ। सँस्कृतिविद् पुरुषोत्तल लोचन भन्छन्, ‘पहिला तल्लोपट्टि टौमढीसँगैको क्वाँछे टोल र माथिल्लो भेगमा बुलुचासम्म लैजाने चलन थियो, यो परिवर्तन भएर दूरी लम्बिएको छ।’

४ दिनपछि लिंगो ठड्याउने जात्रा, चैत मसान्तमा ५५ हातको योसिंग उठाउने, पाँचाैँ दिनमा लिंगो ढाल्ने जात्रा हुन्छ, वैशाख १ गते ढाल्ने परम्परा, छैठौँ दिन मध्यपुर ठीमीमा ३२ ओटा खटको जात्रा सिन्दुर जात्रा, बोडेमा जिब्रो छेड्ने जात्रा ।

वैशाख ४ गते भक्तपुरको सबै देवी देवताहरु जसलाई स्थानानतरण गरिएको हुन्छ, सगुन दिन जाने गरिन्छ।

वैशाख ५ गते समापन गरिन्छ। यो दिन टौमढी टोलमा तानेर दर्शन गरी भैरवलाई पुनस्थापना गर्ने गरिन्छ।

सँस्कृतिविद् श्रेष्ठ यसलाई तन्त्रविज्ञानसँग जोडेर हेर्नुपर्ने बताउछन्। ‘डोरी तानातान गर्दा स्वास प्रस्वास राम्रो हुन्छ। त्यसैले डोरी तान्दा ‘होसे हैसे’ भन्ने गरिन्छ । यो ‘हठ’ योग सँग सम्बन्धित छ।

बिस्केट जात्राको नाम लिने बित्तिकै भक्तपुरको मात्र नाम लिइन्छ तर यो जात्रा विधान हुनमानढोका दरबारमा पनि हुन्छ, ललितपुर दरबारमा पनि हुन्छ। जहाँ जहाँ नेवार बस्ती छ त्यहाँ यो जात्राको रौनक हुन्छ।

रथ कसले बनाउँछ ?


भक्तपुरमा ७ सय थरका नेवारहरु छन्। ती हरेक थर कामको आधारमा छुट्याइएका हुन्। बिस्केटको रथ बनाउन कुन कुन सीप प्रयोग हुन्छ त्यही थरका नेवार सहभागी हुन्छन्। शिल्पकार, नकर्मी, मानन्धर, चित्रकार लगायत ९ थरीका समुदाय रथ बनाउन लागि पर्छन्। बिस्केट आउँनु भन्दा ४५ दिन अगाडिबाट रथ बनाउने काम सुरु हुन्छ।

रथका पाँच झ्याललाई र बेताल (भैरवको बाहान) लाई पहेलो रंग लगाउने चलन छ।

बिस्केट नेवारहरुको पहिचानको रुपमा अहिले आइरहेको छ। यसलाई सम्पत्तिको रुपमा हेरिएको छ। हिजोको दिनमा प्रचारप्रसार नहुँदा भक्तपुरमा मात्र सिमित भयो। अझ बिस्केट जात्राकै नाममा भक्तपुरभित्र अरु धेरै जात्रा छन् जसको बारेमा सबैलाई थाहा छैन। संकुचन भइरहेको छ। प्रविधिले सहयोग गरेको छ।

युवा समयमा सभ्य, भव्य तरिकाले गर्न सके राम्रो सन्देश। अहिलेको युवा बुझेर उत्साहित छन्, बचाउन पर्छ भन्ने छ। अहिलेको युवा पुस्तामा बाजा सिक्ने हाकुपटासी लगाउने जोश युवामा छ। युवा सक्रिय हुनुले सँस्कृतिक हस्तानतरण भइरहेको कुरालाई पुष्टि गर्छ।

विकृति ?


बिस्केट जात्रामा ढुंगा हानेको घटना भने विकृति भएको सँस्कृतिविद्हरु बताउँछन्। आफ्नो टोलमा लैजान नपाएको रिस अनि आफूलाई रिस उठेको मानिसँग रिस फेर्ने मौकाको रुपमा पनि यो जात्रालाई लिइएको छ। रक्सीलाई माध्यम पनि बनाइन्छ, यो परिवर्तन गर्न सकिन्छ।

आजको समयमा बिस्केट जात्राको महत्व राष्ट्रिय प्रतिकको रुपमा भएको छ। सञ्चारका साधनको बिस्तारले भक्तपुरको जात्रालाई विश्व स्तरीय बनाएको छ। बिस्केट जात्रामा एकजुट भएर रथ तान्ने प्रक्रियाल भाइचाराको सम्बन्धको विकास गरेको छ साथै यही पर्वको लागि घर छोडेर हिँडेका व्यक्तिहरु पनि घर फर्कने भएकोले यसले मातृभूमिप्रतिको स्नेहलाई पनि प्रदर्शित गरेको छ।

सँस्कृतिविद श्रेष्ठ भन्छन्, ‘सँस्कृति म¥यो भने देश मर्छ, हामी जीवित मृत व्यक्ति हुन्छाैँ। भक्तपुरको पहिचान नै बिस्केट हो। पछिल्लो पस्तालाई हस्तानतरण गरौँ।’

सबै तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार