कसरी भयो पूर्वराजाको सुरक्षामा खटिएको गाडी दुर्घटना?

दुर्घटनाग्रस्त कार। फाइल तस्बिर।

मोरङ– पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिएको सादा पोशाकको सशस्त्र प्रहरीले प्रयोग गर्ने बा.३ च. ७९६२ नम्बरको गाडीले मोरङको सुन्दरहरैँचा–९ बुधबारेमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा को.१५ प.९९७८ नम्बरको मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो। मोटरसाइकल चालक २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते छन्।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो। राति ८ बजे भएको दुर्घटनामा दुवै जना गम्भीर घाइते भएका थिए। घाइते मध्ये हेमको उपचारका क्रममा विराटनगरको नोवेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। नोवेलमा उपचार सम्भव नभएपछि प्रकाशलाई थप उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको छ। न्यूरो सर्जन डा. विवेक वैद्य नेतृत्वको टोलीद्वारा टाउकोको शल्यक्रिया गरिएका चौधरीको अझै होस खुल्न सकेको छैन।

पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल समेतको टोलीलाई विराटनगर विमानस्थलसम्म सुरक्षा दिँदै आएको कारले टोलीलाई विमानस्थलमा छाडेपछि झापाको दमकतर्फ फर्कने क्रममा मोटरसाइकललाई ठक्कर दिएको डिएसपी श्रेष्ठले बताए। गाडी झापाको दमकबाट पूर्वराजा सहितको टोलीको पिछागर्दै विराटनगर विमास्थलसम्म आएको थियो।

पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित ११ जनाको टोलीका साथमा बुधबार बेलुका ६ बजेर ५० मिनेटको श्री एयरलायन्सको जहाजमार्फत विराटनगरबाट काठमाडौं प्रस्थान गरेपछि गाडी दमकतर्फ नै फर्किएको थियो।

पूर्वराजा केही दिनदेखि पूर्वी क्षेत्रको भ्रमणमा थिए। दुर्घटनाका बेला सवारीसाधन भित्र सुट्केस, झोला लगायतका सामानहरु थिए। गाडीका चालक सशस्त्र प्रहरीका जवान दाङ घर भएका दीपेन्द्रप्रसाद लम्सालले सुट्केस र झोलामा कपडासहित पूर्वराजाको सचिवालयको सामान रहेको जानकारी दिएका छन्।

पूर्वराजाको सचिवालयको सामानसहित कार शुक्रबार काठमाडौं फर्कने तयारीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘पूर्वराजा जहाँ गएपनि सादा पोशाकका सशस्त्रले सुरक्षाका लागि यो गाडीको प्रयोग गर्ने गरेको पाइएको छ,’ नेपाल प्रहरी स्रोतले भन्यो,‘ज्ञानेन्द्रको टोलीलाई विराटनगर विमानस्थलसम्म छाडेर झापाको दमक फर्किएको कार शुक्रबार काठमाडौं लैजाने तयारी सशस्त्रले गरेको रहेछ।’

दुर्घटनामा मोटरसाइकलसँगै ठक्कर दिने कारको अगाडि र साइडको भागमा पनि क्षति पुगेको छ। दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए।

चालक सशस्त्रका जवान लम्साललाई सवारी ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

चैत २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्