कलिलै उमेरमा युरोपियन प्रतिस्पर्धामा ह्याट्रिक

१९ वर्षकै उमेरमा युरोपियन प्रतिस्पर्धामा ह्याट्रिक गरेर बेन्फिकाका किशोर खेलाडी जोएओ फेलिक्सले कीर्तिमान बनाएका छन् ।

युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा फ्र्याँकफर्टलाई ४ २ ले हराउने क्रममा फेलिक्सले ह्याट्रिक गरेका हुन् ।

उनले २१ औँ मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरे । त्यसपछि ४३ र ५४ औँ मिनेटमा गोल गर्दै उनी १९ वर्ष १५२ दिनको हुँदा उमेरमा युरोपियन प्रतिस्पर्धामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

यसअघि यो कीर्तिमान डाइनामो जाग्रेबका मार्को जाकाको नाममा थियो । उनले सन् २०१४ मा युरोपा लिग अन्तर्गत सेल्टिकसँगको खेलमा १९ वर्ष २१९ दिनको हुँदा ह्याट्रिक गरेका थिए ।

बेन्फिकाका लागि रुवेन डिएसले ५० औँ मिनेटमा एक गोलगरेका थिए । भ्रमण टोलीका लागि ४० औँ मिनेटमा जोविक र ७२ औँ मनिेटमा मेन्डेस पासिएन्सिएले गोल गरे । २० औँ मिनेटमा एनडिका सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फ्र्याँकफर्ट १० खेलाडीमा सीमित भएको थियो ।

युरोपा लिगको क्वाटरफाइनल अन्तर्गत बिहीबार राति भएका अरु खेलमा आर्सनलले नापोलीलाई २ ०, चेल्सीले स्लाभिए प्रागुएलाई १ ० तथा भ्यालेन्सियाले भिल्लारियललाई ३ १ ले हराएका छन् ।

चैत २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्