भारतीय लोकसभा निर्वाचन

चरणवद्ध निर्वाचनले मार्दैछ जनउत्साह

पटना-भारतीय आम निर्वाचनको प्रचारशैली र मतदान चरणवद्ध रुपमा हुन थालेपछि त्यसको प्रत्यक्ष असर परम्परागत उत्साहमा परेको छ।

यसपल्टको निर्वाचन सात चरणमा हुँदैछ र बिहीबारको पहिलो चरणमा २० राज्यका ९१ लोकसभा स्थानहरुमा करीब ५३ प्रतिशत मत परेपछि न्यून उत्साहसँग मतदान प्रतिशत मेल खाएको हो।

निर्वाचन प्रकृयालाई नियाल्नेहरु भन्छन्- चरणवद्ध प्रचार र मतदानका कारण राज्य ढुकुटीमा बोझ निकै बढेको छ, तर त्योसँगै निर्वाचन प्रकृयाको विश्वसनीयता र सम्मानमा वृद्धि भएको छ।

प्रधानमन्त्री, पूर्वपधानमन्त्री या उनका परिवारलाई निर्वाचन प्रचारमा जानका लागि विशेष सुरक्षा दल (स्पेशल प्रोटेक्सन ग्रुप) सँगै अर्को क्षेत्रमा पुग्दा त्यस्तै प्रबन्ध गर्नुपर्ने हुँदा खर्च र तयारीमा बढी समय लाग्न थालेको हो।

प्रधानमन्त्री नरेन्द्र मोदीसँगै पूर्वप्रधानमन्त्री राजीव गान्धीको परिवार अर्थात सोनिया गान्धी, राहुल गान्धी, प्रियंका गान्धीले पनि त्यस्तै सुविधा पाउने गर्छन्।

मतदाताहरु अनुसार पहिला निर्वाचनमा राष्ट्रिय नेता आउँदा उनले जिल्लाबाट आफ्ना सबै उम्मेद्धारहरुलाई मतदाता समक्ष प्रस्तुत गरी मत माग्ने गर्थे, तर अब एउटा चरणमा एउटै जिल्लाको एउटा क्षेत्रको चुनाव हुने गर्छ र अर्को त्यसको एक साता पछि।

निर्वाचन प्रचार, सुरु भएको छिमेकी क्षेत्रबाट नेताहरुको कार्यक्रममा मतदाता र उम्मेदवार आउने चलन नै बन्द भईसकेको छ। र तीनै छिमेकी क्षेत्रमा महँगो प्रचारका लागि नेताहरुलाई जानुपर्ने हुन्छ। यसबाट करिब ९० करोड जनताको नाम मतदान सूचीमा छ र त्यसको झण्डै १० प्रतिशत अर्थात ८८ लाख मध्ये ५३ प्रतिशत मतदाताले पहिलो दिन मतदान गरेका छन्।

किन परिवर्तन गर्‍यो त चुनावी प्रचार र मतदाता शैली निर्वाचन आयोगले? सन् १९९० भन्दा पहिले एक या दुई दिन (झण्डै लगातार जस्तै) निर्वाचन हुँदा ठूलो आकारमा हिंसा र फर्जी मतदान हुने, बुथ लुटिने जस्ता घटनाहरुले निरन्तरता पाउने गर्थे। तर सन् १९९१ मा टी. एन. सेशनले प्रमुख निर्वाचन आयुक्तको भूमिका समालेपछि उनले आयोगको स्वायत्तता स्थापित मात्र गरेनन्, त्यो प्रकृयामा सरकारको भूमिका नै झण्डै गौण हुन पुग्यो।

त्यसपछिको आयोगले लगातार चरणवद्ध रुपमा निर्वाचन गर्ने र निर्वाचनमा शान्ति सुरक्षाको सुनिश्चितताका कार्यका लागि सम्बन्धित निकायहरुलाई जवाफदेही बनाउने गरेका छन्।

वास्तवमा अब निर्वाचनको मतगणनामा परम्परागत उत्साह र जनचासो देखिन थालेको छ। लामो समयको अभ्यास र वादविवादपछि सुरु भएको ‘इलेक्ट्रोनिक्स भोटिङ’ मशिन प्रयोग हुन थालेपति मतदान थप सुरक्षित र छरितो हुन थालेको छ।

विभिन्न सर्वेक्षणले भारतीय जनतापार्टीको नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई पाँच वर्ष अघिको भन्दा एक स्थान सहित बहुमत प्राप्त हुने भविष्यवाणी गेरेका छन्।

अन्तिम चरणको निर्वाचन सम्पन्न भएको चारदिन पछि हुने मतदानको नतिजा मे २३ सम्म प्राप्त हुने लगभग निश्चित छ।

चैत २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्