नालीमा खसेर निधन भएका सहकर्मीलाई यसरी सम्झिए पूर्वकप्तान शाक्यले

मोरङ– ‘वीरगञ्जमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सकेर सबै घर फर्कने तयारीमा थियौँ, शम्भु त्यतिबेला पनि दुर्घटनामा परेकाे थियो,’ नेपाली फुटबलका पूर्वराष्ट्रिय कप्तान एवं प्रशिक्षक राजुकाजी शाक्यले भने।

२०४३ सालको कुरा सम्झँदै शाक्यले भने, ‘भारतको कोलकात्तामा भएको तेश्रो दक्षिण एशियाली खेलकुदको लागि टोलीको बन्द प्रशिक्षणमा शम्भु पनि थिए। होटलबाट निस्कने क्रममा नुहाउँदा करेन्ट लागेछ। कसो कसो गरी उम्किएका थिए।’

३२ वर्षपछि पुरानो घटना सम्झिएका शाक्यले शम्भु बास्तोलाको निधनमा आफू स्तब्ध भएको बताए। ६० वर्षिय बास्तोलाको निधनबाट स्तब्ध भएको बताएका पूर्वकप्तान शाक्यले नेपाली फुटबलमा उनले योगदान पुर्‍याएको बताए।

सुनसरीको खनार निवासी बास्तोला गत शनिबार राती घर फर्कने क्रममा निर्माणाधीन सडकको गहिरो नालामा खसेका थिए। मेरुदण्डमा चोट लागेका बास्तोलालाई विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। श्रीमती, दुई छोरा र एक छोरीको परिवारमा सो घटनाले शुक्रबार बिहीबार राति अन्तिम रुप लिन पुग्यो। नोवेलमा भेन्टिलेटरमा उपचारार्थ बास्तोलाको चिकित्सकहरुले राति नै निधन भएको बताए।

बास्तोलाको खेल जीवन सम्झदै पूर्व राष्ट्रिय खेलाडी एवं एन्फाका केन्द्रीय सदस्य दीपक राई भन्छन्,‘पहिलो पटक नारायणगढमा आयोजित विकास रनिङ शिल्डमा खेल्न लगेका थियौँ। त्यहिँबाट फुटबलमा शम्भुले जरा गाढेका थिए।’

क्याम्पसमा सँगै पढेका सहपाठी दिपकले भलिबल खेल्दै आएका शम्भुलाई २०३८/४० सालमा विकास रनिङमा लगेका थिए। तत्कालीन समयमा पहिलो रोजाइका गोलकिपर सत्यनारायण चौधरी घाइते भएपछि शम्भुले मैदानमा उत्रने मौका पाएको राईले बताए। त्यसपछि फुटबलमा अघि बढेका शम्भुले विराटनगर पोखरीयाको युनाइटेड स्पोर्टिङ क्लबबाट जिल्लास्तरीय खेलहरु खेलेका थिए। करिब दुई वर्ष युनाइटेडमा जमेपछि उनको अर्को लक्ष्य तत्कालिन जनकपुर चुरोट कारखाना क्लब रहेको थियो। त्यहाँ पनि शम्भु गोलरक्षकको भूमिकामा दरिलो भए। केही वर्ष जचुकाली मा जमेपछि, उनी गोलरक्षकका रुपमा आरएनएसीमा आवद्ध भए। सोही क्लबबाट खेल्ने क्रममा शम्भुले राष्ट्रिय टोलीमा स्थान पाएका थिए। त्यसबेला ०४३ सालमा राष्ट्रिय टोली भारतको कोलकात्तामा भएको तेश्रो दक्षिण एशियाली खेलकुदको तयारीमा थियो। उनी त्यसबेला अन्तर्राष्ट्रिय खेलका लागि टोलीमा अटाएका थिए।

त्यतिबेला टोलीमा पूर्वकप्तान शाक्य पनि रहेका थिए। उनी सम्झन्छन, ‘त्योबेला पनि शम्भु बेन्चमा रहेका थिए। सो समय लोकबहादुर शाही पहिलो रोजाईमा थिए। त्यसैले पनि शम्भु बेन्चमा बस्नुपर्ने अवस्था रहन्थ्यो।’

यद्यपी, २०४५ सालमा सिंगापुरविरुद्ध विश्वकप छनोटका क्रममा शम्भुले पहिलो अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको शाक्य बताउँछन्। त्यस खेलमा नेपालले हार व्यहोरे पनि शम्भुको लय मैदानमा हेर्नलायक रहेको उनको भनाई छ।

आरएनएसीमा क्लबस्तरीय खेल खेल्ने क्रममा शम्भु त्यहिँ जागिर खान थाले। शम्भु केही समय अघि कतारमा समेत चारवर्ष आरएनएसी कर्मचारीका रुपमा खटिएका थिए। उनको शुक्रबार नै अन्त्येष्टी गरिएको छ।

चैत २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्