वाइड वडी हेर्न जाने कर्मचारीको दैनिक भत्ता मात्र ७३ लाख, उपलब्धि भने शून्य

काठमाडौँ – महालेखा परीक्षक कार्यालयले नेपाल वायु सेवा निगमले दुईवटा वाइड वडी खरिद गर्दा ठूलो रकम अनावश्यक र फजुल खर्च गरेको औंल्याएको छ ।

शुक्रबार सार्वजनिक ५६औं वार्षिक प्रतिवेदनमा वाइड वडी खरिद गर्दा अनुगमनका नाममा प्राविधिक ज्ञान नै नभएका कर्मचारीले विदेश भ्रमण गरेर एक करोड ११ लाख रुपैयाँ सिध्याएको उल्लेख गर्दै सम्बन्धित व्यक्तिबाटै उक्त रकम असुल उपर गर्न निर्देशन दिएको छ ।

ठूलो संख्यामा कर्मचारी वाइड वडी  हेर्न बहानामा विदेश जाँदा दैनिक ७३ लाखसम्म खर्च भएको महालेखाले उल्लेख गरेको छ । प्रतिवेदनमा राष्ट्र बैंकका कर्मचारीसमेत वाइड वडी हर्ने गएको र भ्रमण टोली ३१ जना हुँदा दैनिक भत्ता मात्र ७३ लाख भुक्तानी भएको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘भ्रमणमा दैनिक ७३ लाख ७४ हजार र हवाइ टिकट खर्च ३८ लाख २० हजार समेत गरी एक करोड ११ लाख ९४ हजार खर्च भएको छ । भ्रमणमा सहभागी अधिकांश व्यक्तिहरु प्राविधिक ज्ञान नभएका हुन् । भ्रमणको आवश्यकता सम्बन्धमा कुनै विश्लेषण नगरी खर्च गरेकोले प्राविधि कर्मचारीका लागि भएको अत्याआवश्यक खर्च बाहेक अन्य खर्च रकम असुल गर्नु गराउनु पर्दछ ।’

उडान नहुँदा एक अर्ब ६६ करोड घाटा

नेपाल वायुसेवा निगमले दुईवटा वाइड वढी खरिद गरे पनि लामो दूरीका उडान गन्तव्य नहुँदा ९ महिनाको अवधिमा एक अर्ब ६६ करोड घाटा भएको ठहर गरेको छ । निगमले लामा दूरीका दमाम, सिउल, सिड्नी, टोकियो र हङकङ हुने उल्लेख गरे तापनि त्यहाँ उडान नभर्दा निगमलाई घाटा भएको छ ।

महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘गन्तव्य टुँगो लगाएर प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा २०७५ श्रावणदेखि पौषसम्म ६ महिनामा २ वाइडबडी विमानबाट एक अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी हुन गएको अवस्था छ ।’

३३०–२०० दुर्ववटा वाइड वढी पहिलो निर्धारित समयभन्दा ९ र दोस्रो चार महिना ढिलो आइपुगेको थियो । विमान ढिलो आइपुग्दासमेत निगमलाई थप घाटा भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, वायु सेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर विमान खरिद गरे पनि नियमित किस्ता तिर्न सकेको छैन । निगमले पुस महिनाभित्र तिर्नुपर्ने साँवा तथा व्याज किस्ता ८० करोड ४२ लाख तिर्नुपर्ने भए पनि तिर्न सकेको छैन ।

महालेखाको प्रतिवेदनमा अझै लामो दूरीमा उडान नगर्ने हो भने निगम थप धरासायी हुने उल्लेख गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘व्यवसायीक योजना अनुसार विमान सञ्चालन गर्न नसक्दा २०७५ पुस ३० गतेभित्र तिर्नुपर्ने साँवा तथा व्याज किस्ता ८० करोड ४२ लाख निगमले तिर्न नसकेको अवस्था छ । लामो दूरीमा विमान सञ्चालन गर्न नसकेमा नोक्सानी अझै वृद्धि हुने स्थिति छ ।’

चैत्र २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू