वैदेशिक रोजगार विभागका महानिर्देशकसँग अन्तर्वार्ता

व्यक्तिगत स्वार्थका लागि मलाई फोन गर्दै नगर्नुस्

काठमाडौँ- वैदेशिक रोजगार विभागको महानिर्देशकमा डा. भीष्म कुमार भुसाल आएको शुक्रबार दुई दिन भयो। महानिर्देशक दिलिपकुमार चापागाई अनिवार्य अवकासमा गएसँगै डा. भुसाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको रोजाइमा परे। वीरगञ्ज महानगरपालिकामा कार्यरत भुसाललाई बदनामीको अखडाका रुपमा परिचित विभागको जिम्मेवारी थमाइयो।

यसअघि विभागका महानिर्देशकसहित दर्जन कर्मचारी घुस लिएको अभियोगमा पक्राउ परेका थिए। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अहिले पनि छानबिन गरिरहेको छ। पछिल्लो समय आएका महानिर्देशक भुवनप्रसाद आचार्य र दिलिप चापागाईले विभागमा सुधारको प्रयास गरे। विभागको काममा तुलनात्मक रुपमा केही सुधार देखिए पनि सन्तोषजनक भने बनाउन सकेनन्।

विज्ञापन

विभागले आफ्ना गुनासो नसुनेको, वैदेशिक रोजगार व्यवसायी र दलालको पक्षपोषण गरेको जस्ता गुनासा अहिले पनि पीडितले गर्दै आएका छन्। यीनै गुनासोपछि श्रम मन्त्री बिष्टले कर्मचारी हेरफेरलाई पनि तीब्र पारे। उनी आफै पनि विभागको कामबाट सन्तुष्ट नभएको बताए।

वैदेशिक रोजगार विभागले संघीय संरचनाअनुसार सेवा सुरु गरेको छ। ऐन नियमहरु पनि फेरिने क्रम जारी छ। नयाँ आएका महानिर्देशकबाट सेवाग्राहीले के अपेक्षा गर्ने ? विभागको बद्‌नाम परिचय फेर्न कस्तो प्रयास हुन्छ ? बुधबार वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी पाएका डा. भीष्म कुमार भुसालसँग देश सञ्चारका उजिर कार्कीले कुराकानी गरेका छन्।

आज तपाईले वैदेशिक रोजगार विभागको जिम्मेवारी सम्हालेको दोश्रो दिन । तपाईबाट सेवाग्राहीले के अपेक्षा गर्ने ?

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अहिले नेपालको सबैभन्दा जल्दो-बल्दो विषय नेतृत्व गरिरहेको एउटा संयन्त्रमा मैले जिम्मेवारी पाएको छु। विभागमा आउनु भन्दा अगाडि विभाग सधैं जसो पीडित, दुःख पाएका नेपाली दाजुभाइ दिदीबहिनीहरुको दुःख दर्द सुन्ने र उहाँहरुको पीडालाई कम गर्ने निकाय हो भन्ने थाहा थियो।

विभागले त्यो दिसामा काम गर्नुपर्छ भन्ने पाटोमा म सुशुचित छु, जहिले पनि मेरो प्राथमिकतामा ती दाजुभाइ दिदीबहिनीहरु नै हुनुहुन्छ । यी सबै कुराहरु गरिरहँदा हामीले के कुरा बिर्सनु हुँदैन भन्दा विगतदेखि प्रचलनमा आएका, अभ्यासमा रहेका कुराहरुलाई परिवर्तन गरेर पीडितलाई कम्तिमा विभाग भनेको मेरो व्यथा सुन्ने ठाउँ हो, मेरो सरकार हो भन्ने अनुभूति गराउन सक्नुपर्छ।

अहिले चाहिँ म धेरै कुरा सुन्ने क्रममा छु। सिक्ने क्रममा छु। मैले अहिलेसम्म यससँग सम्बद्ध सरकारी निकायहरुसँग अन्तरक्रिया गरेँ। जसले प्रत्यक्ष अप्रत्यक्षरुपमा यो वैदेशिक रोजगारसँग सम्बन्ध राख्नुहुन्छ, ती साथीहरुसँग कुरा गरिरहेको छु।

मन्त्री ज्युको एकदमै प्रश्ट निर्देशन छ । उहाँले जुन कुरामा सुधार गर्न आवश्यक छ भन्नु भएको छ, ती कुराहरु पनि नोट गरेको छु। यी सबै कुरालाई कार्यन्वयन गर्नका लागि अहिलेचाहिँ चुनौती कर्मचारी अभाव देखिएको छ । श्रम मन्त्रालयलाई उपलब्ध गराउने बजेट जहिले पनि कमै हुन्छ ।

यसलाई कुल ग्राहस्त उत्पादनको एक चौथाई भार बोकेको क्षेत्रका रुपमा बुझ्नु पर्छ। त्यो तरिकाले बजेट विनियोजन गरेको देखिँदैन विगतमा। साधान श्रोत सम्पन्न बनाउने र मन्त्रीको स्प्रिड अनुसार विभागलाई अगाडि बढाउनु नै मेरो उदेश्य छ।

वैदेशिक रोजगार विभागको विगत बदनाम छ, राम्रो छँदै छैन। त्यो छविलाई सुधार्ने के योजना छन् ?

वैदेशिक रोजगार विभागको ढोकामा कुनै पीडित आउनुहुन्छ भने उहाँले चाहिँ यो महशुस गर्नु पर्‍यो कि म सुरक्षित ठाउँमा आएँ। यहाँ मेरा कुराहरु सुनिन्छन्। म ताहचल कार्यालय गएँ, ईपीएस कार्यालय र श्रम डेक्स पनि हेरेँ। हामी त्यो खालको अनुभूति गराउने लेबलमा पुगेका रहेनछौं।

सबै कुराहरु पीडितले भनेकै सही हुन्छ भन्ने पनि होइन । उहाँहरुले भने अनुसारको कानुनी व्यवस्था हुन्छ भन्ने पनि होइन। कम्तिमा यहाँ आइसकेपछि आफुलाई सुरक्षित महसुश गर्नुपर्छ। मलाई पहिलो छोएको विषय यो हो। त्यो भइसकेपछि उजुरीको सवालमा, मुद्दाका सवालमा त्यसको वार कि पार गर्नुपर्छ । हुने भएपनि, नहुने भएपनि जति सक्दो छिटो विभागले कित्ता क्लियर गरिदिनुपर्छ। मेरो मान्यता यो हो यहि अनुसारले काम गर्छु ।

त्यसका लागि त तपाई मातहतको संयन्त्रलाई पनि त त्यही अनुसार तयार गर्नु पर्यो होला नि त ?

मेरो सबैभन्दा ठूलो चिन्ता नै यही विषयमा हो। मैले साथीहरुलाई आक्षेप लगाउन खोजेको होइन । तर यो निकाय मन्त्रालयको मात्रै होइन सरकारको छवि बनाउने वा बिगार्ने भन्‍ने कुरामा निर्णायक ठाउँ हो ।

त्यसो भएको हुनाले सबै साथीहरुलाई यही अनुसार आफु साँच्चै सत्य निष्ठापूर्वक काम गरेर देखाउँछु भनेर उच्च मनोवलका साथ आउन आग्रह पनि गर्छु। हामीले जुन स्प्रीडको कुरा गरिरहेका छौं, त्यसलाई स्पीडमा लैजान सकियोस्। त्यसो भयो भने पीडितले न्याय पाउने कुरा त छँदैछ, सरकार र कर्मचारीको आफ्नो छवि सुधार गर्न र निश्कलंक तरिकाले राष्ट्र सेवकले काम गर्दा रहेछन् भन्ने किसिमको बनाउनका लागि पनि यस्तो अवस्था अवसर हुन्।

धेरै कर्मचारीहरु कमाउने हेतुले वैदेशिक रोजगार विभागमा सरुवा माग्छन् भन्‍ने सुनिन्छ नि, यो आरोप वा सत्य मेटाउनु पर्दैन ?

अब कमाउने त कल्पनै नगरौं । विगतलाई हेर्ने हो भने त त्यो पनि देखिन्छ। अख्तियारले हेरेका पछिल्ला केसले पनि त्यसलाई पुष्टि गर्छ। अब यसलाई सेवा गर्ने निकायको रुपमा विकास गर्नुपर्छ।

खालि खुट्टा एयरपोर्टसम्म जाने दाजुभाइ, दिदीबहिनीहरुको आँसु पुछ्ने ठाउँ हो नि यो त। हामीले कुनै तीर्थ वर्त गर्न जरुरी छैन, यीनै दुःख पाएकाहरुको आँसु पुछ्न सकियो भने त्योभन्दा ठूलो धर्म केही पनि छैन। सरकारी सेवाको ३० वर्ष मध्ये दुई वर्ष यस्तो ठाउँमा काम गर्न पाइन्छ भने सत्य निष्ठाका साथ किन काम नगर्ने ?

तपाई वैदेशिक रोजगार विभागको पुरानो संरचना, नीति नियम परिवर्तन गर्दै नयाँ बनाइरहेका बेला आउनु भएको छ। यस्तो अवस्थामा काम गर्न कतिको असहज होला ?

प्रत्येक अवस्थामा चुनौतीहरु हुन्छन् नै । मेरो जीवनका विभिन्न अग्नी परीक्षाहरुमा अर्को अग्नी परीक्षा थपिएको हो । मन्त्री ज्यू, सचिव ज्यूले स्पष्ट दिशा निर्देश गर्नु भएको छ। त्यसमा बिचलित नभइ काम गर्छु। सबै साथीहरुलाई त्यही अनुसार काम गर्न भन्छु।

वैदेशिक रोजगार विभागका महानिर्देशक दलालले चलाउँछन् भन्‍ने आरोप पनि छ । तपाईको कार्यकालमा यो आरोप मेटिन्छ ?

व्यवहारले त भोलिका दिनमा देखाउने छ । मैले प्रत्येक पेशाको उच्च सम्मान गर्छु। कसैलाई मैले आक्षेप लगाइ राखेको छैन । तर कुनै पनि नेताले अथवा कुनै व्यवसायीले आफ्नो व्यक्तिगत स्वार्थका लागि मलाई फोन नगर्नुस्। फोन गरेर, भेटेर दबाब दिएर त्यसको कुनै अर्थ छैन। जो कुरा न्यायसंगत छ कानुनसंगत छ, त्यसका लागि कसैले फोन गर्नु पनि पर्दैन, म कहाँ भेट्न आउनु पनि पर्दैन । जो कुरा नियमसँगत छैन, त्यो कुराका लागि कसैले फोन गरेर केही हुनेवाला छैन। उहाँहरुलाई मेरो सन्देश यही हो ।

पीडितहरुलाई चाहिँ के सन्देश छ त ?

नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई म के निवेदन गर्न चाहन्छु भने विदेश जानु पहिले नै बुझ्ने सवालमा बरु ६ महिना लगाउनुस्।, हत्तार नगर्नुस्। कुनै दलालको फन्दामा पर्नुभन्दा पहिले मन्त्रालयमा, विभागमा टोल फ्री नम्बर छन्, सूचना अधिकारीको व्यवस्था गरिएको छ । अरु पनि यस क्षेत्रमा काम गर्ने निकाय छन्। सबैबाट राम्रोसँग कुरा बुझेर मात्रै कसैलाई पासपोर्ट दिनु पर्यो।

विभिन्‍ने जालोमा फस्दै फस्दै आफू तल परिसकेको हुन्छ, त्यस्तो अवस्थामा विभागले चाहेर पनि न्याय दिन नसक्ने अवस्था हुन्छ, कानुनी हिसाबले । सरकारले अवैधानिक भनेको बाटोमा पाइला नचाल्नुस्। त्यसो गर्नु भयो भने भोलि सरकारले केही गरेन हामीले दुःख पायौं भन्‍ने ठाउँ रहँदैन। अवैधानिक बाटो नसमात्नुस्, राम्रोसँग बुझेर मात्रै जानुस् । त्यसपछि पनि समस्या आयो भने हामी छँदैछौं।

तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार।

चैत्र २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्