रोबर्ट लेवान्डोस्की र किंग्सलीबिच मुक्का हानाहान

जर्मन बुण्डेस लिगा फुटबल क्लब बार्यन म्युनिखका दुई खेलाडीबिच प्रशिक्षणको क्रममा कुटाकुट भएको छ । स्ट्राइकर रोबर्ट लेवान्डोस्की र वेङ्गर किंग्सली कोम्यानबिच बिहीबार प्रशिक्षणको क्रममा मुक्का हानाहान भएको हो ।

दुई खेलाडीबिच मुक्का हानाहान भएको प्रशिक्षक निको कोवाकले पुष्टि गरेका छन् । घटनालाई लिएर दुवै खेलाडीलाई कुनै पनि कारवाही नगरिएको प्रशिक्षक निकोले स्पष्ट पारेका छन् ।

‘हामी तीनजना बसेर घटनाबारे छलफल गर्‍यौँ । दुवै खेलाडीले आफ्नो व्यवहारप्रति माफी मागे । कुनै पनि किसिमको थप कारवाही गरिएको छैन । सबै समस्या समाधान भयो ।’

लेवान्डोस्की बुण्डेस लिगा फुटबलको यो सिजनमा सर्वाधिक गोलकर्ताको सूचिमा शीर्षस्थानमा छन्। उनले २१ गोल गरेका छन् । यस्तै उनले च्याम्पियन्स लिग फुटबलमा यो सिजन ८ गोल गरेका छन्, तर उनको टिम बार्यन अन्तिम १६ बाटै बाहिरिसकेको छ ।

चैत ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्