लोकसभा चुनाव २०१९

राष्ट्रिय सुरक्षा, सुरक्षा निकाय र निर्वाचन

पटना (बिहार) – भारतको सत्ताधारी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले राष्ट्रिय सुरक्षालाई चुनाव घोषणा पत्रमा सर्वाधिक महत्व दिए लगत्तै सुरु भएको चुनाव प्रचारमा ‘सुरक्षा निकाय’ बारेका अभिव्यक्ति कति र कुन रुपमा आउनु पर्छ, बहस र विवादको विषय बनेको छ ।

आतंकवाद विरुद्ध लड्न सेना तथा सुरक्षा निकायहरुलाई पूर्णरुपमा छुट रहेको अभिव्यक्ति प्रधानमन्त्री तथा एनडिएका मुख्य प्रचारकर्ता नरेन्द्र मोदीले विभिन्न राज्य भएका चुनावी सभामा दिँदै आएका छन् ।

गएको फेब्रुअरी १४ मा जम्मू–कश्मीरको पुलवामामा सुरक्षा निकायको बाहनमा भएको आक्रमण र त्यसक्रममा ‘शहादत’ प्राप्त गरेका व्यक्तिहरुलाई अक्सर तिनीहरुको राज्यमा स्मरण गर्दै भारतको सुरक्षाका नाममा र ती ‘वीर जवानहरु’ का नाममा एनडिएलाई मत दिन आग्रह गर्न बिर्सँदैनन् मोदी ।

तर, यो प्रशंगले प्रतिकार पनि जन्माएको छ । भारतीय सुरक्षा निकाय (स्थल सेना, नेभी र वायु सेना) का करिब १५० सेवा निवृत्त वरिष्ठ अधिकृतहरुले निर्वाचन आयोगसँगै सेनाका परमाधिपति राष्ट्रपति समक्ष प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै सुरक्षा निकायहरुलाई चुनावी या दलीय विषय नबनाउन आग्रह गरेका छन् । यस्तो संयुक्त आग्रह गर्नेहरुमा आठजना अवकाश प्राप्त प्रमुखहरु पनि छन् ।

प्रधानमन्त्री मोदीले नम्सलपन्थी (नेपालमा प्रचलित भाषा अनुसार माओवादी) र आतंकवादीलाई हालको प्रतिपक्षी भारतीय कांग्रेस सत्तामा आएमा प्रोत्साहन मिल्ने भएकाले एनडिएलाई मत दिन आग्रह गर्दै आएका छन् ।

‘यिनीहरु स्वतन्त्रता र अधिकारका नाममा सेनालाई निशस्त्र गर्न उद्यत छन्’, मोदीले बिहीबार बिहारको भागलपुरमा एउटा चुनावी सभालाई सम्बोधन गर्दै भने । भारतीय जनता पार्टीले राष्ट्रको सुरक्षाका लागि उनीहरुलाई पूर्ण स्वतन्त्रता दिने पनि उनले दोहोर्‍याए । प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सुरक्षा निकायहरु राष्ट्रिय राजनीतिका दुवै मोर्चामा विवाद र चुनावी मुद्दा बनेको छ ।

कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी अक्सर आफूलाई मुलुकको ‘प्रधान सेवक’ तथा यता आएर ‘चौकिदार’ भन्दै आएका मोदीलाई ‘चोर’ का रुपमा प्रस्तुत गर्न भिडलाई उक्साउने गर्छन् ।

भाषणको बिचमा या अन्ततिर उनी नारा तेर्स्याउँछन् र कुर्लिन्छन्, ‘चौकिदार’ ! ‘चोर है’ भिडले अपेक्षति जवाफ दिन्छ । रफायल लडाकु विमान सम्बन्धी फ्रान्ससँग भएको ‘डील’ मा झण्डै तीन गुणा बढि मुल्य तिरेर प्रधानमन्त्री मोदीले ‘एअर फोर्स’ को स्वार्थ भन्दा व्यापारी अनिल अम्बानीलाई फाइदा पुर्‍याएको आरोप व्याख्या गरेपछि भिडको प्रतिकृया माग्दै आवाज दिन्छन्, ‘चौकिदार’ !

हाल सर्वोच्च अदालतमा विचाराधीन उक्त मुद्दा बारे मोदीले सीधै केही भन्ने गेका छैनन्, तर कांग्रेस र उसका समर्थकहरु कश्मीर र अन्यत्र सुरक्षा निकायहरुलाई कमजोर र निशस्त्र गर्ने अभियानमा लागेको आरोप दोहो¥याएर उनी ‘रफायल’ प्रकरणमा आफूमाथि भएको हमलाको जवाफ पनि दिने गर्छन् ।

यसअघि निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्य मन्त्री तथा भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथसँग पनि ‘मोदीका सेना’ का रुपमा भारतीय सेनालाई चुनावी सभामा प्रस्तुत गरेकोमा स्पष्टिकरण मागेको थियो ।

चैत ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्