सम्पादकीय

भ्रष्टाचारलाई संस्थागत गर्न खोज्ने ओली चरित्र

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति र त्यसको मर्मलाई गम्भीरतासँग नलिएको मात्र हैन, अत्यन्त हल्कारुपमा लिन थालेको उनका असंयमित र गैर जिम्मेवारीपूर्ण वाणीहरुबाट स्पष्ट भइरहेका छन्। उनका हरेक व्यवहारले ती वाणीलाई पुष्टि गरेका छन्।

‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्दै आएका ओली अहिले कठीन अग्नि परीक्षामा छन् र लापरवाहीले उनको समग्र राजनीतिक छवि तथा बाँकी भविष्य मात्र हैन, अतीत पनि भष्म हुन सक्छ।

प्रसंग सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा खरिद प्रकरणको हो। खरिद बिक्री हुनै नमिल्ने सरकारी स्वामित्वको आठ आना जग्गा वर्षौँ पहिले उनको नाममा आएको तथ्य सञ्चार माध्यमबाट सार्वजनिक भएपछि ओलीको हल्का टिप्पणी आयो, ‘पौडेललाई फसाइयो।’

सरकारका प्रवक्ता मन्त्री आफ्ना नेता भन्दा एक कदम अगाडि गए, ‘फसाइएबापत कमरेड पौडेललाई क्षतिपूर्ति दिनुपर्छ।’

सबै विवरण बाहिर आइसकेपछि त्यो जमिन सरकारको स्वामित्वमा जानैपर्ने कानुनी बाध्यता र यथार्थ एकातिर छ भने त्यो समग्र प्रकरणको प्रारम्भ तथा निरन्तरताबारे विश्वसनीय छानबिन गर्नै पर्ने दायित्वबाट ओली पन्छिन पाउँदैनन्। नत्र उनले भ्रष्टार गर्दिन र गर्न दिन्न भन्नुको आशय ठीक उल्टो भएको अर्थ लगाउन जनता स्वतन्त्र हुने छन्।

‘नियत’ बारे पौडेलले सफाइ दिने स्वतन्त्रता अख्तियार गर्न सक्छन्, तर कानुनको ज्ञान नहुनु उन्मुक्तिको कारण हुन सक्तैन भन्ने उनले बढी बुझेका छन् अरुभन्दा। त्यसैले आफ्नो बचाउका लागि ओलीको गैरजिम्मेवार अभिव्यक्तिभन्दा आफैँ अगाडि आउनु पौडेलको दायित्व बन्न जान्छ, एउटा नागरिक र नेता दुवैका रुपमा।

प्राय: दैनिक रुपमा कुनै सुब्बा या प्रहरीले केही हजार घुस खाएको भन्दै ‘सप्रमाण’ पक्राउ गर्न सक्षम र भ्रष्टाचार तथा अनियमितताको शिकार बनेको बालुवाटारभन्दा एक किलोमिटर भन्दा पनि कम टाढा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणबारे केही गर्ने साहस गर्ला त?

अधिकांश मालपोत कार्यालय यस्ता अनियमितताका लागि बदनाम छन्, तर अहिलेको यो प्रकरणको पारदर्शी र हस्तक्षेपबिना छानबिन गरिएन भने बालुवाटार र सिंहदरबार अनि बल्खु र बालकोट दरबार सबैभन्दा बढी बदनाम हुने छन्।

सम्भवतः ओलीसँग अवसर छ, तर समय एकदम कम छ। तर त्यो भन्दा महत्वपूर्ण प्रश्न हो, के आफूले रणनीतिक रुपमा भन्दै आएको ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने अभिव्यक्तिलाई न्यूनतमरुपमा व्यवहारमा ल्याउने साहस र चरित्र छ ओलीसँग?

चैत ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्