नयाँ वर्ष की ‘न्यू इयर’ ?

वैशाख १ भर्सेज जनवरी १

काठमाडौँ – साना गल्लीहरुमा थरिथरि रंगका बत्तीको झिलमिल, गाडीहरुको आवतजावत र स्वदेशी तथा विदेशीको त्यत्तिकै चहलपल हुने ठाँउ हो, ठमेल।

रातिको ८ बजेको थियो। मानिसहरुको चहलपहल कम होइन बढ्दो क्रममा थियो । अधिकांश युवाहरु देखिन्थे । तिनैमध्येकी एक थिइन्, पिन्चीला श्रेष्ठ। उनी आफ्ना साथीहरुसँग घुम्न आएकी थिइन् ठमेल। नयाँ वर्षको तयारी कस्तो छ भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरिन्, ‘कुन नयाँ वर्ष?’

विसं २०७६ भन्दा ‘हामी वैशाख १ गते परिवारसँग बाहिर खाना खाएर मनाउँछौँ’, उनले भनिन्, ‘तर नयाँ वर्षको अघिल्लो रात साथीहरुसँग बाहिर पार्टी गर्छौँ।’

जनवरी १ कसरी मनाउनु हुन्छ ? भन्दा अनुहारमा जुन उत्साह थियो त्यो उत्साह वैशाख १ मा मनाइने नयाँ वर्षको कुरामा थिएन ।

उनले जनवरी १ का लागि भनेर किनमेल पनि गर्ने रहिछन्। साथीहरुसँग धेरै समय बिताउने, नयाँ ठाउँ घुम्न जाने र पार्टी गर्ने गर्छिन्। परिवारले भने जनवरी १ नमनाउने उनले बताइन्।

पिन्चीलाका साथी लुजनको भने नयाँ वर्ष मनाउने शैली अलि फरक छ। उनी वैशाख १ र जनवरी १ दुबै मनाउने गर्छन्। उनले भने ‘हामी अङ्गे्रजी नयाँ वर्ष डिसेम्बर अन्तिममा मात्र मनाउँछौ। नेपाली नयाँ वर्षको स्वागत चैत अन्तिममा साथीहरुसँग रमाइलो गरेर गछौँ, भने परिवारसँग वैशाख १ पनि मनाउँछौ।’ उनलाई वैशाख १ किन मनाउँछन् भन्ने खासै थाहा छैन। आफूले परिवारले गरेका क्रियाकलापमा कहिल्यै ध्यान नदिएको उनले बताए।

हरेकले नयाँ वर्ष आ–आफ्नो तरिकाले मनाउँछन्। कतिपयले यसको महत्व बुझेर मनाउँछन् भने कतिपयले यसको महत्व के छ भन्ने थाहा नभएको अवस्था छ।

वैशाख १ या नयाँ वर्षको आफ्नै महत्व छ। संस्कृतविद् जगमान गुरुङका अनुसार १२ वटा राशी छन्। १२ वटा राशीमा सूर्य पालैपालो बस्छ। कुनैमा २९ दिन बस्छ, कुनैमा ३०, कुनैमा ३१ र ३२ सम्म बस्छ। तर २९ बाट घटेर २८ मा बस्दैन ३२ बाट बढेर ३३ मा बस्दैन।
‘त्यस्तै सूर्य चैत महिनाभरि मीन राशीमा बस्छ। वैशाखको १ गते मीन राशीबाट मेष राशीमा संक्रमण गर्छ। जसलाई मेष संक्रान्ति भनिन्छ, अथवा वैशाख संक्रान्ति पनि भनिन्छ’, संस्कृतविद गुरुङले सुनाए।

वैशाखमा संक्रान्तिमा तीर्थस्नान गर्ने, दान गर्ने र पूजापाठ गर्ने चलन छ। उनका अनुसार वैशाखमा क्वाटी (टुसा उम्रेका गेडागुडी) खाने चलन पनि छ। केही दिन अगाडि विभिन्न प्रकारका गेडागुडी भिजाएर वैशाख संक्रन्तिमा खाने गरिन्छ।

उनले भने ‘सुदूरपश्चिममा भने वैशाख १ लाई विषु पर्वका रुपमा मनाइन्छ। सूर्यले विषुवत रेखा पार गर्ने भएकाले यसलाई विषु पर्व भनिएको हो। सूदूरपश्चिममा पनि विभिन्न प्रकारका गेडागुडी भिजाएर टुसा उम्रेपछि विषुका दिन पकाएर खाने चलन छ। त्यसलाई बिरुडा भनिन्छ।’

भाषा मात्र फरक हो। तर संस्कृति भने एउटै हो। सूदूरपश्चिममा बिरुडा भन्ने चलन छ भने यतातिर क्वाटी भन्ने चलन रहेको गुरुङले जानकारी दिए।

क्वाटी तथा बिरुडा खानुको कारण प्रष्ट पार्दै उनले भने, ‘क्वाटी या बिरुडाले झरीबाट बचाउने उर्जा दिन्छ। त्यसैले क्वाटी या बिरुडा खाने गर्छन्।’

नेपालमा अंग्रेजी नयाँ वर्षको सान्दर्भिकताबारे उनले भने, ‘सबैको संस्कृतिको आ–आफ्नै क्षेत्रमा महत्व हुन्छ। तर नेपाली समाजमा अलि बढि मनाउने देखिएको छ। विश्वव्यापीकरणले अहिले नेपाली समाज र नेपालीले पश्चिमाहरुका धेरै संस्कृति मनाउने गरेका छन्।’

त्यस्तै होटल व्यवसायीहरुले पनि जनवरी १ मा विभिन्न अफरहरु ल्याएका हुन्छन्। विभिन्न कार्यक्रमहरुको तयारी गरेका हुन्छन्। तर वैशाख १ का लागि भनेर नै कार्यक्रम गर्दैनन्। सोल्टी होटलका कार्यकारी अध्यक्ष दिनेश विष्टका अनुसार होलटमा नयाँ वर्षका लागि नै भनेर कुनै कार्यक्रम हुँदैन। धेरै पाहुनाहरु पनि आउँदैनन्। त्यसैले त्यस्ता कार्यक्रम नगरेको उनले जानकारी दिए। तर विभिन्न रेष्टुरेन्टहरुमा भने केही अफर राखेको उनले बताए ।

उनले भने ‘अङ्ग्रेजी नयाँ वर्षका लागि भने विभिन्न कार्यक्रम गर्छौँ। होटलमा धेरै विदेशी पर्यटक आउने भएकाले अंग्रेजी नयाँ वर्ष मनाउने गर्छन्। नेपालको नयाँ वर्षका लागि भने कुनै विशेष कार्यक्रम हुँदैन।’

भैरवहाका होलट व्यवसायीको कुरा अलि फरक छ। त्यहाँ नेपाली नयाँ वर्ष र अङ्ग्रेजी नयाँ वर्ष बराबर मनाउने गरिन्छ। दुवै नयाँ वर्षमा विभिन्न कार्यक्रम हुने गर्छन्। भैरवहाको टाइगर रिर्सोटका म्यानेजर रन्धिर यादवका अनुसार नेपाली नयाँ वर्ष नेपालीले मात्र मनाउँछन्। तर अङ्ग्रेजी नयाँ वर्ष विदेशीसँगै नेपालीहरुले पनि मनाउँछन्।

उनले भने ‘नेपाली नयाँ वर्षका कार्यक्रममा विदेशीहरु समेतको सहभागिता रहन्छ। विशेष नेपाली नयाँ वर्षका लागि भनेर हामीले विभिन्न अफरहरु राखेका छौँ।’

नेपाली नयाँ वर्षमा ग्राहकहरु कम हुने र अंग्रेजीमा बढि हुने भन्ने हुँदैन। नेपाली नयाँ वर्षका लागि भनेर काठमाडौँ, चितवन, लगायतका विभिन्न ठाँउबाट मानिसहरु घुम्न आउने भएकाले दुवै सिजनमा आम्दानी पनि राम्रो हुने गरेको बताए।

दुवै नयाँ वर्ष कतिपयले मनाए पनि आफ्नो भाषा संस्कृति भुल्दै गएको पनि देखिन्छ। विश्वव्यापिकरण, युवाहरु विदेशिनु र सामाजिक संजालले पनि बाह्य संस्कृति बढाउनमा सहयोग गरिरहेको छ।

बाह्य संस्कृति मनाउनु गलत होइन तर आफ्नो कला संस्कृतिलाई बिर्सनु राम्रो नरहेको संस्कृतविदले बताउने गरेका छन् ।

चैत्र ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू