काठमाडौँका सडक

मेटिएका जेब्रा क्रस र पैदल यात्रुको सुरक्षा

काठमाडौँ – सडक सुरक्षा विश्वव्यापी रुपमा प्रमुख चासोको विषय हो । त्यसमाथि नेपालसहितका देशमा सडक सुरक्षाको अवस्था दयनिय छ । बर्सेनि सडक दुर्घटनामा परेर धेरैले ज्यान गुमाउने गरेका छन् ।

विशेष गरि काठमाडौँ उपत्यकाका सडकमा पैदल यात्रीको सुरक्षात्मक अवस्था कमजोर छ । चाहिने ठाउँमा जेब्राक्रस वा आकाशे पुल छैनन् । भएका जेब्राक्रसहरु पनि मेटिएका छन् । कतिपय भएकै जेब्राक्रस र आकाशे पुल पैदल यात्रुले प्रयोग गरेका छैनन् । यसले सडक सुरक्षाको अवस्था कमजोर बनाएको छ ।

मेटिएका जेब्राक्रस, जेब्राक्रसमै पार्किङ्ग गरिएका गाडीहरु, जेब्राक्रस र आकाशे पुललाई वास्ता नगरी जथाभावी बाटो काटिरहेका यात्रु यी सबै कारणले समस्या देखिएको हो काठमाडौँको सडक सुरक्षामा । सडकको सुरक्षालाई चुस्त बनाउन खटिएका ट्राफिक प्रहरीलाई पनि यसले गाह्रो बनाएको छ ।

उपत्यकाका विभिन्न सडकमा करिब ३ सय जेब्रा क्रसिङ्ग छन् । तिनलाई समयमै ‘डेन्टिङ पेन्टिङ’ गरिएको छैन । ‘डेन्टिङ पेन्टिङ’ समयमा नगर्दा सडक दुर्घटना पनि बढ्दै गएको छ ।

चाप बढि हुने सडकमा ६–६ महिनामा र अन्य सडकमा वर्षमा एक पटक ‘डेन्टिङ पेन्टिङ’ गर्नु पर्ने नियम रहेको सडक विभागका ट्राफिक महाशाखा प्रमुख दीप बराहीर्ले जानकारी दिए । तर उपत्यका मुख्य सडकमा पनि समयमै ‘डेन्टिङ पेन्टिङ’ भएको छैन । सडक विभाग ट्राफिक महाशाखाका प्रमुख बराहीले टेन्डर आह्वान गरेको र अब चाँडै काम हुने बताए ।

उनले भने, ‘जेब्रा क्रसिङ्गको डेन्टिङ पेन्टिङसहित अन्य मर्मत जस्तै–पेटी, रेलिङ आदि सबै मर्मतका लागि भनेर नेपालभरि नै १६ करोड थियो । तर बजेट अपुग भएपछि उपत्यका लागि भनेर डेन्टिङ पेन्टिङसहित अन्य मर्मतका लागि भनेर हामीले २ करोड इन्ट्रनल बजेट म्यानेज गरेका छौँ । अब टेण्डर पनि गरेका छौँ ।’ केही कमजोरी भएको स्वीकार गर्दै उनले भने, ‘केही कमी कमजोरी त पक्कै भएको हो । तर अब हामी समाधान गर्ने छौँ ।’

उपत्यकाका भित्री सडकमा भने चाहिने ठाउँमा भन्दा जथाभावी रुपमा जेब्राक्रस बनाइएको बारे बराहीले भित्री बाटोमा सडक विभागले नभएर महानगरपालिकाले हेर्ने बताए ।

उनले भने, ‘भित्री बाटो महानगरपालीकाले हेर्छ हामीले हेर्ने सडकमा त्यस्तो पाइएमा हामीले कारवाही गर्छौँ । भित्री बाटोमा त्यस्तो देखिएमा हामीले महानगरसँग समन्वय गरेर मात्र काम गर्नु पर्ने हुन्छ ।’

चैत ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्