‘सरकारको कार्यशैली र क्षमता बालुवाटार जग्गा प्रकरणबाट प्रष्ट भयो’

मोरङ– नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले वर्तमान सरकारको कार्यशैली तथा क्षमता बालुवाटार जग्गा खरिद प्रकरणबाट नै प्रस्ट भएको बताएका छन्।

विराटनगरमा शनिबार प्रेस यूनियन मोरङले आयोजना गरेको साक्षात्कारका क्रममा नेता सिंहले भ्रष्टाचारको मुद्दामा सबैलाई एउटै टोकरीमा राखेर हेर्न नमिल्ने बताएका थिए। विभिन्न जग्गा प्रकरण तथा विमान खरिद प्रक्रियामा कांग्रेसका नेताहरुको पनि संलग्नता देखिएको भन्ने प्रश्नमा उनले भने, ‘सबैलाई एउटै वास्केटमा हालेर हेर्नु भन्दापनि वर्तमान सरकारको क्रियाकलापले सबै कुरा उजागर गरिरहेको छ’, उनले भने, ‘यहाँ चोरीको समान खरिद गर्नेलाई त कारबाही हुन्छ। सरकार भने बालुवाटार जग्गा प्रकरणको घटनाबाट पन्छिन खोजिरहेको छ। यही प्रकरणबाट सरकारको कार्य र क्षमता कस्तो छ भन्ने प्रस्ट भएको छ।’

पार्टी भित्र महाधिवेशनको विषयलाई लिएर चर्चा जारी रहेको सन्दर्भमा उनले वर्तमान नेतृत्व पार्टीको विधानसम्मत अघि बढ्न नसकेको गुनासो गरे। उनले भने, ‘पार्टी नेतृत्वको अकर्मण्यता यस्तै रहने हो भने, महाधिवेशनबाट बढारिनु बाहेक विकल्प छैन। त्यसैले पनि कांग्रेस समर्थक, शुभेच्छुकहरु नेतृत्वको विकल्प चाँहि रहेका छन्। समयानुकुल पार्टी महाधिवेशनबाट नयाँ र बलियो नेतृत्व आउनेछ।’

नयाँ नेतृत्वका लागि सभापतिमा अहिले नै कसैको स्पष्ट दावेदारी आइनसकेको बताएका नेता सिंहले आउँदो महाधिवेशनबाट पार्टी प्रक्रिया र शुभेच्छुकहरुको भावनाको कदर गर्दै अघि बढ्ने नेतृत्व आउनेमा विश्वस्त रहन आग्रह गरे।

पार्टी विधि–विधानसम्मत चल्न नसकेको बताएका नेता सिंहले तदर्थवादमा पार्टी चलेका कारण पछिल्लो समय पार्टीमा कमी कमजोरी देखिएको बताए।। उनले भने, ‘चौतर्फी नेतृत्वको आलोचना हुँदा समेत नेतृत्वतहमा कुनै सुधार देखिएको छैन। यस्तै अवस्था रहिरहने हो भने जिल्ला अध्यक्षहरुको हस्ताक्षर अभियानले सक्रियता पाउने छ। त्यो भन्दा दुर्भाग्य के हुनसक्छ र?’

वर्तमान नेतृत्वले तरुण दल, नेविसंघ, दलित संघ लगायत पार्टीका विभिन्न भातृ संघ संगठनलाई समेत निष्क्रिय रुपमा अघि बढाएको आरोप लगाएका नेता सिंहले नयाँ कमिटी गठन गर्न नेतृत्वले सकेको छैन। ‘यहाँ पनि विधानको वेवास्ता गरिएको छ। यसरी पार्टीलाई सधैँ गुमराहमा राखेर काम गर्न सकिन्न।’ उनले भने।

दुई तिहाइको वर्तमान सरकार विरुद्ध कांग्रेस अन्य स–साना दलसँग एक भएर मोर्चामा उत्रिने भन्ने विषयमा नेता सिंहले भने, ‘संविधानसम्मत भएकाहरु र संविधानको मर्मसहित अघि बढ्न रुचाउनेसँग मोर्चा बनाउन सकिन्छ। तर, संविधानको मर्म विपरीत कार्यमा भने कांग्रेस अघि नबढ्ने स्पष्ट पारे।’ तथापी विद्रोह गरिरहेकाहरुलाई शान्ति वार्ताबाट सहमतिसँगै अघि बढाएर हिड्नु पर्ने उनको भनाइ छ।

चैत ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्