लोकसभा चुनाव २०१९

जातको वर्चश्व स्थापित भएको बिहारी राजनीति

चुनाव प्रचारको क्रममा कन्हैया कुमार ।

पटना – अहिले बिहारका ४० लोकसभा क्षेत्र मध्ये बेगुसराय निकै चर्चामा छ, देशभित्र र बाहिर पनि। कारण, करिब तीन वर्ष पहिला जवाहरलाल नेहरु विश्वविद्यालय (दिल्ली) मा चर्चित ‘आजादी’ काण्डमा ‘राष्ट्रद्रोह’ को मुद्दा खेपेका ३२ वर्षीय कन्हैया कुमार त्यहाँ उम्मेदवार छन्, भारतीय राजनीतिमा उदाउँदो ‘कम्युनिष्ट पार्टी अफ इन्डिया’ का उम्मेदवारका रुपमा ।

उनको प्रचारमा भारतका विभिन्न प्रान्त र बलिउड राजधानी बम्बै (अब मुम्बै) बाट समेत ‘साम्प्रदायवाद’ विरुद्ध उत्रिएका लेखक, कलाकार, रंगकर्मी र अभिनेताको ओइरो लाग्ने अनुमान छ । २९ अप्रिलमा निर्वाचन हुँदैछ त्यहाँ । खासगरि सिने अभिनेत्री शवाना आजमीको प्रतिक्षा हुँदैछ क्षेत्रमा, किनकी उनले पटक–पटक ‘साम्प्रदायीक शक्ति’ विरुद्ध आवाज उठाएकी छन् र उनका पिता तथा प्रख्यात कवि कैफी आजमी आजीवन त्यही पार्टीका सदस्य रहे जसको टिकटमा कन्हैया चुनाव लड्दै छन् यसपल्ट ।

तीन वर्षअघि जेएनयूमा विद्यार्थीहरुका दुई समूहबिच भिडन्त भयो । राष्ट्रिय स्वयं सेवक संघ तथा भारतीय जनता पार्टी सँग आवद्ध समूहले ‘कश्मीरको आजादी’ को पक्षमा त्यहाँ अर्को समूहले नारा लगाई रहेको आरोप लगायो । युनिभर्सिटी विद्यार्थी युनियनका अध्यक्ष रहेका कन्हैया कुमारलाई पनि ‘आजादी’ समूहमा रहेको आरोप लाग्यो । पछि अदालतमा उनले एउटा भावनात्मक अभिव्यक्ति दिए, ‘हो म आजादीको पक्षमा छु, भयबाट आजादी, अभावबाट आजादी’ आदि ।

कन्हैयाको पक्षमा प्रचारमा जुटेका जिग्नेश मेवाणी ।

जेएनयू घटनाबारे राष्ट्रियस्तरमा र संसदमा पनि बहस हुन थाल्यो र तयसको केन्द्रमा रहे कन्हैया । बिहारको बेगुसरायको एउटा गरिब परिवार र आमाले हुर्काएका कन्हैया एकाएक राष्ट्रिय स्वयं सेवक संघ र ‘हिन्दु साम्प्रदायकवाद’ विरुद्धका लडाकु र ‘हिरो’ बने ।

त्यसरी निर्मित व्यक्तित्व र राजनीतिक पूँजी लिएर उनी यसपल्ट बेगुसरायबाट चुनाव लड्दै छन् । तर, कस्तो बिडम्बना साम्प्रदायीक शक्तिलाई लगातार आलोचना गरिरहेका कन्हैया आफ्नो जात (भूमिहार) को बाहुल्य रहेको क्षेत्रमा चुनाव लड्दै छन् । उनी यहि ठाउँको भए पनि सम्भवतः जातीय समर्थन पाउने अनुमान र बेगुसराय क्षेत्र अतितमा सिपिआई को गढ रहेको इतिहासले उनलाई त्यता डोर्‍यायो ।

उद्योग, उर्जा परियोजना र रिफाइनरी (बरौनी) स्थापित बेगुसराय सन् १९५० को चरणमा आर्थिक सम्वृद्धिको सपना बोकेको क्षेत्र थियो । र राजनीतिकरुपमा सिपिआईको गढ पनि बन्न पुग्यो त्यो । ‘लेनिनग्राद’ भनिन्थ्यो त्यसलाई । तर सन् १९८० को दशकको अन्त्यतिर भारतीय राजनीतिमा त्यसबेला उदाउन थालेका परस्पर विरोधी तथा प्रतिस्पर्धात्मक राजनीतिक प्रवृत्तिले सिपिआईलाई पतन तिर धकेल्यो ।

‘मण्डल’ र ‘कमण्डल’ भनिने ती प्रवृत्तिमा एकातिर पीछडा जातीहरुको वर्चश्व स्थापित हुन पुग्यो राजनीतिमा सरकारले (सरकारी सेवामा) आरक्षणको नीति अपनाएपछि र अर्कोतिर अयोध्यामा राम मन्दिर निर्माणलाई भारतीय जनता पार्टीले प्रमुख मुद्दा बनाएपछि कथित उच्चजात त्यता तर्फ लाग्यो । त्यस्तै संस्थापानको पर्यायका रुपमा रहँदै आएको कांग्रेस पार्टी विरुद्ध संघर्ष र आन्दोलनको अभ्यास गर्दै आएको सिपिआई भारतीय जनता पार्टीले ‘हिन्दु लहर’ निर्माण गरेपछि ‘धर्म निरपेक्षता’ का नाममा कांग्रेससँग सहकार्य गर्न बाध्य भयो ।

कन्हैयाको पक्षमा प्रचारमा जुटेकी अभिनेत्री श्वरा भास्कर ।

बिहारमा सन् ८० को दशकसम्म तेस्रो ठूलो पार्टीका रुपमा रहँदै आएको सिपिआई अहिले झण्डै राजनीतिक नक्साबाट लोप हुँदैछ । अझ बेगुसरायमा उसको नेतृत्व र समर्थनको आधार मानिएको भूमिहार जाती क्रमश भारतीय जनता पार्टी तर्फ ढल्केको अनुमान हुन थालेको छ ।

उसको अतितको त्यो गढमा सिपिआईले अन्तिमपल्ट सन् १९९६ को लोकसभा निर्वाचनमा विजय हाँसिल गरेको थियो, लोकसभामा रवीन्द्र कुमारलाई पठाएर । त्यसपछिका चार निर्वाचनमा पीछडा जाती अर्थात ‘मण्डल’ पक्षीय मानिने राष्ट्रिय जनता दल र जनता दल (युनाइटेड) ले चुनाव जिते भने क्रमश आफ्नो समर्थन बिस्तार गर्दै गएको भारतीय जनता पार्टीले २०१४ मा आफ्नो झण्डा गाड्यो त्यहाँ ।

सामान्यतया सिपिआईले विद्यार्थी राजनीतिमा लागेकै आधारमा कुनै युवालाई सहजै टिकट दिँदैन । तर कन्हैयालाई उसले अपवादका रुपमा स्वीकारेको छ । उक्त क्षेत्रमा कन्हैया जात भूमिहार सबभन्दा बढि छन्, चार लाख ६० हजार, कुल १९ लाख ५० हजार मतदातामा । त्यसपछिको सबभन्दा ठूलो संख्या मुसलमानहरुको छ, करिब दुई लाख ५० हजार जति ।

राजनीतिक विश्लेषक र सञ्चारकर्मीहरु अक्सर मनोवैज्ञानिक रुपमा असुरक्षित महसुस गर्ने अल्पसंख्यक सामूहिक या एकै तर्फ मतदान गर्छन् भन्ने मान्यता राख्दछन् । लालु यादवको राष्ट्रिय जनता दल र उ तथा कांग्रेससहितको ‘महागठबन्धन’ ले तनवीर हसनलाई खडा गरेको छ ।

उता सत्ताधारी भारतीय जनता पार्टीले गत चुनावमा उसको विजयी उम्मेदवार भोलाप्रसाद सिंहको निधन भएपछि अली हक्की र विवादास्पद खालका केन्द्रीय मन्त्री गिरीराज सिंहलाई त्यहाँ चुनावी मैदानमा उतारेको छ । जातले उनी पनि भूमिहार हुन् ।

सिपिआईले कन्हैयालाई ‘साम्प्रदायीक शक्ति’ विरुद्धको लडाकुका रुपमा साझा उम्मेदवारका भनेर प्रस्तुत गर्न गरेको प्रयासलाई लालु तथा कांग्रेसले स्वीकार गर्न चाहेनन् ।

‘पाँच वर्षअघिको ‘मोदी लहर’ मा समेत तनवीर हसनले करिब ३ लाख ५० हजार मत ल्याएका थिए, उनलाई कसरी वञ्चित गर्न सकिन्छ ?’ जनता दलका राष्ट्रिय उपाध्यक्ष शिवानन्द तिवारीले देश सञ्चारसँग भने । दुई भूमिहारको भिडन्तमा तनवीर हसनको विजयको बढि सम्भावना रहेको अनुमान पनि गर्न थालिएको छ ।

तर बिडम्बना बिहारको राजनीतिमा अब ‘वर्ग’ या (क्लास) अवधारणाको समग्ररुपमा मृत्यु भइसकेको छ र कास्ट (जात) ले त्यसलाई विस्थापित गरेको छ, जसलाई कन्हैया लगायत सबैले स्वीकार गरेको देखिन्छ । नत्र उनी किन आफ्नो जात बाहुल्य क्षेत्रमा नै गए ?

सबै तस्बिर : कन्हैया कुमारको ट्वीटर ह्याण्डलबाट ।

बैशाख १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्