लुक्लामा जहाज र हेलिकप्टर ठोक्कियो

प्रमुख जिल्ला अधिकारी भन्छन् उद्धार जारी छ

काठमाडौँ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।

‘दुईजनाको मृत्यु भइसकेको छ केही घाइते छन् उद्धारको काम भइरहेको छ’ प्रजिअ रानाले भने ।

दुर्घटनामा घाइते भएका चारजनालाई हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पताल ल्याएको छ । मृत्यु भएका दुईजनाको शव ल्याउन हेलिकप्टर गएको छ ।

समिट एयरको विमान उडान भर्ने क्रममा मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।

आइतबार बिहान समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएको हो ।

उडान भर्ने क्रममा विमान हेलिकप्टरसँग ठोक्किएपछि आगो लागेको थियो । हेलिकप्टरका पाइलट सिबी गुरुङको उद्धार गरिएको जनाइएको छ । विमान धावन मार्गमा चिप्लिएर हेलिकप्टरमा ठोक्किन पुगेको हो । दुर्घटनाको यकिन कारण भने खुलेको छैन ।

बैशाख १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्