विचार

थारुकाे खास नयाँ वर्ष ‘सिरुवा’, शीतलता र आशिर्वाद

‘शिरुवा’ अर्थात पहिलो पर्व, सुरुको पर्व। यो पर्व (पावैन) प्रत्‍येक थारु समुदायको महत्‍वपूर्ण चाड हो। यसलाई जुरशीतल पनि भनिन्छ। जुरसितलको छुट्टै महत्व र पहिचान छ। जुरको अर्थ भाग्य पनि हुन्छ र चिसो पनि हुन्छ। यसकारण यसलाई शीतलता प्रदान गर्ने भाग्यको पर्वको रुपमा पनि लिइन्छ।खेती नै प्रमुख आय-आर्जनको श्रोत भएको थारु समुदायमा पानीको महत्व हुने नै भएकोले यो पर्वमा बढी भन्दा बढी पानीको प्रोयोग हुन्छ।यो पर्व सँगसँगै नयाँ बर्ष पनि पर्ने भएकोले नेपालमा यसको महत्व झन बढ्न गएको छ।

यसलाई पर्वकै रुपमा तराईमा बसोवास गर्ने आदिवासी थारु समुदाय लगायत राजबंशी, गनगाई, ताजपुरीया, धिमालको साथ साथै अन्य समुदायले पनि धुमधामसंग मनाउने गरेको पाइन्छ। यो पर्व लाई समय परिवर्तनको संकेतको रुपमा पनि मनाउने गरेको छ। गर्मी मौसम सुरु हुन लागेको र यो पर्वमा पानीको बढी भन्दा बढी प्रयोग हुने गरेको र पानीले शीतलता प्रदान गर्छ, जसलाई जुरशीतल (Joorshital)भन्ने गरिन्छ।

यो पर्व नेपालको साथै भारत, थाइल्याण्ड, म्यानमार, कम्बोडिया, श्रीलंका, म्यानमार, लावोस इत्यादि देशहरुमा प्रत्येक बर्ष अप्रिल १३ देखि १५ सम्म महासोंक्रान, थिनग्यान, पिमाई लाउ, चौलचाम थ्ले, आथुल अबुरुदु जस्ता बिभिन्न नामले मनाउने गरेको पाइन्छ। थारु समुदायमा एउटा कहबी नै छ कि ‘सिरुवा पसारे या फगुवा ओसारे’ अर्थात थारुहरुको चाँडपर्व सिरुवा बाट प्रारम्भ हुन्छ र फुगावा (होरी) मा गएर समाप्त हुन्छ।

पूर्व महान्यायधिवक्ता स्व. रामानन्द प्रसाद सिंह ज्यूले यस पर्वलाई थारुहरुको शिर्षथ पर्वको रुपमा चित्रण गरेका छन्। यसै समयमा नै थारु पुत्र भगवान गौतम बुद्धको जन्म, बौद्धत्व प्राप्ती र महानिर्बाण(देहत्याग) पर्ने भएकोले यो पर्वमा थारुहरुको आफ्नो छुट्टै पहिचान र सम्बन्ध रहेको छ।बौद्ध सम्वत् र थारु सम्वत् को साथै-साथै नेपाल सरकारको आधिकारिक सम्बत बिक्रम सम्वतको पहिले महिनाको पहिलो दिन पनि पर्ने भएकोले यसलाई नयाँ वर्षको रुपमा नेपाल भरी हर्ष र बिभोर भएर मनाउने चलन छ। यो राष्ट्रिय पर्वमा नेपाल सरकारबाट सार्वजनिक रुपमा नै विदाको घोषणा गरेकोले गर्दा पनि यो एउटा संस्कृतिको रुपमा रहेको छ।

नेपालमा सिरुवा


यो पर्वको बारेमा नेपाल तथा अन्य मुलुकमा प्रचलन रहेको एउटा पौराणीक कथा जो थारु समुदाय तथा अन्य एसियाली मुलुकमा प्रचलनमा रहेको छ। जस अनुसार पुरापूर्ब कालमा एउटा महाप्रतापी राजकुमार थियो। ऊ बिभिन्न किसिमको भाषा जान्नुको साथै चरा चुरुङ्गीहरुको पनि भाषा बुझ्ने गर्दथ्यो। यसको प्राताप स्वर्ग सम्म पनि पुगेको थियो। जसको कारण कपिल नामको एउटा देवतालाई राजकुमारसंग इर्ष्या लाग्यो र उ पृथ्वीमा आई पुग्यो।

देउता राजकुमारको दरबारमा पुगी राजकुमार संग तिन वटा प्रशन सोध्ने सर्त राख्यो। सर्त अनुसार कपिल देवताले सोधेको तिनवटा प्रश्नको जवाफ राजकुमार सात दिन भित्रमा दिनु पर्ने थियो। प्रश्नको जवाफ दिन सकेन भने राज कुमारले आफ्नो टाउको काटेर दिनु पर्ने र जवाफ सही दियो भने कपिल देवताले आफ्नो टाउको काटेर राजकुमारलाई दिने। राज कुमार सर्वज्ञानी भएकोले सर्त सहर्ष स्विकार गर्यो।

राजकुमारले प्रश्न स्वीकार गरे पनि जवाफ पाउन सकेन। एक दिन दुई दिन हुँदै छैंठौ दिन सम्म पनि जवाफ नपाएर राजकुमारले बेईज्जत भएर टाउको कटाउनु भन्दा आफै आत्म हत्या गर्ने भनेर जंगल तिर लाग्यो। जाँदा जाँदै बिच जंगलको एउटा ठुलो रुख मुनि चिन्तित मुद्रामा बस्यो। त्यो रुख माथी चिलको गुड थियो र गुँडमा बच्चाहरु भोकले कराई रहेको थियो।

बच्चाको आमा आएर उनीहरुलाई सम्झाउन थाल्यो तिमीहरु धैर्य गर तल रुख मुनि उभिरहेको जवानको मासु खान पाउँछौ। उसले तिन वटा प्रश्नको जवाफ दिन सकेन र आत्महत्या गर्न आएको हो। बच्चा संगको कुराको सिलसिलामा आमाले सर्त तथा प्रश्न र उसको सही उत्तर पनि आफ्नो बच्चाहरुलाई सुनायो। तल बसिरहेको राजकुमार चरा चरुङ्गीको भाषा पनि बुझ्ने भएकोले सबै कुरा सुन्यो र खुशी साथ त्यहाँबाट दरबार आइपुग्यो र समय सिमा भित्रमा कपिल देवताले दिएको तिन वटै प्रश्नको जवाफ दियो।

सर्तको मुताबिक देबताले आफ्नो टाउको काटेर राजकुमारलाई दियो। तर उसको टाउको यस्तो थियो कि त्यसलाई समुद्रमा राखे भने समुद्र सुख्ने, बनमा राख्यो भने बननै जलेर सखाब हुने अर्थात टाउको राख्ने कुनै ठाँउ नै रहेन। यो समस्यालाई समाधान गर्नको लागि कपिल देवताको सात वटा छोरीहरु मिलेर एउटा उपाय निकाल्यो।

सातै बहिनीले बुवाको टाउको पालै पालो बर्ष दिनको लागि बोकी मेरु पहाडको एउटै ध्रुवमा वरिपरी घुम्न लागे। एक बर्षको लागि यही सिरुवा जुरसितलको दिन नै एक बहिनीले अर्को बहिनीलाई बुवाको टाउको हस्तान्तरण गर्ने विश्वावास रही आएको छ। यस्तै मिल्ने कथा अन्य देशमा पनि रहेको छ। कतिपय देशमा त यो दिन कपिल देवतालाई गुफाबाट निकाली पुजा गर्ने जुरसितल गर्ने तथा भोज खाने चलन पनि रहेको छ।

कथा अनुसार पहिलो प्रश्न थियो बिहानको समयमा व्यक्तिको रासी (भाग्य) कहाँ वास गरेको हुन्छ ? दोस्रो- दोपहरको समयमा मानिसको भाग्य कहाँ वास गरेको हुन्छ ? र रातीको समयमा मानिसको भाग्य कहाँ वास गरेको हुन्छ ? उत्तर – मुख, शरिर र खुट्टा।

यो पर्वको तयारीमा थारु समुदाय पहिलादेखि ने लागि परेको हुन्छ। आ-आफ्नो क्षमता अनुसार तयारीमा गरिरहेको हुन्छ। घर आंगन र वरिपरीको सरसफाई विषेश किसिमले गरेको हुन्छ।

घरको लागि महिलाहरुले विभिन्न किसिमको रंगिन माटोको प्रयोग गरी लिपपोत गरी चटक्क पारेको हुन्छ। घरमा विभिन्न किसिमको कोहबरले भित्ता सजाएको हुन्छ जसमा हाती देखि विभिन्न चराचुरुङ्गी पनि रहेको हुन्छ। यसबाट नै थारु समुदायले नयाँ बर्षलाई स्वागत गर्नलाई तयार रहेको भान हुन्छ।

थाईल्याण्ड तथा म्यानमारमा सिरुवा


चैत महिनको अन्तिम दिन साँझ तिर पुरानो बर्षको बिदाई या नयाँ बर्षको स्वागतको लागि विभिन्‍न किसिमको रोटी, पकौरी, कचरी, बरी लगायतको पकवान बनाउनमा ब्यस्त हुन्छ।विभिन्‍न किसिमको परिकारको वासनाले गर्दा गाउँ वासनामय हुन्छ।

भोलि पल्ट विहान नयाँ बर्ष नयाँ जोस र उमंगको साथ जुरसितल शुरु हुन्छ। बिहान सबैरे घरको मुलीले आफ्नो कुल देवता को साथै घरको सदस्यहरुको टाउकोमा पानि छर्केर आशिर्वाद दिन्छन भने सानाले ठुलालाई खुट्टामा पानी हालेर दिर्घ आयुको लागि कामना गर्दछन। जुरसितल गाई वस्तु तथा रुख बिरुवामा पनि गर्ने चलन छ।

सबैजना आ-आफ्नो कुरालाई बिर्सेर जुर सितल गरी खुशी साटा साट गर्नमा ब्यस्त रहन्छ। एक दिन अगाडि पकाएको खानेकुरा एक आपसमा मिलेर साटासाट गरी खाने गर्दछन। गत बर्ष पकाएको खाना नयाँ बर्षमा खाने गर्दछन जसबाट पुरानो बर्षको सम्झना तथा नयाँ बर्षको स्वागत संगसंगै हुने गर्दछन।

थारु समुदायमा एउटा भनाई नै छ कि चैत के निनहल बैशाख मे खेनाई अर्थात चैतमा पकाएको खानेकुरा बैशाखमा खाने। नयाँ बर्षको सिन सामुहिक रुपमा माछा मार्ने तथा सिकार खेल्ने चलन पनि छ। अहिले पोखरीलाई व्यवसायिक रुपमा माछा पाल्ने गरेकोले तथा शिकार गैर कानूनी भएकोले यो चलन हराउँदै गएको छ। त्यसको साटो खसी,कुखुरा काटेर खाने चलन बढीरहेको छ।

सिरुवा जुरसितलमा थारु समुदाय नजिक रहेको घार्मिक स्थालमा मेला लाग्ने गर्छन। थारुहरु दशैं भन्दा पनि सिरुवामा नयाँ लुगा गर्दछन। कतिपय स्थानमा त एक महिना संग मेला लाग्ने गरेको पाइन्छ। कतिपयले माधीलाई थारुहरुको नयाँ बर्षको रुपमा माने पनि खासमा माघी आर्थिक हिसावले नयाँ बर्ष हो भने थारुको असली नयाँ बर्ष बैशाख नै हो।

यो पर्व तिन दिन सम्म मनाउने चलन रहेको भए पनि हाल यसमा केहि कमि आएको छ भने केही समुदायहरुके यसलाई जगेर्णा गर्नको लागि काठमाण्डौको टुडीखेलमा सिरुवा मनाउने गरेको छ। यसमा पहिले दिनलाई जल सिरुवा अर्थात पानि संग खेलेर सिरुवा मनाउने दोस्रो दिनलाई काद सिरुवा अर्थात हिलो संग खेलेर मनाउने र तेस्रो दिनलाई रंग सिरुवा अर्थात बिभिन्न किसिमको रंगहरुको प्रयोग गरी उल्लासपूर्वक मनाउने चलन रहेको छ।

बुद्ध धर्मको बाहुल्यता रहेको देशहरुमा यो पर्व यही समयमा यस्तै किसिमले मनाउने गरेको पाइन्छ। भगवान गौतम बुद्ध पनि थारु समुदायमा नै जन्मेको हुनाले यस पर्वसंग थारुहरुको बंशाणुगत सम्बन्ध रहेको छ।

बैशाख १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्