करिश्मा मानन्धरको नयाँ अवतार

… अनि नम्बर वान् हिरोइन ‘आम करिश्मा’ बनिन्

२०७५ साल चैत १० गते

एकाबिहानै करिश्माको रिसको पारा छुट्यो। उनी दिनहुँ चढ्ने गाडीको टायर पङ्चर भएको रहेछ। उनका श्रीमान् विनोद मानन्धर हावा भर्ने मेसिन हातमा लिएर यताउता गर्दै थिए, उनीमाथि करिश्माको रिस खनियो, ‘तिम्ले बिगार्देको हो।’

विज्ञापन

विनोद निरुत्तरित भए। अघिल्लो दिन साँझ आउँदा गाडीमा हावा थिएन। उनले भरेका थिए। फेरि समस्या आएछ। उनलाई टायर फेर्नुपर्छ भन्ने थाहा भयो तर फसाद! सहयोगी कमल नेपालगञ्ज गएका थिए।

उनलाई करिश्मासँग डिस्कस गर्नुभन्दा टायर चाँडै बदल्नु थियो। करिश्माको एसईई परीक्षाको पहिलो दिन भएकाले ढिला होला भन्ने चिन्ता विनोदलाई पनि थियो। आफैँ हावा हाल्न नसकेपछि विनोदले बाहिरबाट मिस्त्री बोलाएर टायर ठीक गरे।

बिहान ६ बजे गाडि चढ्न गएकी करिश्मा मानन्धर चिडिनुको कारण परीक्षामा ढिला पुगिन्छ भन्ने हो। बिनोद करिश्माको छिटो रियाक्ट गर्ने बानीसँग अपरिचित होइनन् त्यसैले उनले टायर बनाइदिए।

अघिल्लो रात करिश्मालाई राती आरामको निन्द्रा परेन। झ्यास्स झ्यास्स आँखा खुलिरहे। बिउझिए पिच्छे घडि हेरिन्। १,२,३ अनि ४ बज्यो। उठिन्। टाउको गर्‍हौँ थियो, ढुंगाको भारी बोकेको जस्तो। अनौठो अनुभूति थियो, मन डराएजस्तो।

एसईईको पहिलो दिन थियो। विषय अंग्रेजी।

विद्यालय पोशाक लगाएर तल झरीन्। हलुका ब्रेकफास्ट गरिन्। टायर ठीक भएपछि आफैँ गाडि हाकिन् र आफ्नो स्कूल पुगिन्।

जीवन अगाडि बढ्दै जाँदा एक समय आउँछ, जहाँ मानिसहरु आफूलाई पछाडि फर्केर हेर्छन्। सफलताको शिखर चढेको स्मरण हुन्छ, जीवनमा आफूसँग छुटेका खुशीहरु याद आउछन्। जानी अन्जानि गरेका गल्ति महशुस हुन्छन्। सुधार्न मन लाग्छ तर सबै सम्भव कहाँ हुन्छ र?

टौखेल, ललितपुरको एउटा घरको कोठामा बसेर अभिनेत्री करिश्मा मानन्धरले ४ वर्ष अगाडि आफैले आफैलाई नियालिन्। २०४४ सालको पहिलो चलचित्र, झण्डै ३ दशकको अभिनय यात्रा, अमेरीका बसाई, व्यस्तता, ख्याती, स्टारडम, हुर्किएकी फूल जस्ती छोरी, श्रीमानको साथ अनि घर। यो सबै पाउन उनलाई ४० वर्ष लागेछ। सोच्दा सोच्दै मनमा कुरा आयो ‘अनि अब’ ?

बाँच्न सहज हुने पैसा कमाएकै हो। समाजमा सम्मान पनि छ। छोरी हुर्काएर आफ्नो जीवनको निर्णय आफै लिन सक्ने भई सकेपछि एउटा महिलालाई के चाहियो ? समाजले दिने ‘पूर्ण र सम्पन्न’ महिलाको ट्याग उनले पाइसकेकै हो।     तर मन खुशी भएन,

हुन त मान्छेको जातै असन्तोकी। एउटा चिजको रहर गर्छ पुर्‍याउँछ, फेरि अर्को रहर पलाउँछ। त्यसैलाई पूरा गर्ने हुटहुटी पूरा गर्दा गर्दै मानिसको समय सक्किन्छ।

समाजले तोकेका केही दायरामा हाम्रो रहरहरु कुन्ठित हुन्छन्। सबैभन्दा खास ‘समय’ले हामीलाई बाध्ने गर्छ। कामलाई बेलैमा सक्न दिनहुँ ‘रुटिन’ बनाइन्छ, बिहान उठ्ने ७ बजे चिया खाने, ९ बजे खाना खाने अनि काममा जाने। मानिस पनि जन्मेर हुर्कदै मर्ने प्रक्रिया पनि एउटा रुटिनमा चलेको हुन्छ। दिनहुँ हुने दिन र रात पनि रुटिन नै हो। नियमित हुने रुटिनलाई परिवर्तन गर्नु अथवा नयाँ रुटिन सेट गर्नु चुनौतिपूर्ण हुन्छ।

कोठामा बसिरहँदा करिश्माको दिमागमा झ्वाट्ट एउटा कुरा फुर्‍यो, ‘म स्कूल जान्छु एसईई दिन्छु।’

‘ह्या के सोच्या होला मैले।’ जवाफ आइहाल्यो। दिमागको काम सोच्ने हो, बेला बेलामा के के सोच्छ सोच्छ।

अरु बेला सोचेर बिर्सिहाल्ने बानी थियो तर स्कूल जाने सोचले छोड्दै छोडेन। दिमागमा घरै बनाएर बसेजस्तो भयो।

एकाएक सम्झन थालिन्, कक्षा ७ मा पढ्दै गर्दा चलचित्रमा काम गर्ने अफर आयो, स्कूल छुट्यो। कामले फुर्सद भएन। विवाह भयो, छोरी जन्मिइन्। त्यो बेला काम बाहेक अर्को कुरा सोच्ने फुर्सद नै भएन।

३० वर्षपछि समय अलि फुर्सदिलो हुँदा करिश्माले आफ्नो रहरको बारेमा सोच्न थालिन्। ‘ला, समाजले के भन्छ? विवाह गर्ने उमेरको छोरी छ। बुढेसकाल लागिसक्यो, स्कूल कसरी जाने।’ उनको सदाबहार नायिकाको ट्याग छ। तर कलाकारले कति पढेका छन् भन्दा चस्स मन पोलेको घाउ सधैँ आलो छ।

प्रौढ शिक्षा अथवा अरु विकल्प पनि थिए। चिनेका दाईले मेरो स्कूलबाट देउ, सहयोग गरौला भने तर मनले मानेन।

‘सपनामा त्यही स्कूले बच्चा दगुरेको स्मरण भयो। छोड्दै छोडेन।’ करिश्मा सम्झन थालिन्, ‘मेरो साथी गोविन्द राईलाई मैले यो कुरा सम्भव छ भनेर सोधेँ। उनले छ भने अनि स्कूल जान सुरु भयो।’

मैतीदेवीको त्रिवेणी पक्लिक स्कूलमा करिश्मा जानुको कारण छ, गोबिन्द राई र अरु ठूलो उमेर भएका केहीले यो विद्यालयबाट एसईई पास गरिसकेका थिए। आफूलाई पढ्ने वातावरण मिल्छ भनेर उनले स्कूल जाने निणर्य गरिन्।

कक्षा ७ वर्ष पढ्दा पड्ढै छुटेको पढाई कक्षा ७ बाट नै सुरु भयो।

यो ४ वर्ष अगाडिको कुरा हो।

चैत १० बिहान ७ः ३० बजे

विजय मेरोरियल स्कूलको प्रांगणमा एसईई परीक्षा दिने विद्यार्थीको घुइँचो थियो। स्केल, पेन्सिल, पेन बोकेर विद्यार्थीहरु परीक्षा दिन तयार भएर आएका थिए, उत्साहित थिए। केहीको निधारमा रातो टीका थियो।

त्यहाँ अर्को खालको माहोल पनि थियो। धेरै क्यामराहरु विद्यालयको गेटमा तेर्सिएको थियो। हरेक वर्ष एसईई सुरु हुँदा पत्रकारहरु विद्यालय पुग्नु नौलो कुरा होइन । तर लाग्थ्यो उपत्यकाका सबै पत्रकार, क्यामराहरु विजय मेमोरियल स्कूलमा थिए।

करिश्मा निलो रंगको कार गुडाउँदै विद्यालय भित्र पसिन्, उनी सबै क्यामराको फोकस पोइन्ट बनिन्।

२५ वर्ष क्यामराको अगाडि नाँचेको, हाँसेको, रोएको उनले सहज मान्न सकिननु। उनलाई क्यामराको अगाडि उभिन अफ्ठेरो भयो। यो भन्दा अगाडि प्रचारवाजी गरेको आरोप खेपिसकेकोले पनि मिडियासँग कुरा मन थिएन। तर पब्लिक फिगर भएपछि बेवास्ता गर्न मिल्दैन । उनको हरेक दिन दुईवटा परीक्षा जस्तो भयो, परिक्षाहलमा लिखित बाहिर मौखिक।

सबैलाई आफ्नो प्रवेशपत्र देखाएर उनी परीक्षा दिन पुगिन्। सकेर बाहिर निस्कँदा हरेक दिन मिडियासँग अन्तक्रिया हुन्थ्यो। ‘मलाई के बोल्ने होला जस्तो लाग्थ्यो।’ करिश्माले भनिन्, ‘विजय मेमोरियल स्कूलको सरलाई मैले पछाडिको बाटो छैन ? नत्र भाग्नुपर्‍यो भनेर सोधेको पनि थिए।’

कक्षा ८ को परिक्षा सेन्टर ग्यालेक्सि पब्लिक स्कूलबाट उनले दिएकी हुन्। त्यतिबेला धेरैलाई उनले स्कूल पढिरहेको भन्ने बारेमा थाहा थिएन। तर एस ई ई मा यस्तो भएन। दिनहुँ परिक्षापछि इन्टरभ्यू गर्दै परिक्षा सकियो।

परीक्षा पछि फेरिएको जीवनशैली


४ वर्ष विद्यालय जान थालेपछि उनले बल्ल आफूलाई आनन्दले समय दिन भ्याएकी छन्। कोठामा खाली बस्दा पनि मेकअप ब्रस समात्ने उनले आफ्नो ज्यानलाई ख्याल गर्न भ्याएकी नै थिइनन्। अब उनलाई समय मिलेको छ।

चलचित्र जात्रै जात्राको ‘एक एक जोडे दुई, आखिर कुरा उही’ भन्ने गीतमा उनले नाचिन्। ‘मलाई अफर आयो, रिफ्रेसमेन्ट हुन्छ जस्तो लाग्यो।’ त्यसैले उनले सुटिङ गरिन्, उनलाई दुई दिन भनिएको थियो। काम गर्दा तीन दिन लाग्यो।

यसपछाडि पनि केही गर्ने योजना छ।

उनको सहयोगी हुन् बसन्ती। करिश्माको स्कूल सकिएपछि उनलाई पनि सजिलो भएको छ। भदौमा देशसञ्चारसँग करिश्मालाई बिहानै खाना तयार गरिदिनुपर्छ भन्ने बसन्ती अहिले खाना खाने समय ११ बजे भएको बताउछिन्। उनलाई पनि सुबिस्ता भएको छ।

करिश्माको कोठा पनि पहिलेभन्दा परिवर्तन भएको छ। पहिला टेबलमा किताबकापी छरिएका हुन्थे, सोफामा किताब हुन्थे, भुईमा किताब हुन्थे। अहिले त्यहाँ मेकअपका सामान छन्। उनले बिहान बेलुका खाने भुटेको गहुँ मकैको बट्टा छन्।

अभिनेत्रीसँग राजनीतिसँग आबद्ध भएकी करिश्माले विद्यालयको यात्रा तय गरेको खबर अचम्म लाग्दो थियो। अविश्वासिलो पनि। करिश्माका श्रीमान् बिनोदले करिश्मालाई आफ्नो मनमा लागेको काम गर्न कहिले पनि रोकेनन्। रहर पूरा गर्नुपर्छ भन्ने मान्यता राख्छन्।

करिश्माको विद्यालय जाने कुरा भने ‘गफै हो’ जस्तो लागेको थियो। केही न केही गरिराख्नुपर्ने करिशा विद्यालयमा ८ घण्टा बच्चासँगै पढेर बस्न सक्दिनन। तर अहिले भन्छन्, ‘करिश्माले गरेर देखाइदियो, मलाई एकदमै खुसी लागेको छ।’ बिनोदलाई राम्ररी थाहा छ, ‘पढ्न कहिले पनि ढिलो हुँदैन।’

गोविन्द राई सुनको चावी


आफ्नो विद्यालयको यात्रामा साथी गोबिन्द राई उनको लागि सारथी बनिदिए। महाभारतमा अर्जुको सारथी कृष्ण जस्तै। करिश्मा एसईईसम्मको पढाईलाई खजाना भन्छिन्।

अनि गोविन्द राई सुनको चावी। गोविन्द करिश्माको आत्मिय छन्। परीक्षाको पहिलो दिन परीक्षा केन्द्रमा उनी पनि पुगेका थिए। गोबिन्दको यस्तै सहयोगी बानीले गर्दा नै करिश्मा उनको तरिफ गर्न कहिले पनि छुटाउदिनन्।

यो सँगै उनी गुरुहरु वाङ्देन लामा र सुप्रिया म्यामसँग आभार छिन्। ‘जीवनमा दुई पात्रले निस्वार्थ माया दिन्छ, बाबुआमा अनि गुरु’ करिश्मा भन्छिन्, ‘उहाँहरुले रिटर्नमा केही आओस् भनेर कहिले पनि सिकाउनुहुन्न।’

बिनोद मानन्धर र परिवार सहयोगी भए। झण्डै असम्भव मानिएको कामलाई उनले सभ्व बनाइन्।

स्कूलको ह्याङओभर


सुरुसुरुमा विद्यालयमा एडजस्ट गर्न गारो, अब सामान्य जीवनमा फर्कन। घर व्यवहार हेरेर विद्यालयको पढाईमा एकाग्र हुन करिश्मालाई धेरै समय लागेको हो। अब लाग्यो उत्रने बेलामा समस्या भएको छ।


‘म त स्कूले बच्चा भएको रैछु। कक्षामा मेरो बेञ्च पार्टनर केटा थियो। म त कुरा गर्नुपर्‍यो भने पछाडि फर्कनुपर्ने।’ केटीसाथीहरु पछाडि बेञ्चमा बस्थे। केटीहरु गफ गर्न माहिर । बेलाबेलामा सरले हल्ला नगर पनि भन्थे। पढाई बाहेकको बाँकी समयमा करिश्मा केटीसाथीहरुसँग मेकअफ, घरका अरु कुरा पनि गर्थिन्। अहिले पनि फेसबुकमा उनीहरुको कुराकानी हुन्छ।

उनको बस्ने तरिका पनि परिवर्तन भएछ। ‘अस्ति कफिसपमा मैले आफूलाई हिरोइन भन्दा पनि विद्यार्थी जस्तो पाए। घरमा सोफामा बस्दा पनि म आफूलाई बेञ्चमा बसेको जस्तो मान्दो रहेछु।’ स्कूलको अन्तिम दिन, साथीहरुले उनको सर्टमा साइन गरिदिए, उनले पनि अरुको सर्टमा। त्यो सर्ट उनले दराजमा राखेकी छन्।

माथिल्लो छतको सिसाको घरमा उनको किताबहरु र्‍याकमा बसेका छन्। कक्षा १० को सबै प्रश्नपत्र समेटेर राखेकी छन्। भन्छिन्, ‘माया लाग्दौ रैछ।’

हुन त पढाई समुन्द्रको पानी जस्तै हो।

तर केही तहगत शिक्षाका लागि विद्यालय अनि विश्वविद्यालयको यात्रा हामीले गर्न नै पर्ने हुन्छ। यी हाम्रा लागि खुड्किला हुन्। करिश्माको स्कूलको टुटेको यात्रा गाठो नपर्ने गरेर उनले फेरी सुरु गरिन् अहिले एक ठाउँमा आइपुगेको छ।

अब अगाडि बढ्ला नबढ्ला त्यो समयले नै बताउला। अहिलेलेलाई भने उनलाई अगाडिको जीवनसँगै नयाँ वर्षको शुभकामना।

तस्बिर तथा भिडियो : रवीन आचार्य/देश सञ्चार

यो पनि हेर्नुहोस् ..

 

बैशाख १, २०७६ मा प्रकाशित