पोष्टकार्डमा सायरी लेखेर शुभकामना पठाउनुको मज्जा अहिले कहाँ छ र !

नयाँ वर्ष २०७६ सुरु भएको छ । साथीभाइहरुले एसएमएस, फोन र सामाजिक सञ्जालबाट शुभकामनाका सन्देश दिइरहेका छन्। म्यासेन्जरमा कसैले गीतबाट शुभकामना दिइरहेका छन् भने कसैले शुभकामनाका तस्बिरहरु पठाएर।

हो, म पनि सामाजिक सञ्जालको प्रयोग गर्छु र यसैबाट शुभकामना पनि दिन्छु। तर यसरी सामाजिक सञ्जालबाट शुभकामना दिँदा कता-कता आत्मीयतासँग नजोडिएको महसुस हुन्छ। विगतमा पोष्टकार्डमा सायरीहरु लेखेर साथीहरुलाई शुभकामना दिँदाको मज्जा अहिले कहाँ छ र?

प्रविधिले छलाङ मारेका बेला विस्तारै धेरै कुराहरु परिवर्तन भएका छन्। साथी परिवर्तन, समय परिवर्तन तर परिवर्तन भएका छैनन् ती यादहरु जुन हामीले बिताएका छाैँ, आफ्ना साथीभाइहरुसँग।

नयाँ वर्षको रौनक चहिरहँदा मेरो मनमा ती पूराना दिनहरुको सम्झना ताजा बनेर आएका छन् । जतिबेला हामी एक महिना अगाडिदेखि नै साथीहरुबीच नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गथ्र्याैँ पोष्टकार्ड मार्फत।

सात कक्षामा पढ्ने बेलाको कुरा हो। घरबाट कहिलेकाहिँ मात्रै स्कूल जाँदा टिफिन खान पैसा दिइन्थ्यो । टिफिनका लागि दिइएको पैसा जोगाएर हामी पोष्टकार्ड किन्थ्यौँ । तर त्यतीले मात्रै पुग्दैन थियो। त्यसपछि ममीसँग दिनभरी झगडा गरेर पैसा मागिन्थ्यो । मम्मीले दिएको पैसाले हामी विभिन्न किसिमका पोष्टकार्डहरु किन्थ्यौँ।

नेपाल तथा भारतका कलाकारहरुको तस्बिर अंकित पोष्टकार्डहरु एक रुपैयाँमा पाइन्थ्यो। उक्त पोष्टकार्डको पछाडि विभिन्न सायरीहरु लेखेर साथीहरुलाई पठाउँदाको आनन्द अहिलका शुभकामनामा कम पाइने गरेको छ।

‘चङ्गा जति टाढा भए पनि धागो हातमा रहिरहन्छ, साथी जति टाढा भए पनि माया रहीरहन्छ।’

‘वान गिलास वाटर, टु गिलास वियर, ओ माइ डियर, ह्याप्पी न्यू इयर’, यस्तै यस्तै सायरीहरु शुभकामनामा लेखिन्थे।

त्यसपछि पोष्टरलाई कागजको खाम बनाएर, खाममा हालेर दिने चलन थियो। कागजको खाम बाहिर फूलका चित्रहरु कलर गरेर बनाउथ्यौँ। हामी केटा साथीलाई नायकको तस्बिर तथा केटी साथीलाई नायिकाको तस्बिर अंकित पोष्टकार्ड पठाउने चलन थियो।

नायिकाले छोटो लुगा लगाएको तस्बिर शुभकामनाका लागि पठाए झगडा पनि हुन्थ्यो । एक पटक मेरै साथी मीनासँग पनि यही कुरामा झगडा भयो । मीनाले मलाई नायिकाले छोटो लुगा लगाएको पोष्टकार्ड नयाँ वर्षको उपहार स्वरुप पठाएकी थिई।

त्यो पोष्टकार्ड मैले उसलाई फिर्ता पठाईदिएको कुरा अहिले सम्झदा कता कता लाज लागेको महसुस हुन्छ।तर यहि कुराले त्यो रमाइलो फेरि एक पटक पुनर्ताजगी हुन्छ।

अहिले जमाना फेरिएको छ । जीवनशैली फेरिएको छ । शुभकामना दिने तरिका पनि फेरिएको छ । तर नयाँ वर्षको शुभकामना त मैले विगतमा तीनै पोष्टकार्डहरुमा नैै पाउँछु।

बैशाख १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्