नेपालकै कान्छी उपमेयर शिवकुमारीको संघर्ष र सफलता

‘जमिनदारको उखु नकाटेको भए त्यतिबेलै मेरा सारा सपना तुहिन्थे !’

‘जमिनदारको उखु नकाटेको भए त्यतिबेलै मेरा सारा सपना तुहिन्थे !’

नेपालको समथर भूमि तराई/मधेस, जहाँ महिलाको सवालमा लैंगिक असमानता, विभेद र कुरीतिले जेलिएको सामाजिक परिवेशले दिनप्रतिदिन महिलाको प्रगति पथमा आक्रमण गरिरहेको छ।

तर त्यही सामाजिक विभेदलाई जितेर नेतृत्व तहमा भने थोरै महिलाले आफ्नो पाइला चाल्न सफल भएका छन्।  समस्या, विभेद र चुनौतीलाई नजिकबाट स्विकार्दै आफूलाई छोटो समयमै उमेर, समुदाय, भूगोलको प्रनिधित्व गर्न सक्षम भएका छन् खासगरी स्थानीय सरकारका काम कारबाहीलाई लिएर।

देशलाई समृद्धिको बाटोमा डोर्‍याउने सरकारको लक्ष्यलाई पछ्याउँदै राष्ट्रिय विकास परिषद्को बैठकमा पञ्‍च वर्षीय योजनाको आधारपत्र निर्माणका लागि सुझाव संकलन हुँदा महिला नेतृत्वले एजेण्डासहित आफ्ना मागहरु प्रस्तुत गरिरहँदा सबैको ध्यान तानियो। उनी थिइन्, कपिलवस्तु शिवराज नगरपालिका १ की उपमेयर शिवकुमारी चौधरी।

‘लोकतन्त्र र सुशासन’ शिर्षकमा लिखित सुझाव दिन सात सदस्यीय एक समूहलाई निर्देशन आयो, बिचमा रहेकी शिवकुमारी चौधरीले सुरुमा ध्यान दिएर अरुलाई सुनिन् र प्रश्न तेसाईइन्,‘सबै सुकुम्बासीको समस्या समधान हुनु पर्छ की पर्दैन? उनीहरु पनि यो देशका नागरिक हुन हैन ? अनि सुझाव दिइन्,’ सरकारले छिटोभन्दा छिटो लालपूर्जा व्यवस्था गर्ने गरी योजना बनाउनु पर्छ।’ उनको त्यो सुझावले समूहका सबैको ध्यान तान्यो।

उनले  दुई दिनसम्म उच्चतहका सरकारी कर्मचारीको राष्ट्रिय विकासका एजेण्डा र योजनाबारे बहस सुनेपछि त्यस्तो माग गरिन्। त्यसको ८ दिन अघि अर्थात चैत्र ११ गते मात्रै उनलाई सरकारले उक्त परिषद्को सदस्यमा नियुक्त गरेको थियो। पहिलो पटक परिषद् बैठकमा सामेल भएकी चौधरीले निकै मेहनत र अध्ययनपछि राजधानी छिरेकी थिइन्।

उपमेयरको उम्मेदावारी दिँदा नै लोकप्रियता बटुलेकी चौधरीले उपयमेरको हैसियतमा काम गर्न थालेपछि त्यसमा उचाई त थपियो नै। साथमा काम गर्ने शैली र मेहनत, सहास अरुलाईका लागि उदाहरणीय बनेको छ।

यसो त स्थानीय तहको नेतृत्वमा उनी जस्ता अन्य थुर्पै महिला छन् । तर चौधरीको चर्चा भिन्नरुपमा हुँदै आएको छ। मुलुककै कान्छी उपमेयर चौधरीले राजनीतिमा होमिने योजना बने प्लस् टु सक्दा समेत बनाएकी थिइनन्। तर परिस्थित अनुसार जे काममा हात हाल्थिन् त्यसमा सफलता प्राप्तीको चाहना भरिन्थ्यो उनमा।

स्कुलका लागि जमिनदारको उखु काट्दा..


भनिन्छ, जहा इच्छा त्यहा उपाय अरथात राम्रो काम गर्न इच्छा भए उपाय कति कति। चौधरीले पनि आफ्नो पढ्ने इच्छा पूरा गर्न जमिनदारको बारीमा भारीका भारी उखु काटिन् कलिला हातले।

थारु, मुस्लिम, दलित समुदायको बाहुल्यता रहेको शिवराज गाउँमा उनको परिवार उनी सँधै स्कुल गएको हेर्न त चाहन्थ्यो तर आर्थिक अभावले पाँच कक्षा पास गरेपछि उनको पढाईको बाटो रोकिने त्रास भयो।

२०५० सालमा जन्मिएकी उनले ती दिन सम्झिन जति बेला उनी पसिना चुहाउँदै कसैको बारी उखु काट्थिन्,’ आमाबुवा मलाई पढाउन चाहानुहुन्थ्यो तर घरको कमाईले पुगेन। स्कुल जान नपाउने जस्तो भयो मलाई रुन मात्रै आयो। विदाका बेला थियो। दाईलाई सँधै जमिनदारको बारीमा उख काट्न गएको देख्थे। म पनि उहाँकै पछिपछि लाँग्थे र नाम लेखाउने, कापि किन्ने र ड्रेसका लागि पैसा जुटाउँथे। पढाईका लागि जमिदारको उखु नकाटेको भए मेरा सबै सपना त्यति बेला तुहिन्थे।’

विकास भन्दा धेरै पर, अन्धविश्वास र कुरितीयुक्त समाजमा हुर्केकी उनी त्यसप्रति सचेत भइन् कलिलैमा, कारण थियो शिक्षा। परिवारको राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेसको थियो तर उनलाई प्लस् टु सक्दा समेत त्यसले छोएन।

हक्की स्वाभवकी उनलाई लाग्थ्यो इमान्दार हुनुपर्छ तर अमानवीय व्यवहार सहनु हुँदैन। रेडियो सुन्ने उनको उनलाई रेडियोकर्मी बनायो । एसएलसीपछि उद्घोषकको तालिम लिने मौका पाएकी थिइन् उनले। लगत्तै उनले रेडियोमा कार्यक्रम पनि चलाउन थालिन्, तर त्यसलाई उनले लामो समय निरन्तरता दिन सकिनन्।

श्रीमतीलाई पढाउन श्रीमान् कतार हानिदा


मिडियाकर्मी बन्ने सपना बुन्दै गरेकी चौधरीले अचानक विवाह गर्नु पर्‍यो, १७ वर्षमा।। परिवारको प्रस्ताव अस्वीकार गर्न सकिनन् उनले। कारण उही थियो कमजोर आर्थिक अवस्था र सामाजिक मुल्यमान्यता। विवाहले आफ्नो अध्ययन र काम गर्ने योजना विफल हुने चिन्तामा थिइन् उनी। तर उनको श्रीमानले बुझिदिए उनको मन।

चौधरीको पढाई र घर खर्च जुटाउन विवाह लगत्तै कतार हानिए उनी। श्रीमान आफ्ना लागि विदेशिदा उनलाई खुसी पनि लाग्यो र दुख पनि। आफुले घरका वृद्ध सासुससुराका लागि सबैरै खाना बनाएर क्याम्पस जान थालिन् उनी।

आफ्ना श्रीमान्‌सँग शिवकुमारी चौधरी

‘मलाई जसरी पनि पढ्नु थियो तर सासुससुरालाई भोकै राख्न सक्दिन थिएँ । पाँचै बजे उठेर खाना बनाउँथे अनि क्याम्पस दौढिन्थे। पहिलो घण्टी प्राय छुट्थ्यो,‘उनले सम्झिन्। घर र क्याम्पस गर्दा गर्दै उनलाई भ्याई नभ्याई हुन्थ्यो। त्यतिमा उनलाई सीमित मन लागेन उनलाई। गाउँकै स्कुलमा पढाउने प्रस्ताव गरिन् र अवसर पनि पाइहालिन्।
सासुससुराको प्रेरणाले राजनीतिमा

शिक्षणले उनलाई निखार्दै थियो। प्रायलाई क्याम्पस पढ्ने बेला राजनीतिले छुन्छ। विभेदविरुद्ध उत्रिसकेकी उनलाई राजनीति गर्न सुझाव आयो साथीहरुबाट। ‘मैले राजनीति गर्ने कुनै योजना बनाएको थिइन। साथीहरुको प्रस्ताव बुवालाई सुनाए । उहाँले पहिले अध्ययन सक्नुपर्ने सुझाव दिनु भयो। अनि चुपचाप अध्ययनमै केन्द्रीत भएँ,’ उनले भनिन्।

शिवकुमारीले २०७० सालमा कांग्रेस पार्टीलाई भोट दिइन्, त्यो स्वाभाविक पनि बन्यो परिवारका कारण। तर आफ्नो गाउँको विकासमा कांग्रेसका जनप्रतिनिधिले प्रतिवद्धता जनाएअनुसार काम नगरेको उनलाई लाग्यो। जातियतालाई प्रतिनिधित्व गर्ने पार्टी थरुहटले पनि उनको मन छुन सकेको थिएन। जातियताको नाममा छुट्टाएको बजेट उनकै परिवारले पाएको थिएन।

तर विवाह गरेर आएको घरतिर भने तत्कालिन नेकपा एमालेको प्रभाव थियो। त्यही पार्टीमा पनि लाग्ने आँट गरेकी थिइनन् उनले । स्नातकोत्तर सकिनै लाग्दा आमा बन्नु प¥यो उनलाई, स्वाभाविक थियो अध्ययनमा अवरोध हुनु।

सामाजिक परिचालिकाको रुपमा एक वर्ष काम गरेकी उनको समुदायमा स्थानीय तहको चुनावको रौनक छायो, २० वर्षपछि।

चुनावका बेला उनलाई एकपछि अर्को राजनीतिक दलबाट प्रस्ताव आउन थाल्यो। त्यसमा अनौठो मानिनन् उनले, आफुमा केही संभावना देखेकाले नै प्रस्ताव आएको ठानिन् उनले।

अन्ततः सासु-ससुराको सल्लाहमा उनले एमाले रोजिन्। उपमेयरका लागि उम्मेदवारी दिँदा उनमा थोरै डर तर धेरै आत्मविश्वास थियो।

‘श्रीमान विदेश हुनुहुन्थ्यो । सासु-ससुराले तिमीले राजनीति गर्न सक्छौ घर हामी सम्हाल्छौँ भन्दै प्रेरित गर्नु भयो । ‘यति सम्मकी घरपरिवार मात्रै होइन तिमीले समाज पनि धान्न सक्छौ भन्नु भयो । म त दंग भएँ अनि राजनीतिमा सक्रिय भएँ,’ मुस्कुराउँदै उनले भनिन्।

घरको विश्वास जित्दा समाज बाधक


परिवारले उनलाई विश्वास गरेर राजनीतिमा धकल्यो। तर समाजले भने उनलाई पत्याउन गाह्रो मान्यो । त्यसका अवषेसहरु उपयमेर बनिसकेपछि पनि बाँकी छन्। उमेर उनको २३ वर्ष, राजनीतिकरुपमा स्वतन्त्र पृष्ठभूमि अनि महिला यस्तै कारण थिए उनलाई समाजले नपत्याउनुमा।

तर पार्टीले टिकट दिएपछिको अवसरलाई सर्तकताका साथ सदुपयोग गरिन् उनले। धमाधम मत माग्ने काम सँगै अध्ययन र छलफलमा भाग लिन थालिन् उनी। त्यसले उनलाई एकाएक लोकप्रिय समेत बनायो र उपमेयरको हैसियत प्राप्त गरिन्।

थारु पोशाकमा आफ्नी छोरीसँग शिवकुमारी

‘भोट जितेपछि पनि होच्याउन छोडेनन् कतिपयले, आलोचना पनि गरिरहे । तर मलाई त्यो सिकाई भयो । आफ्ना गल्तीकमजोरी पनि थाहा पाउँदै गएँ अनि सुधार पनि गर्न थालेँ,’ उनले निर्धक्क भनिन्।

इमान्दारिताबिहिन राजनीति हुन्न

नेकपाको सदस्य र शिवराज नगरपालिकाको उपमेयरका हैसियतमा उनले राजनीति बुझदै छिन् अझै पनि। तर विगत २ वर्षमा उनले सोचे भन्दा बढी उपलब्धी हाँसिल गरेकी छन् राजनीतिक जीवनमा । त्यसले उनको व्यक्तित्वमा पनि प्रभाव पार्दै लगेको छ अनि परिपक्कता पनि थपिँदै गएको छ।

उनले भनिन,‘उमेरका हिसावमा म अरु भन्दा साानै छु तर इमा बिनाको राजनीति हुँदैन भन्ने बुझाई मेरा लागि परिपक्क भइसक्यो। ‘म मेरो निर्णयमा ढगमगाउन्न कारण मसँग कुनै स्वार्थ छैन। झुटो आश्वासन दिन्न। हुलुका बन्दिन,’ उनले भनिन्।’

सामाजिक न्यायमा अब्बल


उपमेयरका रुपमा शिवकुमारीलाई काम गर्न अवसर र चुनौती दुवै थिए । राजनीति नेतृत्वको माथिल्लो तहसम्म पुग्ने ढोका खुलेको छ उनका लागि ।स्थानीय न्यायिक समितिकी अध्यक्ष उनको मुद्दामामिला मिलाउने र फैसला गर्दैमा उनको दिन सकिन्छ। न्यायिक समितिले १३ वटा मुद्दा फैसला गर्ने र ११ वटा मिलाउने अधिकार राख्छ।

‘कानुन पढ्नु पर्ने रहेछ आफुले शिक्षा पढियो अहिले कानुका किताब अघि राखेर घोत्लिएँ । अहिले सहज भएको छ,’ उनले बताइन्। कुलो, जग्गा, सीमानाका मुद्दा धेरै आउँछन् उनका टेवलमा। महिला हिंसा र बालविवाहविरुद्धका मुद्दाको चाप पनि बढ्दै छ। मुद्दामामिलामा दुवै पक्षलाई मिलाउने कामलाई कम आक्न सकिन्न। मिलाउन राजनीतिक दबाबको सामना पनि गर्नु पर्छ उनले । तर नियमको पालना उनलाई कर्तव्य लाग्छ।

राष्ट्रिय विकास परिषद् बैठकमा सामेल हुने क्रममा होटल सोल्टीमा शिवकुमारी

उनको अर्को जिम्मेवारी छ, नगरका योजना कार्यान्वयनको अनुगमनको नेतृत्व गर्ने। त्यो पनि कम चुनौतिपूर्ण छैन।
मुलुककै कान्छि मेयर शिवकुमारीले देशकै अब्बल राजनीतिकर्मी हुने सपना बुनेकी छन्। तर चुनौतिका खाडल छन् उनका अघि।

‘मैले जे मा हात हाल्छु त्यसैमा सपना बुन्छु। अचेल मेरो लागि आफ्नो राजनीति माहाेल बन्दै गएको छ। मलाई पनि कसरी राम्रो काम गरुँ भन्ने चिन्ता हुन्छ। तर कसरी मलाई तल झार्ने भन्नेहरु पनि बढ्दैछन् तर म ढगमगाउने छैन’, उनले भनिन्।

बैशाख १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्