‘नयाँ वर्ष २०७६’

मिथिलाञ्चलमा नयाँ वर्षको परिकार, ‘चनाको सातु र चिचिलाको आचार’

जनकपुरधाम – आज विक्रम संवत २०७६ को पहिलो दिन । नेपाल तथा विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एकअर्कामा शुभकामना साटासाट गरी नयाँ वर्ष मनाइरहेका छन् ।

सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात वैशाख संक्रान्ति भन्ने गरिन्छ । यस्तै, सफलता प्राप्त गर्न नयाँ वर्षको पहिलो दिन योजना निर्माण एवम सत्संकल्प गर्ने परम्परा समेत रहेको छ ।

यस्तै, मिथिलाञ्चलमा प्रत्येक वर्ष वैशाख १ गतेको दिन काँचो आप र सातु खाने परम्परा रहेको छ । मिथिलाञ्चलमा नयाँ वर्ष वैशाख १ गतेका दिन घरको कूल देवतालाई सातु र आँपको चिचिला (टिकुला) चढाएर खाने गरिन्छ ।

नयाँ वर्षको अवसरमा सातु, गुड(सख्खर) र आँपको आचार खानाले वर्षभरी स्वस्थ्य रह्ने जनविश्वास छ । आजको दिन तराई मधेश तथा मिथिलाञ्चालवासीले अनिवार्य रुपमा आँपको चिचिला र अँचार खाने गर्दछन् ।

आजको दिन घरमा सातु खान नसकेकाले बाहिर गएर भएपनि सातु खान्छन् । यसैक्रममा जनकपुरको ठाउँ–ठाउँमा आज चनाको सातुको बिक्री पनि बढेको देखिएको छ । त्यस्तै, वैशाख १ को दिन पानी भर्ने भाडे, सातु, र घैँटो दान गर्ने परम्परा रहेको छ ।

जुड शितल भोलि, २ दिन सार्वजनिक बिदा


वैशाखको दोस्रो दिन घरको ज्येष्ठ व्यक्ति तथा अग्रजको हातबाट टाउकोमा पानी छर्केर जुडशीतल मनाईने छ । श्रेष्ठको हातबाट टाउँकोमा पानी राख्नाले वर्षभरी नै शीतलता प्राप्त हुने विश्वास छ । जुडशितलमा वटवृक्ष, फलफुल र बाटोमा पनि पानी छ्याप्ने गरिन्छ । यसैक्रममा प्रदेश २ मा आज र भोली सोमबार दुई दिन सार्वजनिक बिदा रहेको छ ।

संघीय सरकारले नयाँ वर्ष वैशाख १ गते आज देशभरि सार्वजनिक विदा घोषणा गरेको बेला प्रदेश २ सरकारले जुडसीतलको समेत सार्वजनिक बिदा घोषणा गरेको छ ।

नयाँ वर्ष २०७६ को स्वागतसँगै वैशाख २ गते सोमबार हुने जुडसीतलको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरेको आन्तरिक मामिला तथा कानुमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।

बैशाख १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्