ऐतिहासिक सलहेश फूलबारीमा मालिनीको प्रेम प्रसँग

तिमीलाई भेट्न म फूल बनेर आउँछु..

भनिन्छ चोखो माया/प्रेम युग-युगान्तरसम्‍म रहन्छ र त्यसलाई न समाजले रोक्न सक्छ न त कुनै पहाडले छेक्न सक्छ। त्यो एक दिन अमर बनेर सबैको मनमुटुमा बस्छ। यस्तै प्रेमसँग यतिबेला सिरहाको ऐतिहासिक सलहेस फूलबारीमा वैशाख १ गते फुल्ने फूल हेर्न आउने जोकोहीले पनि आपसमा भलाकुसारी गरिरहेका छन्।

यतिमात्र होइन यहाँ मेला भर्न आउनेहरु अधिकांश प्रेम जोडी वा निसन्तानहरुले सन्तानको आशमा भाकल गरेर राजा सलहेशको फुलबारी अवलोकन गर्न आउँछन्।  विगतमा झै यस वर्ष पनि सिरहामा अवस्थित ९ बिगाहामा फैलिएको सलहेश फूलबारीमा हजारौको संख्यामा भक्तालुहरु उपस्थित भएका छन् आफ्नो मनोकामना लिएर।

१४औं शताब्दीका राजा सलहेसको सम्झनामा सलहेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप यहाँ प्रत्येक वैशाख १ गते परम्परागत मेला आयोजना हुन्छ।

लहान बजारदेखि चार किलोमिटर पश्चिम-दक्षिणमा ९ बिघा क्षेत्रफलमा फैलिएको छ–सलहेस फूलबारी। फूलबारीको मध्यभागमा हारमको रुखमा अन्य वर्ष जस्तै यो वर्षको अन्तिम दिन माला आकारमा फूल फुलेको छ।

आश्चर्य त के छ भने मेलाको भोलिपल्ट अर्थात् वैशाख २ गते दिन ढल्दै जाँदा विस्तारै फूल पनि ओइलिएर जान्छ। यही अनौठो फूल हेर्न पनि आज टाढा टाढाबाट श्रद्धालु आइपुगेका छन्।

फूलबारीमा राजा सलहेस र मालिनीको छुट्टा–छुट्टै गहबर (मन्दिर) छ।पूजारी नागेश्वर सिंह धामी भन्छन्, ‘मन्दिर पछाडि इनार र बालीगंगा नदी बग्ने गरेको छ। बालीगंगा नदी कहिल्यै सुक्दैन। आजको दिन यस नदीमा हजारौं श्रद्धालु स्नान गर्छन्।’

भाकल गर्छन् भक्तालु


पुजारी सिंहका अनुसार सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्‍ने गर्दथे।राजा सलहेसले मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने र सिलहट अखाडामा कुस्ती खेलेपछि कुलदेवीको पूजा गरी कञ्चनगढमा जनताको पीरमार्का सुन्ने गरेका थिए।

मेला भर्न आउनेहरु सलहेस गहबरमा पूजापाठ गरेर भाकल गर्दा मनोकामना पुरा हुने गरेको पूजारी सिंह बताउँछन् । उनी भन्छन्, ‘मनोकमना पुरा हुने गरेकै कारण टाढा टाढाबाट मानिसहरुले भाकल गर्न यहाँ आउँछन्। भारतका पटनाबाट पनि हजारौं महिला र पुरुष एक दिन अगावै आइपुग्छन् ।’ सलहेश गहबरमा पूजापाठ गर्दा निःसन्तान महिलाहरुले सन्तान समेत पाउने गरेको उनको भनाई छ ।

बाहुबलले जितेर राज्‍य बनाउने राजा


सिरहामा सलहेश गाथाको परिवेश ऐतिहासिक तथ्य माथि आधारित छन्। सलहेश कुनै काल्पनिक पात्र नभई आफ्नो क्षेत्रका लोक नायक मान्निथ्यो। उनी आफ्नो पराक्रम राष्ट्रप्रेमी र नेतृत्वशक्तिले गर्दा पुज्य भए। उनी अहिंसावादी थिए। उनी आफ्नो सवारी हात्तीमा गर्थे र जनताका पीरमार्कालाई नजिकबाट बुझ्ने गर्दथे।

उनी आफ्नो बाहुवल तथा बृद्धिले त्यस क्षेत्रका राजा भएका थिए। आफ्नाक्षेत्रका जनतालाई सुरक्षा दिएर अन्य शक्तिको आक्रमण विफल तुल्याइदिएका थिए । उनी सबैको समस्या बुझेर त्यसको समाधान गरिदिन्थे। त्यसकारण उनी सर्वसाधारणबीच लोकप्रिय भए। सलहेश गाथामा वर्णन गरिएको छ।

“सलहेश एकै दिनमा मानिकदहमा नुहाउंन गर्थे, लहानको फूलवारीमा फूल टिप्थे, सिलहट आखाडामा कुस्ती खेल्थे, आफ्नो जन्मथलो महिसोथामा कुल देवीको पुजा गथे, र त्यसपछि आफ्नो प्रजाको समस्या सुन्नका लागि कंचनगढ पुगि सबैको पिर मार्का सुन्थे। सलहेशगाथा वारेमा थारु भाषामा यसरी भनिएको छ।

‘खन खन रहै चिही,
बैलका पहाडमे खन रहै सरर वागमे,
मानिकदहमे, स्नान करैत चिही्
मागै छी त ह ही मलिनियाँ के खातिर
गठ पकरियामे मैयाके सुमीरै छ।

कुनै वेला बेलका पहाडतिर हुन्छ (यो पहाड हाल सप्तरीदेखि उत्तर उदयपुर जिल्ला जिल्लामा पर्ने बेलका वनमा पर्दछ।) कुनै वेला सरर फूलवारी तिर जान्छ मानिक दहमा नुहाउँछ र त्यसपछि पकरिया गढमा देवीको पूजा गर्दछ।तर यी मानिसहरु देखि भागिरहन्छ। यिनीहरु मलाई छाड्न तयार छैनन्।

सलहेश लोकगाथामा जति ठाउँको नाउँ आएको छ जस्तो महिसौथा पकरियागढ, कंचनगढ, तरेगना, मानिकदह, सलहेश फूलवारी, यी सबै ठाउँहरु सिरहा जिल्लामा अधावधि छन्। सिरहा जिल्लामा रहेका सल्हेश गाथासँग सम्बन्धित पूरातात्विक महत्वका स्थलहरु आज पनि ऐतिहासिक बनेर रहेको छ।

सलहेशसंग जोडिएको सिरहाको ऐतिहासिक महत्वका स्थलहरु


राज महिसौथा: सिरहा जिल्लाको अर्को पूरातत्विक स्थल महिसौथा हो। यो ठाउँ सिरहा बजारसँग टाँसिएको उत्तर गाउँमा पर्दछ। सिरहा वजारको केही भागपनि महिसोथा ७ मा पर्दछ। यो ठाउँ सल्हेश लोकगाथासँग सम्वन्धित रहेको जनविश्वास छ। माहिसौथा वस्तीको उत्तरपूर्व तर्फ ५०० फिटको गोलाईमा फैलिएको एउटा डिस्को छ। यसै डिस्कोसँगै एउटा ठूलो तलाउ पनि छ। करीव २ विघा ९ कठ्ठाको उक्त पोखरी हेर्दा धेरै पूरानो लाग्दछ।

पुरानो गढकै वाँकी भागमा एउटा मन्दिर छ। यस मन्दिरको अस्तित्व ५/६ सय वर्ष पुरानो देखिन्छ भनी स्थानीय वुढापाकाहरु भन्दछन् । मन्दिरभित्र करीव १० फीट अग्लो हातीमाथि हौठा बनाई सलहेशको मूर्ति छ । छेउमा मोती राम तथा बुद्येश्वर घोडामा सवार छन्। हात्तीको एकातिर दिना मालिनी फुलको डाली लिई उभिएकी छिन्।

स्थानीय सियाराम चौधरीका अनुसार त्यहाँ सय वर्ष अघि सलहेश नामक प्रतापी राजाले राज्य गर्दथे। त्यो स्थान उनले नै स्थापना गरेको हो भनिन्छ। यो पनि भनाइ छ कि सलहेशले आफ्नो बाहुवलले यो इलाका जितेर आफू राजा भएपछि यस स्थानमा आफ्नो राजधानी बनाए। उक्त स्थान गढको भाग्नावशेष हेर्दा ईटाको टुक्राहरु देखिन्छ। यो स्थान अवलोकन गर्नका लागि पूरातत्व विभागको टोली पनि आएको थियो तर आजसम्म यस प्राचिन ठाउँको उत्खनन नगरिएको गुनासो छ।

पकडियाग: यो ऐतिहासिक स्थान सिरहा जिल्लाको महत्वपूर्ण लहान वजार देखि ५ किलोमिटर उत्तर पहाड छेउमा पर्दछ । यस स्थानमा करीव १५०० फीटको गोलाईमा फैलिएको पूरातात्विक स्थल छ । यो ठाउँ प्राचिन समयमा कुनै राजाको गढ थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ।

स्थानीय जनविश्वास अनुसार पकडियाको पूरातात्विक स्थल राजा कुलेश्वरको दरवार थियो।त्यसकारण यदि त्यहा उत्तखनन् गराइयो भने राजाको गद्दी भेटाउन सकिन्छ। गढको वरिपरी इटाले वनेका पर्खालको भग्नावेष रहेको देखिन्छ। स्थानीयवासीका अनुसार केही वर्ष अगाडि त्यस क्षेत्रका १० इन्च लामो र दूइ इन्च मोटाइ भएको केही इटा भेटिएको थियो। गढतिरको छेउ छाउमा इटाका टुक्राहरु प्रशस्त भेटिन्छ।

हेर्दा अनुमान गर्न सकिन्छ कि यो ठाउँ कुनै पराक्रमी राजाको गढ हुनसक्छ । गढमा एउटा मन्दिर छ र पोखरीको पूर्व छेउमा एउटा मन्दिर छ । यसै मन्दिरमा राजा सलहेशको पनि उक्त मन्दिरमा भएको एउटा प्रतिमा स्थापित छ । राजा सलहेशको पनि उक्त मन्दिरमा घोडा चढेको मूर्ति छ । पकडिया गढमा राजा कुलेश्वरको घोडामा सवार भएको एउट प्रतिमा स्थापित छ । राजा सल्हेशको पनि उक्त मन्दिरमा घोडा चढेको मूर्ति छ । पकडिया गढमा राजा कुलेश्वरको पूजा हुन्छ ।

पतारी: सिरहा जिल्लामा लक्ष्मीपुर गाविस अन्तर्गत पर्ने पतारी पोखरी ऐतिहासिक महत्व भएको स्थल हो । भनिन्छ राजा कुलेश्वरका कान्छा भाइ हरिसिंह देवको यहाँ निवास स्थान थियो। हाल यस ठाउँमा हरिसिंह देवको दरवार छ। त्यतिवेला राजा रानीको प्रतिमा रहेको स्थानीय जनविश्वास छ। त्यो प्रतिमा जस्तो त लाग्दैन तर दुइटा कालो ढुङ्गाको पूजा अवश्य गरिन्छ । झट्ट हेर्दा उक्त ढुंगा पूरानो लाग्दछ। यस ठाउँको दरवारको अगाडि एउटा पुरानो पोखरी छ।

सलहेश फूलवारी मेला हेर्नेहरु पतारी पूगी त्यहाँ नुहाउँछन्, छोराछोरी नहुनेले सन्तानको माग गर्दछन्। नियमानुसार सन्तानको इच्छा गर्नेले पतारी पोखरीमा डुबुल्की मारेपछि जे भटिन्छ त्यो वस्तु लिई भिजेकै लुगा सहित भाग्नु पर्दछ। केही पर पुगेपछि लुगा फेरि घर फकिन्छन्। जन विश्वास रहेको छ कि उक्त पोखरीमा नुहाउनाले सन्तान प्राप्ति हुन्छ। यस ठाउँमा बैशाख २ गते मेला लाग्दछ। यस ठाउँको उत्खनन गराएको खण्डमा केही नयाँ कुरा सबैको सामू आउने छ।

मानिकदह: सिरहा जिल्लाको लोकगाथासँग सम्बन्धित अर्को ऐतिहासिक स्थल मानिक दह हो। यो ठाउँ ऐतिहासिक भएपनि यसलाई सांस्कृतिक थलोको रुपमा लिइन्छ। सिरहा जिल्लाको लहानदेखि १४ किलो मिटर उत्तर पश्चिम गोविन्दपुर गाविस अन्तर्गत पर्दछ। महिसौथाको सलहेश मन्दिरदेखि यो दह पूर्व दिशातिर पर्दछ। यस दहको ऐतिहासिक विषयमा कसैले चौदण्डीको सेनराजा मनिक सेनले बनाएका भन्छन् भने कसैले साविक देखि नै रहेको यो दह जीर्णोद्धार गरेको कुरा बताउँछन्।

नेपाल एकीकरण भन्दा अघि यो क्षेत्र सेनवंशी राजाको इलाका थियो। त्यही दहनिर कतै अम्वरपूर भन्ने ठाउँ थियो। जो पछि सप्तरीको सदरमुकाम कायम गरियो। चौदण्डीका सेनराजाहरु दिंग्दमा केहि महिना जाडो छल्नका लागि यस ठाउँमा समय विताउथे । हुनसक्छ मानिक दहको सुन्दरतावाट प्रभावित भएर सेन राजाहरुले दहको जीर्णोद्धार गरी त्यस ठाउँको नाम मानिक दह राखे ।

वर्तमान समयमा त्यस दहको ऐतिहासिकता भन्दा बढी धार्मिक महत्व छ, सिरहा जिल्लामा मान्यता के छ भने लोकनायक सलहेश प्रत्येक दिन मानिकदहमा स्नान गरेर लहान नजिक रहेको राजा फूलवारीमा फूल टिपी महिसौथा आई राजमाता र कमलाजीलाई पूजा गर्थे। यो दहदेखि कतै नजिकै एउटा सफा मण्डप थियो जहाँ राजा सल्हेश सभामा वसेर जनसाधारणको पिरमार्का सुनि समाधान गरि दिन्थे। सलहेश गाथामा यसवारे यसरी वर्णन गरिएको पाइन्छ।

सलहेश फूलवारीमा उत्खनन गर्ने वस्तु छैन। त्यो एउटा वन हो तर हरेक ऐतिहासिक पूर्व मध्यकाल समयको यो वनमा बैशाख १ गतेका दिन ठूलो मेला लाग्ने गर्दछ भारततिरका लाखौं शद्धालु मेला हेर्न आउँछन्। यस ठाउँलाई पर्यटक केन्द्र बनाउन सकिन्छ।

सल्हेश फूलवारीदेखि अलि पश्चिम उत्तर कुनामा रहेको एउटा चौलाई सिलहत अखाडा भनिन्छ । भनाइ छ सल्हेश आफ्नो भाइ मोतीराम आफ्ना सात सय पहलमानसँग यहाँ कुश्ती खेल्ने गर्थे । वर्तमान समयमा अखडा भन्ने ठाउँमा दूइटा मन्दिर वनेको देखिन्छ । अखाडाको पश्चिमतिर पूर्व मुख गर्ने गरी वनाइएको पहिलो मन्दिरमा छातीमा सवार सलहेशको मूर्ति स्थापित छ।

यस मूर्तिको देव्रे र दायाँतिर मालिनी रदोना र कुसमाको साना तर आर्कषक मुर्तिहरु छन्। यस अतिरिक्त आखाडाको पूर्वतिर पश्चिममुखि वनाइएको अर्को मन्दिर घोडामा सवार राजा कुलेश्वर र उनका भाइ हरिसिंह देवको मुर्ति स्थापित छ।

यो ठाउँलाई जिल्लाको सांस्कृतिक स्थलको रुपमा लिइन्छ। वैशाख १ गतेका दिन आखाडामा पनि मेला लाग्छ। भारतवाट हजारौं तीर्थयात्रीहरु मेला हेर्नका लागि आउँछन्। यस ठाउँलाई पनि पर्यटक स्थलको रुपमा विकसित गर्न सकिन्छ।

वैज्ञानिक आधार के?


ऐतिहासिक सलहेशको फुलबारीमा फुलेको फुलको बारेमा विभिन्न सञ्‍चार माध्‍यमामा समाचार आएपछि हिमालय बोटानिस्ट भन्ने वनस्पति शास्त्रका विद्यार्थीहरुले भने यसलाई Dendrobium aphyllum भन्ने लगभग किटानी गरेका छन्।

यो वनस्पती सुनाखरी परिवार (Orchidaceae) मा पर्छ। यो वनस्पतिलाई विलियम रोक्सवर्गले पहिलो पटक पहिचान गरी प्लान्ट्स अफ द कोष्ट अफ कोरोमाण्डल भन्ने पुस्तकमा सन् १७९५ मा प्रकाशित गरेका थिए।

रोक्सवर्गले कोरोमेन्डल कोष्टबाट यो वनस्पति संकलन भएको उल्लेख गरेका छन् जुन भूभाग भारतको दक्षिणपुर्व समुद्री तटमा बंगालको खाडी र पूर्वी घाट बीचमा पर्छ।

शुरुमा रोक्सवर्गले यसको नाम Limodorum aphyllum राखेका थिए तर पछि यसलाई वर्गसँग मिल्ने भएकोले यसको नाम राखे अर्का वनस्पतिशास्त्री फिस्चरले। यो वनस्पतिशास्त्रमा सामान्य प्रचलन हो।

यो वनस्पति प्रायः सुनाखरी परिवारका अन्य सदस्यहरु जस्तै अरु वनस्पतिहरुको सहारामा (Epiphyte) हुर्कन्छ। यो नेपाल बाहेक भुटान, वर्मा, चीन, थाइल्याण्ड, लाउस, कम्वोडिया, भियतनाम र मलेसियामा पाइन्छ। सामान्यतया १०० मिटरदेखि १६०० मिटरसम्मको उष्ण भूभागमा यसलाई पाइएको छ। यसलाई कतिपय ठाउँमा हरितगृहभित्र खेती पनि गरिएको छ।

यसको फूल आर्कषक हुने भएकोले सजावटको लागि प्रयोग गरिन्छ। सुनाखरी परिवारको सम्पूर्ण वनस्पतिहरुलाई साइटिस सन्धिको अनुसूचिमा र यसलाई अनुसूचि दुईमा राखिएकोले यसको व्यापार गर्न पाइँदैन। यो वैशाख १ मा मात्र होइन वैशाखदेखि मध्य जेठसम्ममा फुल्दछ।

(सिरहाबाट समाद एफएमका सञ्‍चालक सियाराम चौधरीको सहयोगमा)