नयाँ वर्षमा प्रधानमन्त्रीको अभिव्यक्ति

भावुकता धेरै, यथार्थ लुकाउने प्रयास

भावुकता धेरै, यथार्थ लुकाउने प्रयास

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आफु नेतृत्वको सरकार विगत एक वर्षमा अपेक्षित उपलब्धी हाँसिल गर्न सफल भएको निष्कर्षमा पुगेका छन्।

नयाँ वर्ष २०७६ सालको शुभकामना सन्देश दिने क्रममा आइतबार बिहान बालुवाटारमा विशेष कार्यक्रम आयोजना गरी प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिमा मुलुकको विकासका लागि समग्र काम सुरु भएको र कुनै पनि काम अपुरो नरहेको आशय झल्किन्छ, अनि भावुकता धेरै, यथार्थ लुकाउने प्रयास गरेको पनि देखिन्छ।

अराजक समाज निर्माणमा भूमिका खेलेका मुद्दाभित्र प्रधानमन्त्री ओली पुग्न चाहेनन्। उनले सत्ता सम्हालेको करिव पाँच महिनापछि निर्मला हत्याकाण्डले गिज्जाइरहेको छ । यस्तै संक्रमणकालिन न्याय, सुनकाण्ड लगायत विषयमा उनी गएनन्।

बरु सहज नभएकाले भ्रष्टाचार नियन्त्रणमा समय लाग्ने भन्दै उनी पन्छिएको देखिन्छ उनको अभिव्यक्ति केलाउँदा।

जवकी उनले प्रधानमन्त्रीको हैसियतमा २०७४ साल चैत्र तीन गते सपथ खाएको पहिलो दिन नै भ्रष्टाचारमा शुन्य शहनसिलता नीति अपनाएको र भ्रष्टाचार गर्ने जो कोहीलाई नछोड्ने प्रतिवद्धता जाहेर गरेका थिए।

यस्तै आफु नेतृत्वको सरकारले विकासका लागि ढोका खोलिसकेको र यो एक वर्षमा के नै भयो र ? भन्ने प्रश्न तेर्साउनेलाई उनले प्रश्न गर्ने तरिका नै बदल्न आग्रह गरेका छन्।

प्राथमिक शिक्षामा नेपाल अघि

प्रधानमन्त्रीको हैसियत प्राप्त गरेको २९ दिनपछि रारा पुगेर विद्यालय भर्ना अभियानको सुरुवात गरेका ओलीले संयुक्त राष्ट्रसंघीय वालकोष (युनिसेफ)ले हालै प्रकाशित प्रतिवेदन– ‘अ वल्र्ड रेडी टु लर्न’ मा पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्ना दर ८६ प्रतिशत रहेको देखाउनुले प्राथमिक शिक्षामा नेपाल अगाडी भएको उल्लेख गर्नु नेपालका लागि उपलब्धीपूर्ण ठानेका छन्।

आश्वासन बढी, प्रतिवद्धता र सम्झौता कम भई हालै सम्पन्न भएको लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीले निकै ठूलो भरोसा गरेको देखिन्छ। सम्मेलनमा सामेल भएकाहरुले नेपाललाई (राइजिङग स्टार) भन्नुलाई नेपालको प्रगति ठानेका छन् उनले।

मुलुकको संक्रमणकालिन न्याय जीर्ण बन्दै गएको छ। तर प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया र प्रतिश्पर्धामा आधारित सहभागिता मुलक शासन पद्दतीलाई विश्व समुदायले प्रेरणादायी मान्नुलाई पनि प्रधानमन्त्री ओलीले गर्व गर्नु पर्ने ठाँउ देखेका छन्।

‘संघीयता कार्यान्वयनमा चुनौति’

संघीयता कार्यान्वयन मुलुकका लागि फलामको चिउरा चपाय सरह भएको छ। कानुन निर्माण, भौतिकपूर्वाधारको व्यस्थापन र कर्मचारी समायोजनको झमेलाले विकासका योजनमा पर्याप्त ध्यान दिन सकेका छैनन् प्रदेश र स्थानीय तहले।

प्रधानमन्त्री ओलीले अमूर्तढंगमा संघीयता कार्यन्वयनमा चुनौति भएको स्वीकारेका छन् तर यो विलकुल नयाँ अभ्यास भएको तल्लो तहका सरकारले व्यवहारबाट सिक्दै कमिकमजोरी चिर्दै अघि बढेको भन्दै त्यसको बचाउ पनि गरेका छन्।

उनले मुलुकको शासन व्यवस्थाको मामिलामा भावुक अभिव्यक्ति दिएका छन्। उनले भनेका छन्, ‘हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र जगैबाट उठ्दैछ, आफ्नै भूमिमा उम्रिएको यो टुसा हुर्किंदै छ।’

त्यसक्रममा उनले मुलुकमा उपलब्ध स्रोत साधनले मात्रै विकासका आंकाक्षा सभव नभएको र विदेशी मित्रहरुको सहयोगको खोजी गरेको बताएका छन्।

प्रश्न गर्ने तरिका परिवर्तन गर्नुहोस्

प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकारले गरेका गतिविधिलाई नकारात्मक ढंगबाट मात्रै हेरेर प्रश्न तेर्साइएको भन्दै दुःख मनाउ समेत गरेका छन् । उनले भनेका छन्,’ सरकारलाई यसरी प्रश्न गरौं– यो वर्ष के के भए ? कति कानुन बने? कति संशोधन भए? कति किलोमिटर बाटो कालोपत्रे भयो ? कतिवटा पक्की पुल निर्माण गरियो ? तुइन विस्थापन गरी पुल बनाउँदा के फाइदा भयो ? पूर्व-पश्चिम रेलमार्गको डीपीआर त तयार भएछ, लिग बिछ्याउने काम चाँहि कहिलेबाट शुरु हुन्छ ? पानीजहाज कार्यालय खुलेछ, सतह–जल यातायात कहिले र कहाँबाट चल्छ?’

प्रधानमन्त्री ओलीले हेलिकप्टोर दुर्घटनामा परी फागुन १४ गते दिंवगत भएका संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले सक्रियता देखाएपनि हुन नसकेका कामबारे पनि चासो देखाएका छन्। उनले यस्ता प्रश्न गर्न आग्रह गरेका छन्,‘ पहिले नचलेका कतिवटा विमानस्थल अहिले सञ्चलनमा आए? नेपाल भ्रमण वर्ष मनाईंदैछ, नेपालसँग अहिले आफ्नै हवाइजहाज कतिवटा छन् ?

निकै तामझामका साथ सुरु गर्दा आलोचनाको सिकार बनेको सरकारको सामाजिक कार्यक्रमलाई पनि आफ्नो अभिव्यक्तिमा समेटेका छन्। उनले पछिल्लो समय सुरु गरेका जेष्ठ–नागरिक स्वास्थ्य बीमा कार्यक्रम, खोलौं बैंक खाता कार्यक्रम, काम र रोजगारीको अभियान, काम र रोजगारीको अभियान, ‘नेपालको पानी, जनताको लगानी’ जस्ता कार्यक्रम प्रश्न गर्नु पर्ने र त्यसबारे सरकार तथ्याङ्क उपलब्ध गराउन तयार रहेको समेत बताएका छन्।

ओली नेतृत्वको सरकारले सुरुवातदेखिनै आफ्ना कारण नेपालको बैदेशिक सम्बन्धमा सुधार भएको दावी गर्दै आएको छ। प्रधानमन्त्री ओलीले भनेका छन्,’ छिमेकी मित्रराष्ट्रका साथै संयुक्त राष्ट्रसंघको महासभा र विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा भएको हाम्रो सहभागिताले मुलुकले के के लाभ पाएको छ ?भनेर सोधौँ? ’

भ्रष्टचार नियन्त्रणले लामै समय लिन्छ

प्रधानमन्त्री ओलीले आफुले सुरुवात देखिनै भ्रष्टचार नियन्त्रणमा जुट्ने बताएको र त्यसअनुसार काम पनि गरेको दावी गरेका छन्।

उनले सुशासनको संयमन्त्रै रहेर अवाञ्चित कार्य गर्नेलाई आफ्नो सरकारले मात्रै अनुसन्धानको दायरामा ल्याउन सफल भएको र दोषीले कारवाही समेत भोगिरहेको बताए। घरजग्गा कारोवारी, संगठित तस्करी, भन्सार÷अध्यागमन वा हुण्डी कारोबार तथा

विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरण लगायतमा छानबिन जारी रहनु पनि प्रधानमन्त्री ओलीको नजरमा प्रगति भएको छ।

तर उनले भनेका छन्,‘ भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिवद्ध छु ।’

प्रधानमन्त्री ओलीले पृथकतावादी अभिायनमा संलग्न सीके राउतको समूहलाई राष्ट्रिय मुलधारमा ल्याउनु विगत एक वर्षका महत्वपूर्ण उपलब्धी ठानेको बताएका छन्।

संगठित अपराधमा संलग्न भएको भन्दै ‘बिप्लव समूह’लाई फागुन २८ गतेप्रतिबन्ध लगाएको प्रधानमन्त्री ओलीले त्यस कार्यलाई पनि आफ्नो उपलब्धीको सूचीमा राखेका छन्।

७७ मध्ये २९ जिल्लाको भ्रमण

प्रधानमन्त्री ओलील मुलुकलाई ‘अति कम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्नै पर्ने सन् २०३० मा तोकिएको दीगो विकास लक्ष्य भेट्टाउनै बताएका छन्।

उनले भनेका छन्, ‘जे गर्नुछ, हामीले यही एक दशकभित्र सम्पन्न गरिसक्नु पर्छ । आउँदो १०/११ वर्षपछि आजको युवा जनसंख्या बुढ्यौलीतिर ढल्कनेछ र हाम्रो विकासको जनसाङ्खिक लाभ सकिनेछ ।’

जनतासँग संवाद गर्न उनले एक वर्षमा ३ सय १४ वटा विभिन्न कार्यक्रममा सहभागि भएको बताएका छन् । यस्तै जनता सम्वाद गर्न ७७ मध्य २९ जिल्लाको भ्रमण गरेको दाबी उनको छ ।

तर त्यसमध्यका प्राय कार्यक्रममा उनले हेलिकप्टोरमार्फत पुगेर एकोहोरो भाषण गरेर फर्केको उढेको यथार्थत लुकाएका छन्।

बैशाख १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू