ढलान गरेर नसकिँदै भत्कियो तीन करोडको पुल, पाँच जना घाइते

बुटवल – गुल्मीको बडिगाढ खोलाको पक्की पुल भत्किँदा पाँच जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नं ३ र वडा नं ७ जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो ।

पुल भत्किएपछि च्यापिएर निर्माण व्यवसायी कृषिराम इटानी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतले बताए । त्यस्तै मुसिकोट नगरपालिका ३ का २३ वर्षका राम बहादुर कुमाल, ३३ वर्षका गणेश कुमाल, वडा नं ४ का ५१ वर्षका रुद्र बहादुर कार्की र बाग्लुङ्गको बडिगाढ गाउँपालिका ७ का जेसिवी चालक तुल बहादुर राना घाइते भएका छन् ।

वाइटी जय बुद्ध कन्ट्रक्सनले निर्माण गर्दै गरेको ५५ मिटर लामो पुल बडिगाढ खोलामा आएको बाढीले भत्काएको मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले जानकारी दिए । सो पुल ढलान गरेको दुई दिनपछि भत्किएको हो । ५५ मिटर लामो पुल बिचमा पिल्लर नराखी बन्दै गरेको थियो ।

मुसिकोट नगरपालिकाकी उप प्रमुख कमला गौतमले बाढीका कारण पुल भत्केको नभई संरचना कमजोर भएका कारण भत्केको बताइन् । ‘पुल आइतबार दिउँसो ढलान गरेर सकिने बेलामा भत्केको हो, बाढी बेलुका ५ बजेतिर आएको हो, भत्केपछि आएको बाढीले पुलका सामग्री बगाएको हो’, उनले भनिन् ।

सो पुल ०७३ सालमा सम्झौता भएर गत वर्षदेखि निर्माणको काम भइरहेको प्रवक्ता काफ्लेले बताए । सो पुलको लागत तीन करोडभन्दा बढि छ ।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्