भिडियो उपकरणहरु उत्तर कोरिया पठाउन दक्षिणको तयारी

सियोल-सन् १९५० बाट १९५३ सम्म जारी कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच कुराकानी गराउन भिडियो उपकरण उत्तर कोरिया पठाउन परामर्श गरिने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले सोमबार जानकारी दिएको छ।

एकीकरण मन्त्रालयका उपप्रवक्ता लि युजेनले सियोलमा पत्रकारहरुसँग कुरा गर्दै दक्षिण कोरियाले भिडियो उपकरणहरु हालै खरिद गरिसकेको बताए।

ती उपकरण कहाँ र कसरी उपउब्ध गराउने भन्ने विषयमा उत्तर कोरियासँग छलफल हुने उपप्रवत्ता लिले बताए।

दक्षिण कोरियाले हालै मात्र देशका १३ स्थानमा राखिएका भिडियो उपकरणको मर्मत गर्न थालिएको र यस महिनाको अन्त्यसम्म सबै उपकरण प्रयोग गर्न मिल्ने बताएको छ।

गत सेप्टेम्बर महिनामा दक्षिण कोरियाली राष्ट्रपति मून जाय-इन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच भएको तेस्रो शिखर बैठकमा पुनर्मिलनका लागि भिडियो उपकरण जडान गर्ने विषयमा सहमति भएको थियो।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्