युवा विश्वकप क्रिकेट छनोटमा नेपालका पवनको लय, तीन खेल, दुई ‘प्लेयर अफ दी म्याच’

काठमाडौं- मलेसियामा जारी आईसिसी यू-१९ विश्वकप छनोटमा नेपालले तीन खेलमा दुई जित र एक हार ब्यहोरेको छ। नेपालले आफ्नो तेस्रो खेलमा सोमबार घरेलु टोली मलेसियालाई ८ विकेटले हरायो।

पहिलो खेलमा सिंगापुरलाई फराकिलो अन्तरले हराएको नेपाल दोस्रो खेलमा यूएईविरुद्ध डकवर्थ लुइस नियम आधारमा एक रनले स्तब्ध भएको थियो। नेपालले जितेका दुवै खेलमा अलराउन्डर पवन सर्राफ प्लेयर अफ दी म्याच घोषित भए।

उनले मलेसियाविरुद्ध १९ रन बनाए भने ८ ओभर ५ बलमा एक मेडन राखेर १३ रन खर्चँदै तीन विकेट लिए। उनले सिंगापुरविरुद्ध ६ ओभरमा पाँच मेडन राखेर पाँच रन खर्चँदै तीन विकेट हात पारेका थिए। त्यस खेलमा उनले ४७ रन जोडेका थिए।

पवनले यूएईविरुद्ध  १२ रन बनाएका थिए भने उनी बलिङमा आउनु अघि नै खेल वर्षाले प्रभावित भईसकेको थियो। दुई सय ४८ रनको लक्ष्य पछ्याएको यूएईले ३० ओभरमा तीन विकेट गुमाएर एक २२ रन जोडेपछि खेल वर्षाले रोक्यो र निर्णय डकवर्थ लुइस नियम आधारमा लिइयो।

६ टोली सहभागी यस एसियाली छनोटमा राउन्ड रोबिन लिग आधारमा शीर्षस्थानमा रहने टोली विश्वकपमा छनोट हुने छ। यूएई तीन खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको नेपालको तीन खेलबाट चार अंक छ।

कुवेतको पनि तीन खेलबाट चार अंक रहेको छ। मंगलबार नेपालले ओमान र यूएईले सिंगापुरको सामना गर्दै छ। नेपालले अन्तिम खेल अप्रिल १८ तारिखमा कुवेतविरुद्ध खेल्ने छ। त्यस दिन यूएई र ओमानबीच पनि प्रतिस्पर्धा हुने छ।

विश्वकपमा छनोट हुन अब नेपालले आफ्ना खेल जितेर मात्र पुग्दैन, यूएईले बाँकी दुईमध्ये कम्तिमा एक खेल हार्नुपर्छ। नेपाल आठौँपटक विश्वकप खेल्ने प्रयाशमा छ।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्