विश्व च्याम्पियन अस्ट्रेलियाको टोलीमा फर्किए विवादित स्मिथ र वार्नर

मेलबर्न- अस्ट्रेलियाले आगामी एकदिवशीय विश्वकप क्रिकेटका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। १५ सदस्यीय टोलीमा विवादित खेलाडीहरु स्टिभन स्मिथ र डेभिड वार्नरले पनि पुनरागमन गरेका छन्।

टेस्ट शृंखलाका बेला सुनियोजितरुपमा बल बिगारेको पुष्टि भएपछि स्मिथ र वार्नर दुवैलाई अस्ट्रेलियन क्रिकेट संघले प्रतिबन्ध लगाएको थियो।लयमा रहेका पिटर ह्यान्ड्सकम्ब र जोस हेजलउड भने टोलीबाट बाहिरिएका छन्।

बल विगारेको आरोपपछि स्मिथ र वार्नर दुवैलाई एक वर्षको प्रतिबन्ध लगाईएको थियो जुन गत महिनामात्र सकिएको थियो। प्रतिबन्ध लाग्नुअघि स्मिथ टोलीको कप्तान थिए।  सर्वाधिक पाँच पटकको विजेता अस्ट्रेलियाले गत संस्करणको फाइनलमा न्युजिल्यान्डलाई हराएको थियो।

विश्वकपको ११ वटा संस्करण सकिँदासम्म अस्ट्रेलियाबाहेक भारत र वेस्ट इन्डिजले दुई दुईपटक तथा पाकिस्तान र श्रीलंकाले एक एकपटक उपाधि जितेका छन्।

मे ३० तारिखदेखि वेल्स र इङ्ल्यान्डमा सुरु हुने विश्वकपको पहिलो चरणमा सहभागी १० टोलीमध्ये शीर्ष चार टोली अगाडि बढ्नेछन्।

को को छन् अस्ट्रेलियाको टोलीमा 

एरोन फिन्च (कप्तान), डेभिड वार्नर , स्टिभन स्मिथ , उसमान खवाजा , सौन मार्स ,ग्लेन म्याक्सवेल , मार्कस स्टोइनिस , एलेक्स कारे (विकेटकिपर) , प्याट कुमिन्स, मिचेल स्टार्क, झ्या रिचार्डसन , नाथन कोल्टर नाइल , जे‍सन ब‍ेहरेनडोर्फ , एडम जाम्पा र नाथन लियोन

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्