सुरक्षा संयन्त्र बलियो बनाउन रुपन्देहीमा सुरक्षा सूचना केन्द्र स्थापना

बुटवल– सुरक्षा संयन्त्रलाई चुस्त र व्यवस्थित बनाउनका लागि रुपन्देहीमा सुरक्षा सूचना केन्द्र स्थापना भएको छ।

जिल्लाभरको सूचना संकलनमा सहजता ल्याउन तथा एकद्वार प्रणालीबाट सूचना संकलन गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्ला सुरक्षा सूचना केन्द्र स्थापना गरिएको हो।

पुस महिनादेखि हरेक महिना नयाँ काम गर्ने अभियान अन्र्तगत नयाँ वर्षको अवसरमा रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले कार्यालयमा सुरक्षा सूचना केन्द्रका सुरक्षाकर्मीलाई मोवाईल हस्तान्तरण गरेर सूचना केन्द्र (कन्ट्रोल रुम) को उद्घाटन गरिन्।

गृह मन्त्रालयपछि नेपालमै पहिलो सूचना केन्द्रको स्थापना रुपन्देही प्रशासनले गरेको जनाएको छ। कार्यालयले सूचना संकलनका लागि ९८५७०२०८२० नम्बर सहितको मोबाईल व्यवस्था गरिएको निमित्त प्रजिअ नेपालले जानकारी दिइन्।

नागरिकले उक्त नम्बरमा सम्पर्क गरी कुनैपनि सुरक्षा सम्बन्धि सूचना टिपाउन सक्नेछन्। उनले सूचना केन्द्रको स्थापनापछि सुरक्षालाई व्यवस्थित र मर्यादित बनाउन तथा सुरक्षा सम्बन्धि सूचनालाई विश्लेषण गरी कार्यान्वयन गर्न सहयोग पुग्ने बताईन्। ‘सुरक्षा सम्बन्धि कानुनलाई कार्यान्वयन गर्न सूचना केन्द्रले सहयोग पु¥याउने विश्वास लिएका छौँ’, उनले भनिन्, ‘आम नागरिकले घरमा बसेर पनि सुरक्षा सम्बन्धि सूचनाहरु टिपाउन सक्नेछन्।’

उनले उच्च तहका कर्मचारीलाई सूचना टिपाउन नसक्ने सर्वसाधारण कन्ट्रोल रुममा फोन गरेर सहजै सूचना टिपाउन सक्ने बताइन्।
कन्ट्रोल रुममा सूचना संकलन र विश्लेषण गरी दुई तहबाट काम हुनेछन्। निमित्त प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार सूचना केन्द्रमा सूचना संकलनका लागि सात जना सुरक्षाकर्मीको टोली खटाईएको छ।

जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन/तीन जना र राष्ट्रिय अनुसन्धानका एक जना सुरक्षाकर्मी रहनेछन्। सूचना केन्द्र २४ सै घण्टा सञ्चालनमा रहनेछ। यी ७ जनाले सूचना संकलन गर्ने, अभिलेखिकरण गर्ने, आवश्यकता अनुसार मातहतका निकायमा सूचना सम्प्रेषण गर्ने लगायतका काम गर्नेछन्।

त्यस्तै पाँच जनाको सूचना विश्लेषण समिति पनि गठन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेपालको संयोजकत्वमा नेपाली सेनाका सहसेनानी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी निरिक्षक तथा राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत रहेको विश्लेषण समिति बनाईएको हो।

विश्लेषण समितिको बैठक महिनामा एकपटक तथा आवश्यक परे थप बैठक बस्न सक्ने प्रावधान बनाईएको निमित्ति प्रजिअ नेपालले बताइन्।उक्त समितिले सूचनाको विश्लेषण गरी सोहि अनुरुप घटनाको छानविन र कार्यान्वयन गरी जिल्लाको सुरक्षा अवस्था मजबुत राख्न भूमिका खेल्ने कार्यालयले जनाएको छ।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू