
काठमाडौं-प्रहरीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने दिल्ली-काठमाडौं चल्ने टुरिष्ट बसका चालकसहित ३ जना पक्राउ परेका छन्।
प्रहरीलाई घुस दिन खोज्ने भारतको दिल्लीबाट काठमाडौं चल्ने ना ५ ख ४८४२ नम्बरको टुरिष्ट बसका चालक श्याम विश्वकर्मा, सुर्खेतकी दिपा राना र नुवाकोट ककनीका भरत तामाङलाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
करिव ५५ लाख ८८ हजार लत्ताकपडा अवैध रुपमा नेपाल भित्र्याएका उनीहरुलाई प्रहरीले गत चैत्र ३० गते साँझ काठमाडौंको चमतीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिए।
बसमा लुकाई रहेको सो अवैध लत्ता कपडा छुटाउन प्रहरीलाई घुस दिन सर्लाहीका चालक विश्वकर्माले ल्याएको ३ लाख रुपैयाँ पनि बरामद गरिएको छ। चालक विश्वकर्मालाई सो काममा सहयोग गर्ने तामाङसँग रहेको ५० हजार नगद पनि बरामद गरिएको परिसर प्रमुख लामाले बताए।

प्रहरीले भारतबाट अवैध लत्ता कपडा नेपाल भित्रदैछ भन्ने सूचनाको आधारमा सो टुरिष्ट बसमा खनतलासी गरेको थियो। उनीहरुको साथबाट थप १ लाख नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।