टिभीमा प्रधानमन्त्री बोल्दा बालबालिकालाई टाढा राख्नुपर्ने अवस्था आयो : कांग्रेस

काठमाडौँ -प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको असहिष्णु व्यवहारले सीमा नाघेको बताएको छ ।

आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेसप्रति लक्षित गर्दै ‘नन्दी भिङगी’को संज्ञा दिएपछि कांग्रेसले पदअनुसारको बोली र व्यवहार गर्न आग्रह गरेको छ ।

सोमबार ‘खोलौं बैंक खाता अभियान’ सुरु गर्दै ओलीले सरकारविरुद्ध आन्दोलन गर्ने कांग्रेसको तयारीप्रति लक्षित गरी ‘विभिन्न आकार प्रकारका नन्दी भिरङगी भेला भएर आन्दोलन गर्छौ भनेछन्’ भन्दै कटाक्ष गरेका थिए ।

ओलीको भनाइप्रति सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उपसभापति विमलेन्द्र निधीले प्रधानमन्त्रीलाई संयमित भएर आफ्ना धारणा राख्न सुझाव दिँदै सबैले सम्मान गर्न लाएक प्रधानमन्त्री बन्न आग्रह गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले हिजो बोलेका कुरा अत्यन्त आपत्तिजक छ । एउटा देशको प्रधानमन्त्रीले ‘नन्दी भिरङगी, अरिंगाल बन’ भनेर भन्नु कत्तिको उपयुक्त हो? यो प्रधानन्त्रीले बोल्न कुरा होइन । प्रोभेकेटरले बोल्ने कुरा हो । प्रधानमन्त्रीको सम्बोधन आउँदा सिंगो देशवासीले चासो पूर्वक सुनिरहेका हुन्छन् । प्रधानन्त्रीले बोल्दा एउटा पार्टी, पार्टीको पनि गुटको नेताको जस्तो कुरा गर्ने होइन ।’

त्यस्तै प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको आउँदा बालबाललिकालाई टेलिभिजनबाट टाढा राख्नुपर्ने अवस्था आएको जिकिर गरे । ओलीले बोलेका अरिंगाल, बुद्धिजिवीलाई तह लगाउने, नन्दी भिरिङ्गी जस्ता शब्दले समाजमा नकारात्मक भावना फैलाएको शर्माको भनाइ थियो ।

‘हाम्रा प्रधानमन्त्री टिभिबाट बोल्न लाग्दा बालबालिकालाई टेलिभिजनबाट टाढा राख्नुपर्ने अवस्था आएको छ । प्रधानमन्त्रीको नकरात्मक शोच र शैलीबाट बचाउनुपर्ने स्थित छ ।’ उनले पनि प्रधानमन्त्री ओलीलाई जिम्मेवार बोली र व्यवहार गर्न आग्रह गरे ।

नेकपा कार्यकर्तालाई धन्यवाद


कार्यक्रममा उपसभापति निधिले नेकपा कार्यकर्तालाई धन्यवाद दिए । पार्टी अध्यक्षसमेत रहेका ओलीले कांग्रेसका विरुद्ध जाइलाग्न निर्देशन दिए पनि कार्यकर्ता संयमित भएको भन्दै शुखी व्यक्त गरे ।

‘म नेकपाका कार्यकर्तालाई धन्यवाद दिन चाहन्छु । ओलीजीले अरिंगाल बन भन्दा पनि उनीहरु संयमित भए । राजनीतिक व्यवाहार गरे । सरकारविरुद्ध बोल्नेलाई बुढाबुढीले ढुंगामुढा गर्छन् भनेर प्रधानमन्त्री आफैं हिंसा भड्काउन खोज्दै छन्, निधिले पत्रकार सम्मेलनमा भने ।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू