समाचार लेखेकै आधारमा पत्रकार गिरी पक्राउ

पक्राउ परेका पत्रकार गिरी (कालो चस्मामा)। तस्बिरः माधव भुसाल।

पोखरा– बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्रराज बतास विरुद्ध ठगी विषयमा समाचार लेखेको आधार बनाएर नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सिआइबी) ले पोखराबाट एक पत्रकारलाई पक्राउ गरेको छ।

पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिक र ताण्डव न्यूज डटकमका सम्पादक एवं सञ्चालक अुर्जन गिरीलाई कास्की प्रहरीको सहयोगमा सिआइबीले पक्राउ गरेको हो।

गिरीले चैत २२ गते शुक्रबार ताण्डव अनलाइनबाट ‘ठग ! बदमास विपेन्द्रराज बतास’ शीर्षकमा आफ्नो वाइलाइनमा समाचार प्रकाशित गरेका थिए।

पोखरा–६ बैदामका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीबाट ४ करोड २३ लाख रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीलाई प्राप्त उजुरीलाई आधार बनाएर समाचार प्रकाशित छ।

प्रकाशित समाचारप्रति बतासले असन्तुष्टि जनाउँदै सिआइबीमा साइबर अपराध मुद्दामा उजुरी हालेका थिए। सोमबार काठमाडौं जिल्ला अदालतले गिरीलाई पक्राउ पुर्जी जारी गरेसँगै कास्की प्रहरीको सहयोगमा सिआइबीको टोलीले उनलाई पक्राउ गरी काठमाडौं पुर्‍याएको छ।

पत्रिका तथा अनलाइन आधिकारिक दर्ता भएर सञ्चालनमा आइरहँदा समाचारको विषयलाई लिएर प्रहरीले पक्राउ गर्नु खेदजनक भएको भन्दै नेपाल पत्रकार महासंघ कास्कीले आपत्ति जनाएको छ। महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘समाचारको विषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारबाही गर्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरी कारबाही गर्ने प्रवृत्तिको महासंघ खेद प्रकट गर्दछ।’

पत्रकार गिरीको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समेत विज्ञप्ती जारी गरेको छ। ‘समाचार लेखेकै आधारमा पटक–पटक विद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम तत्काल रोक्न महासंघ जोडदार माग गर्दछ । अन्यथा, महासंघ कठोर संर्घषमा उत्रन बाध्य हुनेछ,’ महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

पत्रकार गिरी पत्रकार महासंघको साधारण सदस्य हुन्। गिरी एक दशकदेखि पोखराबाट पत्रकारिता क्षेत्रमा सक्रिय छन्। पत्रकार सम्वद्ध प्रेस संगठन, आदिवासी जनजाति पत्रकार महासंघ, प्रेस युनियन लगायत संस्थाले पत्रकार गिरीको रिहाईको माग गरेका छन्।

 

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्