बुटवलमा दुई करोडको लगानीमा प्राणी उद्यान बनाउने तयारी

बुटवल– बुटवलमा प्राणी उद्यान (जुलोजिकल पार्क) निर्माणका लागि तयारी शुरु भएको छ। प्रदेश ५ सरकारले बुटवल उपमहानगरपालिका–१४ स्थित जितेश्वरी सामुदायिक वनको जग्गामा रामापिथेकस प्राणी उद्यान बनाउन लागेको हो।

उद्यान निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको थियो। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले डिभिजन वन कार्यालय मार्फत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उद्यान निर्माण प्रक्रिया अगाडि बढाएको छ। कार्यालयले टेण्डर मार्फत उद्यानको कार्य व्यवस्थित योजना बनाउने जिम्मेवारी संरक्षण विकास फाउण्डेशन काठमाडौंलाई दिएको छ। फाउण्डेशनले सम्भाव्यता प्रतिवेदन सम्बन्धमा सोमबार बुटवलमा सरोकारवालाहरुसंग छलफल गरेको छ।

विज्ञापन

छलफलमा प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशको पर्यटन प्रवर्द्धनको आधार भएकाले प्राणी पार्कलाइ आकर्षक र व्यवस्थित बनाउन जरुरी रहेको बताए। बुद्ध जन्मस्थल लुम्बिनीमा आउने ५० प्रतिशत पर्यटकलाई प्राणी उद्यानसम्म ल्याउन सकेमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ।

उद्यान निर्माणका लागि आवश्यक पूर्वाधारहरु कस्तो बनाउने भन्ने सन्दर्भमा सरोकारवालाहरुको राय लिएर प्रस्तावित लागत तयार तयार पार्ने वन्यजन्तुविद बाबुराम यादवले बताए।

वन्यजन्तुविद यादव नेतृत्वको ७ सदस्यीय विज्ञहरुको टोलीले उद्यानको कार्य व्यवस्थित योजना तयार पार्नका लागि स्थलगत अध्ययन समेत गरेको छ। ‘प्राणी पार्क बनाउन जितेश्वरी वनको जग्गा उपयुक्त छ’, पर्यटनविद शेरसिंह ठगुन्नाले भने, ‘असारसम्म प्रतिवेदन तयार गरी डिभिजन वन कार्यालयलाई बुझाउँछौ।’

फाउण्डेशनले प्राणी उद्यानको पूर्वाधार व्यवस्थापन, प्राणी उद्यान व्यवस्थापन र पर्यटन प्रवर्द्धन कार्यक्रम सहितको प्रतिवेदन तयार गर्ने वनस्पति विज्ञ डा.भुवनकेशर शर्माले जानकारी दिए। उनले भने–‘जिवित वन्यजन्तुको संग्रहालय नै प्राणी उद्यान हो, यसलाई व्यवस्थित र आकर्षक बनाउनका लागि योजना राम्रो हुनुपर्छ।’

जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जंगबहादुर श्रीस, पत्रकार डीआर घिमिरेलगायतले उद्यानको निर्माण पश्चात लुम्बिनी आउने पर्यटकहरु बुटवलसम्म आउने वातावरण तयार हुने बताएका थिए।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्