पत्रकार पक्राउ प्रकरण

पत्रकार पक्राउबारे प्रेस काउन्सिलले भन्यो, ‘हामी अहिले छुटाउन जाँदैछौ‌ँ’

काठमाडौं- समाचार लेखेको विषयलाई लिएर पोखराका पत्रकार अर्जुन गिरीलाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेपछि पत्रकारविरुद्ध सरकारको ज्यादती भएको भन्दै अहिले विरोध भइरहेको छ। पत्रकार र मिडियासँग सम्बन्धित संघसंस्थाले गिरीको यथाशिघ्र रिहाइ माग गरेका छन्।

गिरी सम्पादक रहेको तान्डवन्युज डटकममा स्थानीय एक व्यवसायीले ठगी गरिरहेको दावी गर्दै समाचार प्रकाशित भएको थियो। ती व्यवसायीले प्रहरीमा उजुरी गरेपछि देशभरको साइबर अपराध हेर्ने जिम्मा पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको निर्देशनमा स्थानीय प्रहरीले गिरीलाई पक्राउ गरी काठमाडौँ पठाएका छन्।

गत भदौमा मुलुकी फौजदारी संहिता लागू भएपछि अनलाइनका पत्रकार समाचार लेखेकै भरमा पक्राउ पर्दै आएका छन्। देशभरका सञ्‍चार माध्यमलाई नियमन गर्ने जिम्मा पाएको प्रेस काउन्सिल नेपालले गिरीलाई छुटाउन सीआइबीसँग प्रयास भइरहेको जनाएको छ। काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले सीआईबीलाई पत्र काटिसकिएको र आफू पनि त्यहाँतर्फ जान लागिएको जानकारी दिए।

‘पत्रकारले पनि केसम्म लेख्ने भन्नेमा सचेत हुनुपर्छ। कसैलाई ठग भनेर किटानी गर्ने जिम्मा पत्रकारको हो की अदालतको ? छुराले हानेपनि गाडिले किचेपनि मान्छे मरेपछि त्यो हत्या नै हुन्छ। पत्रकार हो भन्दैमा जे पायो त्यही त लेख्न मिल्दैन नी’ , काउन्सिल अध्यक्ष श्रेष्ठ भन्छन्।

किन पक्राउ पर्दैछन् अनलाइन पत्रकार


मिडियासँग सम्बन्धित उजुरी हेर्ने काम प्रेश काउन्सिलको हो। २०४८ को प्रेश काउन्सिल एनले छापा माध्यमलाई मात्र नियमन गर्दछ। अनलाईन मिडियालाई समेट्ने गरि नयाँ एन ल्याईएको छैन।

‘हामीले सरकारको पत्रकै आधारमा मात्र अनलाइन मिडियालाई नियमन गरिरहेका छौँ। अनलाइन मिडियाबारे अहिलेको प्रेश काउन्सिल एनले केही बोलेको छैन’, श्रेष्ठ भन्छन्।

मुलुकी फौजदारी आचारसंहितले विद्य‌ुतीय माध्यम प्रयोग गरी कसैको मानहानी भए त्यो साइबर अपराध कसुर गरेको मानिने उल्लेख गरेको छ।  प्रेस काउन्सिल प्रहरीले यही व्यवस्थालाई टेकेर अनलाइनका पत्रकारलाई समाचार लेखेको विषयमा पक्राउ गरिरहेको बताउँछ।

‘विडम्बना के छ भने त्यही समाचार अनलाइनमा आयो भने साइबर अपराध हुन्छ अनि त्यही समाचार छापामा आयो भने मानहानीअन्तर्गत छानबिन हुन्छ। मिडियासँग सम्बन्धित विषयवस्तु भए हामी आफै कारबाही गर्छौँ भनेर प्रहरीलाई पटक पटक आग्रह गरेका छौँ। तर अनलाइनका पत्रकार पक्राउ परिरहेका छन्’, श्रेष्ठ भन्छन्।

नयाँ प्रेस काउन्सिल एन आएपछि पत्रकार पक्राउ रोकिने उनको दावी छ। मस्यौदा तयार भइरहेको प्रेस काउन्सिलको नयाँ ऐनले सबै मिडियालाई समेट्ने हुँदा समाचार लेखेकै कारण पत्रकार पक्राउ नपर्ने उनी बताउँछन्।

श्रेष्ठले नयाँ एनमा समाचारले कसैको मानहानी भए एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान समटिएको जानकारी दिए।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्