जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन माग गर्दै राजपाद्वारा प्रदर्शन

बुटवल-राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रुपन्देहीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै भैरहवामा प्रर्दशन गरेको छ।

राजपा नेपाल जिल्ला कार्यसमिति रुपन्देहीको आह्वानमा भैरहवामा प्रदर्शन गरिएको हो। सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित हनुमान मन्दिरबाट सुरु भएको प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक, मेनरोड हुँदै जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। केन्द्रीय कार्यसमितिको निर्णय अनुसार रुपन्देहीमा प्रदर्शन गरिएको राजपा रुपन्देहीका संयोजक अजय बर्माले बताए।

प्रदर्शनकारीले ‘लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर, रेशम चौधरीलगायत आन्दोलनकारीलाई तत्काल रिहा गर, आन्दोलनकारी माथिको मुद्धा फिर्ता गर, भ्रष्टाचारी, कालोबजारी, महँगी अन्त्य गर, राज्यआतंक र लोकतन्त्र विरोधी गतिविधि बन्द गर, सुलभ तरिकाले नागरिकता वितरण गर’ जस्ता नारा लगाएका थिए।

कोणसभामा बोल्दै राजपा नेतृ तथा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य कल्पना पाण्डेले जन्मसिद्ध नागरिकका सन्तानहरुको नागरिकता नहुँदा उनीहरु विभिन्न अवसरबाट वञ्चित भएकाले यथाशिघ्र नागरिकता वितरण सुरु गर्न माग गरिन्।

उनले सरकारले मधेशी जनतालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरेको भन्दै सरकारको आलोचना गरिन्। राजपा रुपन्देहीका संयोजक अजय बर्माले मधेशी जनतालाई नागरिकताबाट वञ्चित गराइए राजपा थप संघर्षमा उत्रिने बताए। राजपा रुपन्देही अध्यक्ष मण्डलका सदस्य महेन्द्र गुप्ता (प्रशान्त) ले मधेश विरोधी शक्तिलाई जनताले परास्त गर्ने बताए।

पार्टीका रुपन्देही प्रवक्ता मोहम्मद इस्लाम खान, सिद्धार्थनगर अध्यक्ष अरमान अली लगायतले बोल्दै वर्तमान दुई तिहाई बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए।

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नुपर्ने, संविधान संशोधनको माग पूरा गर्नुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिएको र माग पूरा नभए थप आन्दोलन चर्काउने राजपा रुपन्देहीका प्रवक्ता मोहम्मद इस्लामले बताए।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू