‘७५ सालमा प्रधानमन्त्रीले गफ मात्र गरे’

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७५ साल सरकारले जनअपेक्षाअनुसार काम नगरेको आरोप लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल सरकारले संवृद्धिको आधार खडा गरेर असाधारण काम गरेको दाबी गरिरहेका बेला प्रतिपक्षी कांग्रेसले भने गफ मात्र गरेर वर्ष बिताएको निष्कर्ष निकालेको हो ।

सोमबार सरकारले २०७५ सालमा गरेका कामबारे समीक्षा गर्दै कांग्रेसले सहज अवस्था हुँदाहुँदै पनि गफ मात्र गरेर समय बेतित गरेको आरोप लगाएको हो ।

पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्माले, ‘सफलता बोलीमा होइन, काममा देखिनुपर्छ । प्रधानमन्त्रीले एक वर्ष अवधिमा बोल्ने मात्र काम गर्नुभयो ।’ सरकारले सातवटा क्षेत्रमा गम्भीर त्रुटी गरेको शर्माले उल्लेख गरे ।

के के छन् कांग्रेसले निकालेका सरकारका ७ शून्य प्रगति ?


१. संघीयता कार्यान्वयन र शक्ति केन्द्रीकरणको विरोधाभास

संघीयताको संस्थागत जगेर्ना गर्ने कार्यमा वर्ष ०७५ मा सरकारले अपेक्षित गति प्रस्तुत गर्न सकेन । अधिकार वाँडफाँड, राज्यका तहगत संरचनाहरुको निर्माण र हस्तान्तरण, कर्मचारी समायोजन र उचित वजेट प्रवन्ध त हुन सकेन नै प्राय प्रदेशहरुको नामाकरण र राजधानीको टुंगो समेत यो वर्ष हुन सकेन ।

यो वर्ष शक्तिको अधिकतम विन्यासको संघीयताको सिद्धान्त विपरीत एकातर्फ प्रधानमन्त्री कार्यालयमा राज्यका महत्वपूर्ण अंगहरुलाई केन्द्रीकृत गरियो भने संविधानले राष्ट्रिय सुरक्षा परिषदलाई प्रत्याभूत गरेको सेना परिचालन सिफारिसको अधिकार हनन् गर्ने विधेयक ल्याएर परिषद्लाई प्रधानमन्त्रीको लाचार छायाँ बनाउने दुस्प्रयास गरियो ।

यस दृष्टिले शक्ति विकेन्द्रीकरण र संघीयताको सफल कार्यान्वयनका सन्दर्भमा वर्ष ०७५ असफल हुन पुग्यो ।

२. संवैधानिक परिषद् र न्यायपालिका

नेपालको संविधानले संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी नेताको अनुपस्थितिको परिकल्पना गरेको छैन । तर वर्ष ०७५ मा संवैधानिक परिषद्लाई कार्यपालिका झै एक पक्षीय बनाउने दुस्प्रयासलाई गति दिइयो । वर्ष ०७५ मै न्यायपालिकालाई कार्यपालिकाको लाचार छायाँ झै बनाउने प्रयत्न पनि दृष्यमा प्रस्तुत भयो ।

३. मुलुकको अन्तर्राष्ट्रिय छविमा ह्रास

सरकारको अपरिपक्व र अदूरदर्शी शैलीका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको छविमा ह्रास आएको छ । मुलुकको शान्ति, समृद्धि र समग्र प्रगतिका लागि वाह्य सम्वन्धहरु विशेष रुपले संवेदनशील हुन्छन् तर राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर सोही अनुरुपको प्रस्तुति वर्ष ०७५ मा वर्तमान सरकारबाट हुन सकेन ।

४. शान्ति सुरक्षामा प्रगति शून्य

नागरिकको प्रथम अपेक्षा सरकारसँग के हुन्छ प्रधानमन्त्रीज्यू ? प्रश्न गरे उहाँको जवाफ सायद पानी जहाज हुन सक्छ । पानी जहाज सपनाप्रति हाम्रो सिद्धान्ततः विमति छैन तर नागरिकको प्रथम अपेक्षाको शान्ति सुरक्षा के त्यही पानी जहाज चढेर आउने हो ? ०७५ सालमा मुलुकमा तीव्र ढंगले खस्किएको शान्ति सुरक्षाको स्थितिप्रति प्रधानमन्त्री किन गम्भीर देखिनु हुन्न ?

५. भ्रष्टाचारमा शून्य सहनशीलताको घोषणा ‘सुन्ने सहनशीलता’ बदलियो

कांग्रेसले सरकारको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको घोषणा सुन्ने सहनशीलतामा परिणत भएको दाबी गरेको छ । बुढीगण्डकी, वाइड बडी छानविन, निजगढ विमानस्थल निर्माण, मेलम्ची परियोजना, बालुवाटारको सरकारी जग्गा प्रकरणमा सत्तारुढ पार्टीका उच्च पदाधिकारीको संलग्नताले भ्रष्टाचारप्रति सरकारको सुन्ने सहनशीलता देखिएको शर्माले बताए ।

६. समृद्धि यात्रामा वितरित सपना र अपेक्षाको तुलनामा प्रगति न्यून

७. प्रधानमन्त्रीको अभिव्यक्तिमा संस्कार शून्य
कुनै पनि देशको प्रधानमन्त्रीको सफलता बोल्नुमा हुन्छ की काम गर्नुमा ? वर्ष ०७५ ले छलफल गर्नैपर्ने प्रश्न छाडेर गएको छ । इतिहासमा बोली होइन कर्म लेखिन्छ भन्ने तथ्य प्रधानमन्त्रीज्यूलाई पुनः सम्झाउनै पर्ने भएको छ ।

जिम्मेवार प्रधानमन्त्रीका अभिव्यक्तिहरुमा पदीय उचाई अनुरुपको गरिमा हुन के जरुरी छैन ? टेलिभिजनमा प्रधानमन्त्री बोल्न थालेपछि मनोरञ्जन प्राप्त गर्दा सम्म त ठिकै हो अन्यथा उहाँका कतिपय अभिव्यक्तिको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन टेलिभिजन बन्द गर्नु पर्ने स्थिति आउनु अत्यन्त दुःखद छ ।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू