बालबालिका भर्ना अभियान

मन्त्री पुनले अभिभावकत्व लिदैँ भनिन्,–‘ठूलो होइन, असल बन्नु’

पोखरा २१ स्थित कृस्ती, नाच्नेचौर भविष्य निर्माण माविको कक्षा १ मा आदित्य कुँवरलाई भर्ना गराउँदै मन्त्री पुन। तस्बिरः ईश्वर देवकोटा/देश सञ्चार।

पोखरा-नयाँ शैक्षिक सत्रमा बालबालिकालाई विद्यालय पढ्न पठाएर शिक्षामा जागरण ल्याउने हेतुले थालिएको भर्ना अभियानले निरन्तरता पाएको छ।

सबै नागरिकलाई निःशुल्क शिक्षाको व्यवस्था अनुसार पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना अभियान सञ्चालनमा ल्याइएको हो।

पोखरा २१ निवासी आदित्य कुँवरलाई कक्षा १ मा भर्ना गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भर्ना अभियान थालिन्।
कुँवरलाई घर छेउको श्री भविष्य निर्माण माध्यमिक विद्यालय कृस्ती नाच्नेचौरमा मन्त्री पुनले अभिभावकत्व ग्रहण गर्दै भर्ना गरेकी हुन्।
कुँवरकीआमा छैनन्। बुवा बरालिँदै हिड्ने गरेको र उचित रेखदेखको अभावमा अभिभावकत्व लिन विद्यालय व्यवस्थापन समितिले मन्त्री समक्ष समन्वय गरेको थियो।

अभिभावकत्व ग्रहण प्रचार मात्रै नभइ कुँवरको पठनपाठनको फलोअप गरिरहने मन्त्री पुनले प्रतिवद्धता जनाईन्। ‘ठूलो मान्छे होइन, असल मान्छे बनाउन म प्रेरित गर्नेछु,’ उनले भनिन्, ‘बच्चाहरुको बाल मनोविज्ञान बुझेर अभिभावकले निर्णय लिन पर्ने समय आएको छ। उनीहरुको इच्छाअनुसारको वातावरण सम्बद्ध सबैले मिलाउनु पर्दछ।’

बेसहारा नानीबाबुहरुले पनि शिक्षा, आहार–बिहार र संरक्षण पाउनुपर्ने भन्दै मन्त्री पुनले त्यस्ता बालबालिकाको जिम्मेवारी राज्यले लिनुपर्ने औँल्याइन्। समक्ष व्यक्तिले त्यस्ता बालबालिकाको अभिभावकत्व लिएर सदासहायता देखाउन समेत उनको आग्रह थियो।

विद्यार्थीको सिकाई प्रभावकारी बनाउन विद्यालयले प्रयोगात्मक शिक्षामा जोड दिएको व्यवस्थापन समिति अध्यक्ष कमलकुमार भुजेलले जानकारी दिए। ‘निजी सरह सामुदायिक विद्यालयले पनि अंग्रेजी शिक्षा घर आँगनमै दिन सक्षम छन्,’ उनले भने, ‘चर्को शुल्क तिरेर बजार झारेर बालबालिकालाई पढाउनुपर्ने बाध्यता यहाँका अभिभावकलाई छैन्।’

नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुने विद्यालयमा ४ सय १६ विद्यार्थी छन्। नयाँ शैक्षिक सत्रमा सय विद्यार्थी थप गर्ने लक्ष्य सहित भर्ना अभियान प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि लगायतको सहकार्य रहेको अध्यक्ष भुजेलले जानकारी दिए।

सात जना बालबालिकाको अभिभावकत्व ग्रहण


भविष्य निर्माण माध्यमिक विद्यालयले आरम्भ गरेको भर्ना अभियानमा मन्त्री पुन सहित सात जनाले बालबालिकाको अभिभावकत्व लिएका छन्। गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पनव सुवेदीलाई कक्षा ८ मा भर्ना गराएर अभिभावकत्व लिए। वडा २१ का अध्यक्ष खगराज आचार्यले सन्दीप सुवेदीको अभिभावकत्व लिएका छन्। उनले सुवेदीलाई कक्षा ९ मा भर्ना गराए।

सोही विद्यालयका पूर्व विद्यार्थी झपट रानाभाटले दीप्सन जिसीको अभिभावकत्व लिएका छन्। जिसीलाई उनले कक्षा १ मा भर्ना गराए। पूर्वविद्यार्थी बाबुराम दाहालले सलिना कुँवरको अभिभाकत्व लिदैँ कक्षा १ मा भर्ना गराएका छन्।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका सदस्य खड्ग हमालले सुस्मिता कुँवरको अभिभावकत्व लिए। उनले कक्षा ६ मा नयाँ विद्यार्थीको रुपमा कुँवरलाई भर्ना गराएका हुन्। व्यवस्थापन समिति सल्लाहकार दीपक सुवेदीले पनि कक्षा ५ मा दीपिका भण्डारीलाई भर्ना गराएर अभिभावकत्व लिएका छन्।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्