सर्वोच्चमा सिफारिस न्यायाधीशविरुद्ध पाँच उजुरी

काठमाडौँ – सर्वोच्च अदालतमा सिफारिस पाँच न्यायाधीशविरुद्ध पाँचवटा उजुरी परेको छ ।

सुनुवाइ समितिले चैत २१ गते संवैधानिक परिषदबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस पाँच न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो।

सवैधानिक परिषदले उच्च अदालत पाटनका मुख्यन्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा र वकिलबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मालाई सिफारिस गरेको थियो ।

संसद सचिवालय स्रोतका अनुसार ढुंगानाविरुद्ध दुई, फुँयालविरुद्ध एक र दुईवटा सैद्धान्तिक विषयमा उजुरी दर्ता भएको छ । उजुरीमा ढुंगाना र फुँयाल दुवैको न्यायाधीश हुने योग्यतामाथि नै प्रश्न उठाइएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले न्याय परिषदको भूमिकाप्रति प्रश्न उठाएका छन् ।

मंगलबार दिउँसो बस्ने सुनुवाइ समिति बैठकमा पाँच न्यायाधीशसहित निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस दिनेश थपलियाविरुद्ध परेको उजुरी खोलिनेछ । थपलियाविरुद्ध ६ वटा उजुरी परेको छ ।

समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध भने उजुरी परेको छैन ।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू