पार्टी एकताको गाँठो फुकाउन ओली, प्रचण्ड र नेपाल वालुवाटारमा

फाइल फोटो

काठमाडौं-पार्टी एकतालाई लिएर सम्बन्ध चिसिएको भनिएका बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्प कमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सोमबार साँझ छलफल गरेका छन्।

छलफलका लागि ओलीले दाहाल र नेपाललाई साँझपख आफ्नो निवास बालुवाटार  बोलाएका थिए। स्रोतका अनुसार करीब डेढ घण्टा चलेको छलफलमा ओलीले पार्टी एकताको गाँठो फुकाउन ढिलो गर्न नहुने बताएका छन्।

अध्यक्ष दाहाल त्यसमा सहमत भए पनि नेता नेपालले पार्टीले तय गरेको मापदण्ड अनुसार नै एकता प्रक्रिया अघि बढाउनु पर्ने सुझाव दिएका छन्। ‘खासगरी भागवण्डाकै कारण पार्टी एकता रोकिएको हो। तर पनि नेता नेपाल आफ्ना पक्षकालाई जिल्ला र स्थानीय तहमा बराबर जिम्मेवारी नदिएसम्म मापदण्डकै कुरामा जोड दिने मनस्थितिमा हुनुहुन्छ’, स्रोतले देशसञ्चारसँग भन्यो।

एकताका लागि गृहकार्य गर्ने भन्दै गत बिहीबार ओली, दाहाल, पार्टी महासचिव विष्णु पौडेल, सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल चन्द्रागिरी पुगेका थिए।

त्यसबाट नेपाल समूह झन सशंकित बनेका बेला नेता नेपाललाई समेत राखेर ओली र दाहालले बालुवाटारमा छलफल गरेका हुन्। पार्टी एकताका लागि स्थायी समितिद्धारा गठित कार्यदल भंग हुनुमा पौडेल र थापाकै हात रहेको सदस्यहरुले आरोप लगाइरहेका बेला उनीहरु एकै ठाउँमा भेला भएका थिए।

तत्कालिन एमाले र मोओवादीबीच माथिल्लो तहमा एकता घोषणा गरेको ११ महिना पुगिसक्दा पनि तल्लो तहमा पार्टी एकता हुन सकेको छैन।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्