सडक सञ्जाल नपुग्दा चीनको भर

राजधानीमै थन्कियो हुम्लाको एम्बुलेन्स

सुर्खेत-हुम्लाको खार्पुनाथ गाउँपालिका पुर्‍याउनुपर्ने एम्बुलेन्स प्रदेश राजधानीमै थन्किएको छ। भारतीय दुतावासले गणतन्त्र दिवसका अवसरमा प्रदान गरेको एम्बुलेन्स विगत दुई महिना यता वीरेन्द्रनगरमै अलपत्र परेको हो।

राष्ट्रिय सडक सञ्जाल नजोडिएकाले एम्बुलेन्स हुम्ला पुर्‍याउन नसकिएको हो। सुर्खेतबाट एम्बुलेन्स हुम्ला पुर्‍याउँन असम्भव भएपछि श्रीसंस्कृत साधारण उच्च माध्यामिक विद्यालयको होस्टेलमा थन्काइएको छ।

दाताले दिएको एम्बुलेन्स हवाई यातायातमार्फत लिन नसकिएपछि वीरेन्द्रनगरमा उपयोगविहीन बनेको हो । ‘ नेपाली सेनाको हेलिकप्टरमार्फत एम्बुलेन्स हुम्ला पुर्‍याउने तयारी गरिएको हो, तर अटेन्’ खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले भने,‘हेलिकप्टरका लागि आवश्यक भाडाको व्यवस्था गरेका थियौं। नअटेपछि ल्याउन सकिएको छैन्।’

नेपालगञ्ज भन्सारबाट प्रदेश राजधानी वीरेन्द्रनगर पुर्‍याइएको एम्बुलेन्स कसरी हुम्ला पुर्‍याउने भन्ने चिन्ता भएको छ। हेलीमार्फत असम्भव देखिएपछि चीनबाट एम्बुलेन्स हुम्ला पुर्‍याउने सोच गाउँपालिकाले बनाएको छ।

‘हेलिमार्फत ल्याउन नसकेपछि अर्को विकल्प भनेको केरुङ्ग नाका हुँदै चीनबाट हिल्सा पुर्‍याएर गाउँपालिकासम्म ल्याउने हो, गाउँपालिकाका अध्यक्ष रावलले भने,‘त्यसका लागि संघ सरकारसँग आवश्यक प्रक्रिया शुरु गर्नुपर्ने भएको छ।’

हुम्ला र चीनको सिमानामा पर्ने हिल्सा नाकादेखि नाराली हुँदै सदरमुकाममा एम्बुलेन्स पुर्‍याउनुपर्ने छ। तर, यतिबेला हिउँ परेकाले केरुङ्ग नाका खुलेको छैन । हिल्सादेखि नारालीसम्म पनि हिउँ परेको छ।असारसम्म हिउँले बाटो नखुल्ने भएकाले जेठसम्म प्रक्रिया अगाडी बढाइने उनले बताए।

एम्बुलेन्स मात्रै चीनबाट ल्याउन खोज्दा गाउँपालिकाले महंगो भाडा तिर्नुपर्ने हुन्छ।तर, नाम्खा गाउँपालिकाले गाडी खरिद गर्न लागेकाले एम्बुलेन्स र गाडी एकैपटक हुम्ला पुर्‍याउने योजना बनाइएको अध्यक्ष रावलले बताए।

मानसरोबर पुग्ने तीर्थयात्रुको अवस्थाबारे अध्ययन गर्न हुम्ला पुगेको दुतावासको टोलीसँग गाउँपालिकाले एम्बुलेन्स प्रस्ताव गरेको थियो । सोही प्रस्ताव अनुसार एम्बुलेन्स प्रदान गरिएको थियो । तर, विरामी बोक्न मदत पुग्ने आशाले दाताबाट पाएको एम्बुलेन्स नै सुर्खेतमा थन्किएको छ।

एम्बुलेन्स नहुँदा स्टेचरकै भरमा विरामी बोक्नुपर्ने बाध्यता जिल्लाका ग्रामिण भेगमा छ। गाउँपालिकाको केन्द्रसम्म सडक पुगेकाले जीप चल्छन्। तर, विरामीलाई जीपमा बोकेर अस्पताल लिँदा निकै महंगो भाडा तिर्नुपर्ने बाध्यता खार्पुनाथबासीको छ।

हेलिकप्टरमार्फत हुम्ला पुर्‍याएका जीपले भाडा निकै महंगो लिने गरेका छन्। मुगुसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएको छ। दैनिक उपभोग्य सामग्री मुगुसम्म गाडीमै जान्छ। तर, मुगुदेखि हुम्लासम्म भने खच्चडकै भरमा सामग्री ओसार्नुपर्छ। गाडीका लागि आवश्यक फ्यूल पनि खच्चडलाइ नै बोकाएर लिइने भएकाले जीपको भाडा महंगो भएको हो।

हुनेलाई मस्ती, गरीबलाई सास्ती


कर्णाली प्रदेशका हिमाली जिल्लाका लागि सरकारले हवाई भाडामा सहुलियत दिएको छ। सडक सञ्जालले नछोएको डोल्पा, हुम्ला र मुगु जिल्लाका लागि हवाई यातायातमा सहुलियत दिइएको हो। तर, एयरलाइन्सहरुले सहुलियतको भाडामा भने यात्रु ओर्सादैनन्।

सात हजार रुपैयाँमा हुम्ला यात्रु बोक्न नमान्दा नेपालगञ्ज विमानस्थलमा यात्रुहरु अलपत्र पर्नुपर्छ। तर, यएरलाइन्सले तोकेअनुसारको भाडा तिर्नसक्नेले भने हवाई सुविधा उपयोग गर्न पाउछन्।‘हुम्ला सडक सञ्जालमा जोडिएको छैन्, हिडेर सुर्खेत, नेपालगञ्ज पुग्न हप्ता दिन नै लाग्छ’ अध्यक्ष रावलले भने,‘यस क्षेत्रका लागि हवाई यातायात विपन्नको पहुँचमा छैन् । महंगो मुल्य तिरेर हुनेखानेले मात्रै हवाई सुविधा उपयोग गर्ने गरेका छन्।’

उनले एयरलाइन्सले सहुलियतको भाडामा यात्रु बोक्न नमान्ने गरेको दुखेसो पोखे। राज्यले सात हजार रुपैयाँमा नेपालगञ्ज–हुम्लाका लागि भाडादर कायम गरेको छ। तर, सर्वसाधारणले भने सोही भाडामा टिक पाउन सक्ने अवस्था छैन्।

विपन्‍न र दुर्गम जिल्लाका नागरिकका लागि राज्यले दिने सुविधा नै गरिवमुखी हुन नसकेको उनले बताए।‘हुम्लाका लागि हवाई सेवा त नेता, सरकारी कर्मचारी र एनजीओका लागि मात्रै भएको छ’ उनले भने,‘दुखी, विपन्न र गरिवका लागि निकै सास्ती खेप्नु परेको छ।

हुम्ला जिल्लाका लागि सडक सञ्जाल पुर्‍याउन राज्यले पहल गर्नुपर्ने उनी बताउँछन्।हालसम्म पनि हुम्लामा राष्ट्रिय सडहक सञ्जालले छुन सकेको छैन् । जसले गर्दा खाद्यान्‍नदेखि लत्ताकपडासम्म हुम्लाबासी हवाई यातायातकै भरपर्नु पर्ने बाध्यता छ।कम भाडामा हवाई सेवा उपभोग गर्न नपाउँदा कर्णालीका हिमाली जिल्लाका नागरिकहरु निकै मर्कामा परेका छन्।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू