हक्की: रमनको ह्याट्रिकमा पुलिसको सहज जित

नेपालगञ्‍ज-रमनको ह्याट्रिक मद्दतमा नेपाल पुलिस अपराजित रहँदै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार मंगल माविमा भएको अन्तिम लिग खेलमा रमन रानाको चार गोलको मद्दतले पुलिसले प्रदेश २ माथि ६-० को फराकिलो जित निकालेको छ।

खेलको २१औं मिनेटमा टिमलाई अग्रता दिलाएका रमनले ३६औं र ४५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

ह्याट्रिक गरेलगत्तै ४७औं मिनेटमा चौथो गोल गरेपछि उनले टिमलाई मजबूत अवस्थामा पुर्‍याएका हुन्।

यसैगरी टिमका लागि खेलको ३८औं मिनेटमा योगेश कुमार बालझारे र ५३औं मिनेटमा केशवराज जोशीले समान एक–एक गोल थपेका थिए।

समूह ए मा चार अंक रहेको प्रदेश २ का लागि उपबिजेताको रुपमा सेमिफाइनल प्रवेश गर्न पुलिसलाई कम्तिमा पनि ५ गोल अन्तरले हराउनु पर्ने समिकरण बनेको थियो।

सेमिफाइनल प्रवेशका लागि उक्त खेलको नतिजामा भर परेको आर्मी भने प्रदेश २ को हारसंगै उपविजेताको रुपमा सेमिफाइनल पुगेको छ । समूह ए को विजेता पुलिसले समूह बी को उपविजेता सुदूरपश्चिम प्रदेशसंग तथा समूह बी को विजेता प्रदेश ५ ले आर्मीसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

साइक्लिङ: ओकश र लक्ष्मी पहिलो


आठौंअन्तर्गत राष्ट्रिय साइक्लिङको पुरुषमा आर्मीका ओकेशराज वज्राचार्य तथा महिलामा प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण जितेका छन् ।बाँकेको गाभरमा भएको प्रतियोगितामा ४.६ किलोमिटरको ५ ल्याप ओकेशले १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे।

आर्मीका हिमाल टमाटा (१ घण्टा २६ मिनेट ०६ सेकेन्ड) दोश्रो तथा गण्डकीका हिक्मत विक (१ घण्टा २६ मिनेट ४४ सेकेन्ड) तेश्रो भए।४.६ किलोमिटरको ४ ल्याप लक्ष्मीले १ घण्टा २० मिनेट ५२ सेकेन्डमा पार गरिन्।

गण्डकीकी उषा खनाल (१ घण्टा ३३ मिनेट ३८ सेकेन्ड) दोश्रो तथा प्रदेश ३ की निर्जला ताम्राकार (१ घण्टा ३५ मिनेट ५६ सेकेन्ड) तेश्रो स्थानमा रहे । एकदिने क्रस कन्ट्री साइक्लिङमा ६ प्रदेशबाट ३० पुरुष र १२ महिला खेलाडी सहभागी थिए।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्