८५० वर्ष पुरानो ऐतिहासिक चर्चमा आगलागी

‘फ्रान्सेली जीवनको इपिसेन्टरमा आगलागी’

फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्ष भन्दा पुरानो र विश्वभर चर्चित रहेको चर्चमा आगलागी भएको छ । विश्व चर्चित चर्च नोट्र डाम क्याथेड्रलमा आलागी भएको हो ।

चर्चको पूरै भवनमा आगो फैलिएको छ । अग्निनियन्त्रकहरु आगो नियन्त्रणमा लिने प्रयासमा लगातार जुटिरहेका छन् । आगलागीको कारण खुलेको छैन, तर चर्चमा जीर्णोद्धारको काम भइरहेको थियो र यहि क्रममा आगालगी भएको हुन सक्ने अनुमान छ ।

आगोका कारण यो गिर्जाघरको जुरो र छत खसेको छ । गएको वर्ष चर्चित क्याथोलिक चर्चको रक्षाका लागि सर्वसाधारणसँग आर्थिक सहयोगका लागि अपिल गरिएको थियो । निकै पुरानो भएका कारण चर्चको भवन जीर्ण बनेको थियो ।

यसैबिच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले घटनास्थलको भ्रमण गरेका छन् । नेपाली समय अनुसार सोमबार राति आगलागी भएको हो । आगलागी भएको क्षेत्रको अवलोकनपछि राष्ट्रपति म्याक्रोनले नोट्र डाम क्याथेड्रलको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । सबै फ्रान्सेली मिलेर चर्चलाई पुरानै अवस्थामा फर्काउने उनले बताएका छन् ।

उनले भनेका छन्, ‘नोट्र–डाम हाम्रो इतिहास हो, हाम्रो साहित्य हो, र हाम्रो मनोभावनाको भाग हो, हाम्रो सबै प्रमुख कार्यक्रममा जम्मा हुने थलो पनि हो । महामारी, युद्ध, स्वतन्त्रतासहित हाम्रो जीवनको केन्द्र विन्दु हो ।’

म्याक्रोनले अघि भनेका छन्, ‘नोट्र डाम जलिरहेको छ, र मलाई यसले दिएको निराशा थाहा छ । यसले सम्पूर्ण फ्रान्सेलीलाई निराश बनाएको छ। तर म आजको रात यो चर्च फेरि पहिलेको जस्तै बन्ने आश पनि सञ्चार गर्न चाहन्छु ।’

समाचार संस्था रोयटर्सका अनुसार राष्ट्रपति म्याक्रोनले सबै मिलेर आफूहरुको इतिहार र जीवनको केन्द्रविन्दु नोट्र डाम पुनः बनाएरै छाड्ने बताएका छन् ।

चर्चको अघिल्लो भागको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । यसको पुनर्निर्माणका लागि आर्थिक सहयोग संकलनको अभियान सुरु गर्ने तयारी पनि भएको छ ।

बैशाख ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्