जहाजले छाेडेर गएपछि रोकिएका सञ्चारमन्त्रीले भने, ‘कुन कुन कारबाही चलाउनुहुन्छ ?’

बुटवल-प्युठानको गौमुखी गाउँपालिकामा मिडिया सम्मेलन उद्घाटन गरेर सञ्चारमन्त्री गोकुल बास्कोटा सोमबार बेलुका काठमाडौँ फर्किन भैरहवास्थित विमानस्थल पुगे । तर, उनी काठमाडौँ फर्किन पाएनन् । बुद्ध एयरकाे विमानले छाेडेर गएपछि उनी रुपन्देहीमै बसे।

मंगलबार बिहान प्रेस चौतारीले मणिग्राममा गरेको पत्रकार सम्मेलनमा सुनाए काठमाडौँ फर्किन नपाउनुको कारण। ‘यो बुद्ध एयर भन्नेले गर्नु गर्‍यो, पूर्व जानकारी नै नदिई उड्नेबेलामा जहाज उड्दैन भन्यो’, उनले ठट्यौली शैलीमा भने, ‘नयाँ वर्षमा लुम्बिनी जस्तो पर्यटकीय स्थलमा यस्तो हालत छ, उडाउँछु भनेर यात्रुलाई अलपत्र पार्ने !’

बिना उदेश्य रोकिएका मन्त्री ‘पत्रकारलाई समाचार उत्पादन गरिदिने’ मुडमा थिए। ‘रविन सायमीले र, अन्त्यमा भनेर लेख्ने कार्टुनकै जस्तो गरी मैले सुरुमै यो कुरा तपाइँहरुलाई भनिदिएँ’, उनले आफ्नो पत्रकारिताको पृष्ठभूमिप्रति साइनो जोड्दै भने ।

अब अरु केही कुरा भन्छु, भनेर उनले सुरु गरे सरकारका योजना र प्रगतिका कुरा। ‘देशले निर्माणको बाटो पक्डेको छ, त्यसलाई सफल बनाउनु हाम्रो काम हो’, उनले भने, ‘देशले राजनीतिक स्थिरता मागेको थियो, तर मृत स्थिरता मागेको थिएन, अब विकासको बाटो हो, हामी त्यो बाटोमा अघि बढिसकेका छौँ ।’

उनले केन्द्रिकृत मानसिकतामा चलेको ब्युरोक्रेसी संघीयतामा अभ्यस्त हुँदै गएको र पूरानो निरन्तरतावादी सोंच हट्दै गएको बताए ।
‘अहिले नयाँ उचाईँबाट नयाँ विषयहरु उठान भएका छन्, समृद्धि मुलुकको अबको बाटो भन्नेमा बहस स्थापित भयो, उनले भने–अब त्यसैमा काम गर्ने हो, यो मुद्दाले नेपालमा मात्रै हैन, अन्तर्राष्ट्रिय समुदायबीच पनि स्थापित भएको छ ।’

मन्त्री बास्कोटाले आलोचनाका बीचमा सरकारले समृद्धिको एजेण्डामा जित हासिल गरेको भन्दै लगानी सम्मेलन सफल भएको, केरुङ–काठमाडौँ–लुम्बिनी रेल सञ्चालनमा सहमति जुटेको, विकास र समृद्धिका विषयमा प्रतिपक्षीले पनि साथ दिएको कुरा सुनाए ।
विकास र समृद्धिका कुरा सुनाएपछि उनी फर्किए मिडियाकै विषयमा ।

‘प्रेसमा रेडिमेड शंका छ, हामीले कस्तो मनोविज्ञान निर्माण गर्न खोजेको ?’ उनले मिडियालाई रेडिमेड शंका त्यागेर विषयवस्तुमा केन्द्रित आलोचना गर्न आग्रह गर्दै भने, ‘नेपालको प्रेस साँच्चिकै व्यवसायिक, साँच्चिकै सबल, समुन्नत र आधुनिक भएको हेर्न चाहन्छौं, यसमा कुनै फरक मत छैन, मिडियाले पनि आफ्नो धर्म नबिर्सोस् ।’

उनले मिडिया प्रतिपक्षीजस्तो सडकमै नाराबाजीको शैलीमा ओर्लेर विरोध गरेको नसुहाउने बताए । ‘चौथो अंग भनेपछि त्यसअनुसारको व्यवहार हुनुपर्‍यो, प्रतिपक्षी त होइन मिडिया, विकासको बहसलालाई तीब्रता दिनुस्, हाम्रा कमजोरीहरु छन् भने तथ्यमा आधारित आलोचना गर्नुस्, उठ्न नसक्नेगरी ठट्याउनुस्–उनले भने–हामी त्यसमा सच्याउन तयार छौँ ।’

उनले सरकारले गरेका कामको सकारात्मक ढंगले समाचार नआएको भन्दै दुखेसो पोख्ने शैलीमा भने, ‘सडक बन्दै गरेको नदेख्ने, धुलो उडाएको, सडकमा हिँड्नै नभएको मात्रै देख्ने ?, सरकारले खतमै पा¥यो भनेर बेपत्तै प्रचार गर्ने ?, जन्मिरहेको बालक नदेख्ने, आमाको प्रसव पीडा, रोदन, रगताम्य भएको अवस्था, चित्कार मात्रै देख्ने ?, चुनौती र संभावना पनि सँगसँगै छ भन्ने कुरा हामीले देखाइदिनुपर्छ ।’

उनले सामाजिक सञ्जालमाथिको नियन्त्रणका बारेमा केही प्रष्ट्याई दिए । ‘बन्द गरेको र स्वतन्त्रता हनन भएको देख्नुअघि आफ्ना छोराछोरी बिग्रिएको देख्ने कि नदेख्ने, पब्जी खेलेर बिग्रिरहने, आज नियन्त्रण नगर्ने हो भने भोलि तपाइँहरुकै छोराछोरी बर्बाद हुन्छन्, अनि त्यतिबेला सरकारलाई गाली गरेर हुन्छ ?’–उनले भने–केही कुरालाई राम्रो बनाउन केही कुरामा कडा पनि हुनुपर्छ ।’

उनले बालुवाटार जग्गाबारे आफ्ना धारणा बङग्याइएको भन्दै असन्तुष्टि जनाए ।

‘मैले सरकारले विष्णु पौडेलजीलाई क्षतिपूर्ति दिने भनेको छैन, आधा चै नगर्दिनुहोला, आधा बनाइदियो भने मैले दुःख पाउँछु, सक्कियो नि त, ६ इन्च छोटो गर्ने, आधा छोटो गर्ने, घुँडामुनिबाट साईजमा ल्याउने, सब कार्बाही त सिद्धिइसके नि, कुन कुन कार्बाही चलाउनुहुन्छ ?’

उनले भने, ‘मैले भनेको के हो भने उहाँले जग्गा थर्डहेण्डबाट किन्नुभएको रहेछ, त्यो कुरा उहाँकै वक्तव्यबाट स्पष्ट भइहाल्यो, त्यसहिसाबले हेर्ने हो भने उहाँ ठगीमा पर्नुभएछ, नक्कली जग्गा किन्नुभएछ, उहाँलाई सरकारले क्षतिपूर्ति दिने होइन, उहाँले पहिले को सित कतिमा कहिले किन्नुभयो, त्यो हिसाबकिताब होला, त्यसले क्षतिपूर्ति दिनुप¥यो नि भनेकै हो, मैले भनेको यही हो ।’

बैशाख ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्