आठौं राष्ट्रिय खेलकुदमा हिन्दी भाषा

हक्कीमा भारतमा बस्‍ने नेपालीको बर्चस्व

१३ र १४ वर्षका हक्की खेलाडिहरु रविकान्त, सानु र अमनकुमार

नेपालगञ्ज-खेल मैदानभित्र प्रायः खेलाडीले हिन्दी बोल्छन्। बल (पास) माग्दा हिन्दी भाष कै प्रयोग गर्छन्। खेल खेलाउने रेफ्रीहरु पनि भारतबाट ल्याइएको छ। उनीहरुले नेपाली बोल्ने कुरै भएन । रेफ्री हिन्दी बोल्ने, खेलाडी पनि हिन्दी भाषा बोल्छन्।

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगञ्जको मंगलप्रसाद माविमा चलिरहेको पुरुष हक्कीमा भारतमा बस्ने खेलाडीको बर्चस्व हुँदा हिन्दी भाषामा कुरा गरेको सुन्न पाइएको हो । मंगलबार नेपाल प्रहरी र सुदूरपश्चिम प्रदेशको खेल थियो । बडो प्रतिस्पर्धा भएको खेलमा दुवै टीममा भारतमा बस्ने नेपालीको बाहुल्यता थियो । एउटा टीममा ११ जना खेलाडी हुन्छन् । दुवैतिर आधाबढी खेलाडी भारतमा बस्ने नेपाली थिए।

प्रहरीमा किसनबहादुर मगर, सागर आचार्य, रोमन राणा, योगेशकुमार बरघरे, श्रवणकुमार, हरिदत्त पाण्डे भारतमा बस्ने नेपाली हुन् । उनीहरु भर्खरै प्रहरीमा जोडिएमा छन् । सुदूरपश्चिममा रोहित लामा, नविन क्षेत्री, सुमितकुमार कामी, राम परियार, नरेशकुमार मगर भारतमा बस्ने नेपाली हुन् । नेपालका विभिन्न जिल्लाका यी खेलाडिहरु भारतमा बसेर हक्की खेल्छन् । उनीहरुको परिवार भारतमा बस्छन् ।

हक्की भारतको राष्ट्रिय खेल हो । त्यहाँ हक्कीको राम्रै क्रेज रहेको छ । विभिन्न कामको सिलसिलामा भारतमा पुगेका नेपालीका छोराछोरीले पनि त्यहाँ हक्की खेल्ने गरेका छन् । नेपालमा आठौं चल्दा उनीहरुले यहाँ आएर आफ्नो प्रतिभा देखाउने मौका पाएका छन् । मंगलबार किसन प्रहरीबाट उत्रिदा नरेश सुदूरपश्चिमबाट खेलेका थिए । यी दाजुभाइ हुन्।

आठौं राष्ट्रिय प्रतियोगिता हुने पक्का भएपछि प्रहरीदेखि सबैजसो प्रदेशले खेलाडी खोज्न थाले । त्यसबेलामा भारतमा बस्ने नेपालीको खोजी तिब्र भयो । उता खेलिरहेका खेलाडीले आफ्नो देशमा आएर राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाए ।

५ नम्बर प्रदेशबाट १४-१४ वर्षका सानु लामा र अमनकुमारले राम्रो खेल देखाएका छन् । नेपालबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरिसकेका खेलाडीलाई यी दुई किशोर खेलाडीले रिंगाइरहेका छन् ।

यी दुईसँगै ५ नम्बर प्रदेशबाट खेल्ने १३ वर्षका रविकान्तकुमार पनि भारतमा बस्ने नेपाली हुन् । सानु र अमनकुमारले प्रतियोगितामा २-२ गोल गरिसकेका छन् । रविकान्तले एक गोल गरेका छन् । यी किशोरहरुले ५ नम्बर प्रदेशको स्ट्राइकलाइन सम्हालेका छन्।

सानुका दाइ रोहित लामाले सुदूरपश्चिम प्रदेशबाट खेले । उनको मंगलबारको खेल हेर्न लायक थियो । सानु, अमन र रविकान्त पटनामा बस्छन्। सानुका बुवा त्यहाँ सुरक्षागार्ड छन्।

११ वर्षदेखि नै सानुले हक्की खेल्न शुरु गरेका थिए । ‘मैले पटनाबाट यु–१२, यु–१४ प्रतियोगिता खेलिसकेको छु, सानुले भने, हामी नियमित हक्की खेल्छौं ।’ अमनकुमारको अभिभावकको पटनामा किराना पसल रहेको छ । उनी पनि उमेर समूहको हक्की खेल्छन्।

नेपालमा नवलपुरमा घर रहेको बताउने सानु र अमनकुमारले सानै उमेरमा नेपालको राष्ट्रिय प्रतियोगिता खेल्न पाउदा खुशी लागेको बताए । ‘हामी त पटनामा बस्छौं । नेपाली गुरुहरुले बोलाएर ल्याउनु भयो, सानु र अमनकुमारले भने, यहाँको मैदान पनि राम्रो रहेछ । खेल्दा रमाइलो भइरहेको छ ।’

बैशाख ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्