जेठ ३ देखि अन्तर्राष्ट्रिय जेम एण्ड ज्वैलरी एक्स्पो हुने

काठमाडौं-आगामी जेठ ३ देखि ५ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वैलरी एक्स्पो हुने भएको छ। लैनचोरस्थित खानी तथा भूगर्भ विभागको प्राङगणमा हुनेछ।

खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी हो।

नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका साथ यस वर्ष पनि सो एक्स्पोको आयोजना गर्न लागेको महासंघका अध्यक्ष रमेश महर्जनले बताए।

मेलामा भारत, चीन लगायतका एशियाली र युरोपियन मुलुकहरुका गरी ७० वटा स्टल रहने अध्यक्ष महर्जनले जानकारी दिए। ‘मेलामा एउटा स्टलको मुल्य ८० हजार र टिकटको दुई सय तोकेका थियौँ’, उनले भने, ‘तर सो रकम बढी भएकाले फेरी टिकट दर घटाएर विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरेका छौैँ।’

मेलामा अधिकतम सहभागिता जुटाउन विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघ लगायतका निकायसँग पनि सहकार्य भईरहेको महासंघले जनाएको छ।

नेपाली गरगहनाको मौलिकता विश्वकै उदाहरणीय रहेको भन्दै यसको सम्भावनाको खोजी र प्रवर्द्धनका लागि पनि मेला उपयोगी हुने विश्वासका साथै नेपालका खनिजलाई प्रशोधन गरेर गुणस्तरीय बनाएर निर्यात गर्ने मुख्य उद्देश्य रहेको पनि महासंघका अध्यक्ष महर्जनले बताए।

महासंघका अध्यक्ष महर्जनले एक्स्पोले नेपाल सरकारले सुरु गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई समेत सहयोग गर्ने बताए।

बैशाख ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्