रोनाल्डोको गोलका बाबजुद बाहिरियो युभेन्टस

रोनाल्डोको सपना चकनाचुर

लगातार चौथो सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने क्रिष्टियानो रोनाल्डोको सपना चकनाचुर भएको छ । तेस्रो क्लबबाट छैटौँ तथा लगातार चौथो सिजन युरोपियन च्याम्पियन बन्ने सपनामा रहेका रोनाल्डोको यात्रामा डच क्लब अजाक्स बाधक बनेको हो ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इटालियन क्लब युभेन्टस अजाक्ससँग २-१ ले पराजित भयो र समग्रमा ३-२ को हारसहित प्रतियोगिताबाट बाहिरियो ।

गएको सिजन स्पेनिस क्लबबाट लगातार तेस्रो तथा रियलबाट समग्रमा चौथो पटक उपाधि जितेपछि रोनाल्डो यो सिजन युभेन्टसमा अनुबन्धित भएका थिए । युभेन्टस रोनाल्डोको बलमा युरोपियन च्याम्पियन बन्ने चाहनामा थियो । र रोनाल्डोले त्यसमा आश पनि भरेका थिए, किनकी रोनाल्डोकै ह्याट्रिकका कारण उसले अन्तिम १६ बाट अन्तिम ८ मा स्थान बनायो ।

यस्तै अवे मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा रोनाल्डोको गोलले बराबरी गरेको थियो । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पनि रोनाल्डोको गोलबाट युभेन्टसले सुरुवाति अग्रता लियो ।

२८ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता लिए । तर ३४ औँ मिनेटमा अजाक्सका डुनी भान डी बीकले गोल गरेपछि खेलमा बराबरी भयो । यस्तै कप्तान माथिज्सडी लिग्टले ६७ औँ मिनेटमा गोल गरेपछि युभेन्टस पछि भयो ।

युभेन्टसलाई बाँकी रहेको २३ मिनेटमा एक गोल थप्नु पर्ने थियो अवे गोलका आधारमा सेमिफाइनलमा स्थान बनाउनका लागि पनि तर उसले गोल गर्न सकेन र अन्तिम ८ बाटै बाहिरिन बाध्य भयो ।

रोनाल्डो युभेन्टसबाट आफ्नो पहिलो सिजनमा च्याम्पियन्स लिगको उपाधि बिहीन बने । युभेन्टसको सपना पनि पूरा भएन कम्तिमा यो सिजनका लागि ।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट एक पटक तथा रियल मड्रिडबाट चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । रोनाल्डो सन् २०१० यता पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा खेल्न नपाउने भएका छन् ।