बालुवाटारस्थित सरकारी जग्गा बिक्री प्रकरण

पार्टी भित्रैबाट महासचिव पौडेललाई निलम्बन गर्न माग, दोषी भए कारबाहीः खनाल/रावल

फाइल तस्बिर।

काठमाडौँको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको बहुचर्चित प्रकरणमा मुछिएका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई निलम्बन गर्नुपर्ने माग उक्त दलकै नेताले गरेका छन्।

नेता भीम रावलले प्रारम्भिक रूपमा महासचिवबाट गल्ती भएको उनले बुझेको सङ्केत दिएको बिबिसीले उल्लेख गरेको छ । तर उनले त्यसबारे थप तथ्यहरू सङ्कलन गरिरहेको जानकारी दिएका छन्।

महासचिव पौडेलले सरकारी जग्गा आफ्नो परिवारको सदस्यले किनेको स्वीकार गरेका छन्। तर उनले त्यो जग्गा व्यक्तिबाट किनेको बताएका छन्। सांसद समेत रहेका केन्द्रीय सदस्यले मेटमणि चौधरीले छानबिन सहज बनाउन पौडेल स्वयम्‌ले पदत्याग गर्नुपर्ने अन्यथा पार्टीले निलम्बन गरेर छानबिन गर्नुपर्ने बताएको पनि बिबिसीले उल्लेख गरेको छ ।

‘उहाँ आफैले राजीनामा दिए छानबिन गर्न पार्टीलाई सजिलो हुन्छ। र नेपाली नेताले उच्च संस्कार र नैतिकता देखाउन सक्छन् भन्ने सन्देश पनि प्रवाह हुन्’ सांसद चौधरीको भनाई छ । त्यसो गर्न पौडेल तयार नभए उनलाई निलम्बन गर्नु पर्ने उनको धारणा छ।

‘निलम्बन गर्न सकिएन भने पार्टीको मातहतमा नेता रहने कि नेताको मातहतमा पार्टीलाई राख्ने? भन्ने प्रश्न उठ्छ। स्वाभाविक रूपमा लेनिनवादी पार्टी भएकाले नेतालाई पार्टी मातहतमा राख्नै पर्छ’, चौधरीको भनाई थियो ।

दोषी देखिए महासचिवलाई कारवाही गर्नुपर्ने अन्यथा पार्टी जोगाउन नसकिने र जनताको विश्वास पनि जगेर्ना गर्न नसकिने चौधरीले बताए । अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीले पनि सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषीमाथि माथि कारवाही हुनुपर्ने उल्लेख गरे।

उनले भने, ‘नयाँ वर्षको दिन प्रधानमन्त्रीले सरकारी जग्गा कसैले आँखा लगाउन पाउँदैन, सबै फिर्ता हुन्छ, संलग्न कसैले छुट पाउँदैन भनेर जे बोल्नु भएको छ। त्यसमा हाम्रो साथ–समर्थन र सहयोग हुन्छ।’

सांसद चौधरीले पनि पार्टीले नै छानबिन समिति बनाउनु पर्ने बताए।

गल्ती भए कारवाही

एउटा सरकारी छानबिन समितिले प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवास रहेको सरकारी जग्गा समेत व्यक्तिको नाममा नामसारी भएको प्रतिवेदन दिएको छ।जसमा सरकारी जग्गा विभिन्न व्यक्तिहरूले एकपछि अर्को गर्दै बेचेको प्रतिवेदनलाई उद्धृत गर्दै नागरिक दैनिक लगायतका विभिन्न सञ्चारमाध्यमले लगातार समाचार प्रकाशित गर्दै आएका छन्।

बिबिसीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवम् नेता झलनाथ खनाल र अर्का नेता भीम रावलले दोषी भए महासचिवमाथि पनि कारवाही हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

छानबिन टुङ्गो नलाग्दासम्म पौडेललाई जिम्मेवारी मुक्त गर्नुपर्ने खाँचो देख्नुहुन्छ? भन्ने प्रश्नमा खनालले भने, ‘त्यसबारे व्यक्तिगत सोच बेग्लै कुरा होला, यो सामूहिक रूपले बनाउने सोच हो। पार्टी कमिटीमा पहिला विषय आओस्। कुनै पनि प्रकारका गल्ती कमजोरी भएका छन् भने कसैलाई पनि न राज्यले न पार्टीले कसैले पनि छोड्नु हुँदैन।’

नेता भीम रावलले महासचिव मुछिएको विषयमा तथ्यहरू सङ्कलन गर्दै अध्ययन गरिरहेको जानकारी दिए। तर उनले ‘सरकारी जग्गा व्यक्तिले आफ्नो नाममा लिएको भए त्यो फिर्ता लिने मात्र नभइ अनियमित रूपमा आफ्नो नाममा जग्गा लिनेलाई कारवाही गर्नु पर्नेु आफ्नो धारणा रहेको बताए।

महासचिव पौडेलले आफूले किनेको स्वीकार गरेकाले त्यसो भए उनले गल्ती गरेको तपाईँको प्रारम्भिक बुझाइ हो? रावलले जवाफ दिए, ‘सरकारी जग्गा गलत किसिमले गएको कुरा त मैले भनिरहनु नै पर्दैन सबैले भनेका छन्।’

तर पौडेललाई अहिले जिम्मेवारीबाट अलग गरिनु पर्ने विषयमा भने उनले त्यो कुरा व्यक्तिले जिम्मेवारी बोध गर्ने कुरा भएको बताए। त्यसबारे पार्टी बैठकमा छलफल भएर तथ्यहरूका आधारमा निर्णय लिने उनको विश्वास छ।

पौडेलले भने समाचार प्रकाशमा आएपछि विज्ञप्ति जारी गर्दै व्यक्तिबाट प्रक्रिया पूरा गरेर आफ्नो परिवारको सदस्यको नाममा जग्गा किनेको जनाएका छन्।

बिबिसी नेपाली सेवाको सहयोगमा

बैशाख ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्